महिनावारी बार्नु पनि महिला हिंसा

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन २२, २०७६     ::: 73 पटक पढिएको   |  

विश्व स्वास्थ्य संगठनका अनुसार, युरोपमा ४०–५० प्रतिशत महिला यौन दुर्व्यवहारमा पर्छन् । हरेक तीन महिलामा एक जनाले शारीरिक, यौनिक वा हिंसा अनुभूति गर्ने गरेको संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले उल्लेख गरेको छ । युनिसेफले हरेक दस मिनेटमा एक किशोरीेको हिंसाका कारण मृत्यु हुने गरेको जनाएको छ । यी तथ्यांक समुद्रमा तैरिरहेको बरफको टुप्पो मात्र हुन् । 

राधा पौडेल

संसारमा महिनावारीसँग जोडिएको सोच, धारणा र व्यवहार समाजपिच्छे फरक–फरक छ । सन् २०१४ अघि विश्व मानव अधिकार र विकासको इतिहासमा महिनावारीले खासै महत्त्व पाएको थिएन । महिनावारी अज्ञानताको मौनताभित्र बन्धक भयो । समाजपिच्छे महिनावारीका कारण बालक र बालिकाबीच भिन्नता कतै पातलो, कतै बाक्लो हुन्छ । बालिकाले महिनावारी हुनुपूर्व नै घरमा आमालाई छुवाछूत गरेको व्यवहारबाट महिनावारीको अवस्था थाहा पाउँछन् । यसले बालिकामा यो अवस्था पाप वा अशुद्ध हो भन्ने धारणा बनाउँछ । बालिकामा आमाको अनुसरण गर्दै बार्नुपर्ने कुराहरू बार्दै जाने र सहने बानीको विकास हुन्छ । यस्तै सहने बानीका कारण बलात्कार वा अन्य कुनै हिंसाबाट पीडित बन्दा पनि महिलाहरू प्रायः मौन रहन्छन् ।
सोही उमेरका बालकहरूमा भने आफू शुद्ध वा शक्तिशाली छु भन्ने अहं पैदा हुँदै जान्छ । कालान्तरमा यही शक्तिको दुरुपयोग गर्दै बलात्कारीसम्म बन्न सक्छन् । जन्मँदा बालक–बालिका दुवै मानव थिए, तर महिनावारीसंँग जोडिएको सोच, धारणा र व्यवहारका कारण पीडित र पीडक बनाइए । महिलामाथि पुरुष हिंसा जैविक दोषभन्दा पनि सामाजिकीकरणको दोष हो । सजिलो भाषामा शक्ति निर्माण र दुरुपयोग घर, स्कुल, कार्यक्षेत्रबाट हुन्छ । अनुसन्धान अनुसार संसारभर महिनावारीलाई लाज, निषेध र भ्रमको मानिन्छ र महिलाहरू घर, स्कुल, कार्यक्षेत्र सबैतिर हिंसामा परेका छन् ।
महिनावारीको समयमा कुनोमा वा छाउगोठमा बस्ने, खानेकुराबाट पनि वञ्चित रहने हुँदा मानसिक रूपमा हीनताबोध उत्पन्न हुन्छ । पौष्टिक खानेकुरा (दूध, माछामासु, फलफूल, तरकारी) को अभावमा प्रतिरक्षा शक्तिमा कमी भई कुपोषण लगायत विभिन्न रोग लाग्छन् । यो पनि महिला हिंसाको एउटा रूप हो । त्यसैगरी महिनावारीका बेला ठाउँ, मानिस, वनस्पति आदि छुन नदिँदा महिलाहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सहभागिता, स्वतन्त्रताको अधिकार हनन हुन्छ । महिनावारी भएका बेला घर, भान्सा, बैठक, समारोहमा सहभागी हुन नपाउनु पनि हिंसा हो । महिनावारीमा यस्ता हिंसाहरू खप्टिएका हुन्छन् ।
महिनावारी बार्ने अभ्यासका कारण पढ्न नपाउने, स्कुल छोड्नुपर्ने, राम्रो जागिर नपाउने जस्ता असरहरू देखिन सक्छन् । महिनावारीका बारेमा सत्यतथ्य जानकारी नपाउनु समेत हिंसा हो । जानकारी नपाएकाले पाठेघर, मृगौलासँंग सम्बन्धित रोग लाग्नु हिंसाकै अर्को पाटो हो । महिनावारी बार्ने अभ्यासले प्रत्यक्ष शारीरिक, मानसिक, राजनीतिक हिंसा गर्छ । अप्रत्यक्ष रूपमा पनि हिंसा गरिरहेको छ । पेटमा बच्चा भएदेखि मृत्युपर्यन्त पनि महिनावारी अभ्यासले हिंसा गरेको हुन्छ । मृत्यु संस्कारका बेला महिनावारी भएकी महिला सहभागी हुन त के, देखिन पनि हुन्न भन्ने मान्यताले यो कुरा प्रस्ट पार्छ । महिलामाथि कस्ता–कस्ता हिंसा भए, फेहरिस्त लामै छ ।
नेपाली समाजमा महिला हिंसाको अदृश्य कारण महिनावारी सम्बन्धी अभ्यास हो । महिला हिंसाको न्यूनीकरणमा लागिरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिनावारी बार्ने कुप्रथामा अन्तर्निहित हिंसाको पाटोमा ध्यान पुर्‍याउन आवश्यक छ ।
बलात्कारमा पर्नु, श्रीमान्ले कुट्नु वा जलाउनु मात्रै महिला हिंसा हो भनेर बुझाउनु र बुझ्नु हाम्रो समाजको कमजोरी हो । संविधानको मौलिक हक सम्बन्धी धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ । त्यस्तै संविधानका विभिन्न धाराले समानताको अधिकार, छुवाछूत तथा भेदभाव विरुद्धको हक, शोषण विरुद्धको अधिकार, स्वच्छ वातावरणको अधिकार, स्वास्थ्यको अधिकार, खाद्यको अधिकार, आवासको अधिकार, महिलाको हक र बालबालिकाको अधिकार सुनिश्चित गरेका छन् ।
महिनावारी भएका बेला महिलामाथि असंख्य सामाजिक बन्देज लाद्ने गरिएको छ । के छुन हुने र के नहुने, कता जान हुने र नहुने जस्ता कुचलनले महिलालाई दीनहीन बनाइरहेका छन् । यस्ता रूढिका कारण महिलाहरू पलपल हीनताबोधले थिचिन बाध्य छन् ।
घरेलु हिंसा कसुर ऐन–२०६६ ले पनि महिनावारीलाई हिंसाकै रूपमा परिभाषित गरेको छ । उक्त ऐनले भन्छ— कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना …. हिंसा सम्झनुपर्छ ।
के गाउँ के सहर, के स्वदेश के विदेश, के पढालेखा के अनपढ, सबैजसो नेपाली महिलाका लागि महिनावारी बार्नु आवश्यक ठानियो । कतिपय सन्दर्भमा धर्म, संस्कार र संस्कृतिका कारण यस्तो कुचलनले जरो गाड्दै गयो । तर, अब यसलाई जरैदेखि उखाल्न ढिलो भइसकेको छ । नत्र महिला हिंसा पनि घट्नुको साटो चुलिँदै जान्छ । महिला हिंसामुक्त नेपाली समाजका लागि महिनावारीलाई मर्यादित बनाउनुको विकल्प छैन । (कान्तिपुरबाट)





Leave a comment

Your email address will not be published.


*