रोगी र अल्छी बन्दै युवा

          |   प्रकाशित मितिः सोमवार, चैत्र ३, २०७६     ::: 78 पटक पढिएको   |  

मञ्जु भट्ट- म बस्ने घरअगाडि सडक पारिपट्टि तीन मिटरको दूरीमा एउटा घर छ। घरको सटरमा किराना पसलका साथै चिया पनि पकाउने गर्छन्। बेलुकी तीन बजेपछि विस्तारै युवाहरूको जमघट हुन थाल्छ। प्रत्येक दिन १० जनाभन्दा बढी युवा बेलुकी आठ बजेसम्म पसलको बाहिर चिया पिउँदै, चुरोटको धुवाँ उडाउँदै मोबाइलमा खेलिरहेका हुन्छन्। कम्तीमा चार घन्टासम्म घोप्टिएर खेलिने यस्ता खेलले उनीहरूका आँखामा प्रतिकूल असर त पुर्‍याउँछ नै, वरपरका घरमा बस्नेलाई चुरोटबाट निस्किएको धुवाँ र गन्धले पनि असर पारिरहेको छ।

धेरैजसो युवा एकातिर विदेश हानिएका छन् भने अर्कोतिर देशमा भएका ऊर्जावान् युवाहरू बरालिइरहेका छन्। लामो समयसम्म श्रमविहीन भएर बस्दा एकातिर उनीहरूलाई रोगी र अल्छी दुवै बनाएको छ भने अर्कातिर मुलुकका लागि बोझजस्तै बनेका छन्। यी युवाका बलिया हातले माटो खोस्रेर खेतबारीमा नै सुन र डलर फलाउनुपर्ने होइन र ? तर यसरी लामो समयसम्म शून्य प्रतिफल दिने मोबाइलमा घोप्टिएर उनीहरूले आफ्नो भविष्य बिगारेका छन् नै, अमुल्य समय पनि नष्ट पारिरहेका छन्। मुलुकका लागि यो अवस्था कति घातक होला ? यसले हाम्रो मुलुकको नेतृत्व र आर्थिक अवस्थाको तस्बिर प्रस्ट देखाएको छैन र ?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको ५० प्रतिशत मृत्युको कारण यही पदार्थ नै हो। बर्सेनि करिब ८० लाखभन्दा बढी व्यक्तिको मृत्यु धूमपानबाट हुने गरेको छ। अमेरिकास्थित फुड एन्ड ड्रग एडमिनिस्टे«सनका अनुसार सेकेन्ड र थर्ड ह्यान्ड स्मोकले मानिस मात्र नभई कुकुर, बिरालो, चरा, मुसालगायत एक्वेरियमभित्र पालिएका माछालाई समेत खतरामा पार्न सक्छ। विभिन्न अध्ययनअनुसार ६० प्रतिशतभन्दा बढी बिरामीले चुरोट सेवन गर्छन्। दम, हातखुट्टाका औंला काटेर फाल्नुपर्ने बर्जर्स रोग, मुटु रोगसँगै चुरोटको सेवनले फोक्सोको क्यान्सर हुने अत्यधिक सम्भावना हुन्छ। डाक्टरका अनुसार दसवटा विभिन्न खाले फोक्सोको क्यान्सरमध्ये नौवटा धूम्रपानको कारणले हुन्छ। मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटना निम्तिने डर पनि त्यत्तिकै हुन्छ।

चुरोट, गाजा तानेर, तास र मोबाइल खेलेर बरालिने युवाहरूसम्म उपभोक्ता अधिकार दिवसको सन्देश पुग्न सकेको छैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत नौ वर्षमा तीन लाख २५ हजार व्यक्तिलाई मापसेमा कारबाही गरेको जनाएको छ। महाशाखाले सो अवधिमा २३ हजार पुरुष र दुई हजार एक सय महिलालाई कारबाही गरेको छ। यसैअन्तर्गत प्रहरीले २७ सय व्यक्तिलाई मापसे कारबाहीमा मुद्दासमेत चलाएको छ। हालैको एक अध्ययनले नेपालमा कूल जनसंख्याको २८ प्रतिशतले मापसे गर्ने गरेका छन्। २५ प्रतिशत नेपालीले उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि खाइरहेका छन्। उच्च रक्तचाप हुनेका लागि मापसे गर्नु विषसमान हुन्छ। तैपनि बिहान होस वा बेलुकी सहरका गल्लीगल्लीमा मापसे गरेर हड्बडाउँदै हिँडिरहेको तथा लडिरहेको यत्रतत्र देख्न सकिन्छ।

सार्वजनिक स्थान, सडक, पसल, चौतारो आदि ठाउँमा धूमपान गर्न कानुनले निषेध गरेको धेरै भइसक्यो। तर चुरोटको धुवाँ उडाउँदै यस्ता ठाउँमा निर्धक्क बस्ने, हिँडडुल गर्ने विडम्बनापूर्ण अवस्था रोकिएको छैन। पसलेहरूका छोराछारी पनि पसलमा खाने, खेल्ने र सुत्नेसम्म गरेको देखिन्छ। उनीहरूलाई आफ्ना सन्तानको भन्दा पैंसाको बढी माया लागेको देखिन्छ। यसैगरी चिया पसलहरूभित्र पनि तास खेलिरहेको देखिन्छ। सजिलै जताततै उपलब्ध हुने, चुरोट, गाँजा, मदिराजन्य पदार्थले नेपाली युवालाई कुलतमा फसाउँदै लगेको छ।

स्वच्छ हावा, सफा पानी, न्यानो घाम, बाँच्ने आधार खानाका लागि मार्च १५ मा विश्वका मानिस उपभोक्ता अधिकार दिवस मनाउने गर्छन्। सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रथमपटक उपभोक्ता अधिकारको अवधारणा ल्याएका थिए। त्यही अवधारणाका आधारमा हरेक वर्ष यो दिवस मनाइने गरिन्छ। दिवस हरेक वर्ष मनाइन्छ। यस वर्ष पनि यो दिवस मनाइयो तर पसलमा तास र मोबाइल खेलेर तथा चुरोट, गाजा तानेर बरालिएका युवाहरूसम्म यो दिवस पुग्न सकेको छैन। सरकार त धेरै टाढा छ। यस्ता विसंगत पक्षले लाखौं युवालाई बिगारिसकेको छ भन्ने कुरा सरकारले मनन गर्न ढिला भइसकेको छ।





Leave a comment

Your email address will not be published.


*