एसईई परीक्षा : तीन महिला केन्द्राध्यक्ष, २४ परीक्षा केन्द्र, ५ हजार ५ सय १८ परीक्षार्थी

          |   प्रकाशित मितिः मङ्लबार, चैत्र ४, २०७६     ::: 33 पटक पढिएको   |  

एसईई परीक्षा २०७५ मा सहभागी परीक्षार्थी। तस्बिर : हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली
दैलेख :
बिहीबारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) का लागि दैलेखमा तीनजना महिला केन्द्राध्यक्ष नियुक्त भएका छन् । नियमित तर्फका २२ र ग्रेडवृद्धि तर्फका २ वटा गरी कुल २४ परीक्षा केन्द्र मध्ये तीनवटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखका इकाइ प्रमुख तेजबहादुर थापाले जानकारी दिए ।

महाबु गाउँपालिकाको गैडावाज मावी परीक्षा केन्द्रमा सरिता गुरुङ्ग, नारायण नगरपालिका स्थित त्रिभुवन मावी परीक्षा केन्द्रमा देवी बुढा र सरस्वती मावीमा पार्वती पोखरेललाई केन्द्राध्यक्षमा नियुक्त गरिएको इकाइ प्रमुख थापाले जनाए । ‘परीक्षाको सम्पूर्ण तयारी पुरा भइसकेको छ, इकाइ प्रमुख थापाले भने, ‘सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ ।’
 
केन्द्राध्यक्षलाई अभिमुखिकरण गरी केन्द्रमा पठाएको उनले बताए । यस वर्षको एसईई परीक्षामा दैलेखबाट ५ हजार ५ सय १८ जना परीक्षार्थी सामेल हुँदैछन् ।

नियमित साधारण तर्फका ४ हजार ६ सय ३, प्राविधिक तर्फका ९१ र ग्रेड वृद्धि तर्फका ८ सय २४ जना परीक्षार्थी परिक्षामा सामेल हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । ग्रेडवृद्धि तर्फ दुई मात्र परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा ३ सय ३८ छात्र र ४ सय ८६ गरी ८ सय २४ जना परीक्षार्थी परीक्षामा सहभागि हुनेछन् । यस्तै प्राविधिक विषय तर्फ ५५ छात्र र ३६ छात्रा गरी ९१ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । बसन्त मावी किमुगाउँमा प्राविधिक तर्फका विद्यार्थी रहेको इकाइले जनाएको छ । 

दैलेखमा ७५ प्रतिशत हाजिरी नपुगेकै कारणले परीक्षा दिनबाट बञ्चित हुने विद्यार्थी नभएको इकाइ प्रमुख थापाले जनाएका छन् । परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, प्रहरी र सहायक कर्मचारी र विद्यालय सहयोगी गरी झण्डै ८ सय ६७ कर्मचारी खटिनेछन् ।’स्थानीय तहसँग समन्वय गरी परीक्षा केन्द्रमा कोरोना भाइरस रोकथामका लागि हेल्थ डेक्स स्थापनाको तयारी भइरहेको छ,’ इकाइ प्रमुख थापाले भने ।





Leave a comment

Your email address will not be published.


*