पिठ्युँमा च्यापिएको सिरानी

          |   प्रकाशित मितिः सोमवार, बैशाख २२, २०७७     ::: 46 पटक पढिएको   |  

तुल्सी दर्शन

लकडाउनको चालीस दिने थिचाइले सिरानीको साइज असाध्यै खुम्चिएको छ। बिचरो सिरानी कहिले काखमा हुन्छ, कहिले टाउको मुन्तिर र कहिले पिठ्युँमा हुन्छ। जहाँनिर भए पनि यो च्यापिएको छ। थिचिएको छ। र, दिनानुदिन साइज घटाइरहन अभिषप्त छ।

लकडाउनको भार सहँदा सहँदा यो खुइलिएको छ। झन्झन् फुच्चे हुँदै गएको छ। कोरोनाले दीर्घरोगी र बुढापाकालाई सताउँछ भन्ने सबैलाई थाहा छ। तर सिरानी भने घरघरमै पीडित छ। ओल्लो घरको सिरानी होस् या पल्लो घरको सिरानी। सबै सिरानी चुपचाप च्यापिएका छन् लकडाउनमा।

जीवनमा कहिल्यै कल्पना नगरेको लकडाउनबाट मानव संसार च्यापिएको छ यति बेला। हामीले आफूलाई आफ्नै घरभित्र बन्धक बनाइरहेका छौं। थाहा छैन यो सन्त्रासको सिलसिला कहिलेसम्म चल्छ। म भने खिइएर पातलिएको सिरानी समाएर सिरानीका अनेक स्वरूप कल्पना गरिरहेको छु। सिरानी अनेक चीिजको प्रतिमूर्ति बनेर सामुन्ने पल्टिरहेको छ। कहिले यता फर्किएर कहिले उता फर्किएर।

चालीस दिनअघि यो सिरानी अलि पुष्ट थियो। मोटो थियो, हट्टाकट्टा थियो। सिरानीमा अहिले आमूल परिवर्तन आएको छ। स्वरूप बदलिएको छ। धेरै नै थिचोमिचो सहेको छ सिरानीले। कोरोनाको कहरले थिचिएको शक्ति राष्ट्रका आशाजस्तै भएको छ सिरानी। कोरोनाबाट तुलनात्मक रूपले अहिलेसम्म हामी सुरक्षित छौं। हाम्रो कामना यही हो, हौसलाको साइज नखुम्चियोस् र लकडाउनको यही सिरानी जस्तै गरी।

टाउकोको साइज नबिग्रियोस् भनेर नवजात शिशुका लागि बनाइएको तोरीको कोमल सिरानीदेखि हजुरबाले गुन्द्रीमुनि राख्ने साह्रो पिर्काको सिरानी प्रायः सबैको मानसपटलमा घुमिरहने आकृति हुन्। भट्टामा मजदुरले हाल्ने इँटाको सिरानी, लडाइँमा लाउरेदाइले हाल्ने राइफलको सिरानी दुवै कडा सिरानी हुन्। मायालुको हातको सिरानी। भरियाको घाँस परालको सिरानी, दाउरेको दाउराको सिरानी। सबैसबै सिरानीले टाउको अड्याइरहेका हुन्छन्।

संसारमा धेरै प्रकारका सिरानीले मान्छेलाई आड दिइरहेका हुन्छन्। आफ्नो आवश्यकताअनुसार सिरानी बनाइन्छ। टाउकाका सिरानी, गर्धनको सिरानी, कम्मरको सिरानी र खुट्टाको सिरानी। देशकाल अनुसारका सिरानी, धर्म संस्कार अनुसारका सिरानी, फेसनका सिरानी अनि सोखका सिरानी। सबैका डिजाइन, रूपरंग र स्तर फरक हुँदा रैछन्। समयक्रमसँगै यी अनेकानेक चपेटामा खुम्चिँदा रैछन्। च्यापिँदा रैछन् र खिइँदा रैछन्। लकडाउनका सिरानीजस्तै।

सानो सिरानी र ठूूलो सिरानी। सिंगल बेडको सिरानी र डबल बेडको सिरानी। दर्जी दाइले टालाटुलीबाट बनाएको सिरानी या रुईबाट बनेको सिरानी र या आजकल चलन चल्तीमा आएका फाइबरका सिरानी। सबैसबै हाम्रै कामका लागि बनाइएका सिरानी हुन्।

युरोप-अमेरिकालाई मात्रै होइन, विश्वलाई नै त्रासको आँधीले उडाउन खोजेको कोरोनाले मानव चोलालाई हावा हालेको रबरको सिरानी जस्तै बनाइदिन्छ कि भन्ने त्रास छ यति बेला। जुन सिरानी अचानक सानो चोटले पंचर हुन्छ र फुस्स पातलिएर सकिन्छ।

सिरानी र साहित्य एकअर्काका परिपूरक चिज बन्न थालेको शताब्दी अघिदेखि हो। सिरानी सम्झिएर धेरै साहित्यकारले कलम चलाएका छन् अनि सिरानी शीर्षका अनगिन्ती कलाकारले आवाज भरेका छन्।

भिज्यो सिरानी रातमा…..
तिम्रै यादमा कल्पीकल्पी छेउ भिज्यो सिरानीको…
बिस्तारामा यो ज्यानलाई सम्झेर च्याप्छु सिरानी…
मायासँग भेट मेरो नहुँदा,सिरानीको खोल रुझ्यो म रुँदा..

मेरो मायालाई बाँधेर राख,मेरो सिरानी होस् तिम्रो काख..
राइफल सिरानी, नसम्झे मायाले ज्यानलाई बिरामी..
डबल बेडको पलंग माथि दुइटा सिरानी…
जुनीभरि नछुटोस् मायाको हातको सिरानी..

गीतमा सिरानी। अनि सिरानीमै गीत। यस्तो लाग्छ सिरानी बिना गीत गजल अनि पूरै साहित्य अधुरो छ। अपुरो छ। सिरानी र मान्छेबीच सदियौंदेखिको सम्बन्ध छ जसरी राजनैतिक दल र सत्ताबीच सम्बन्ध छ। सत्तारूपी सिरानी च्यापिएर लकडाउनका सिरानीजस्तै पातलिन्छ। यस्तो लाग्छ सिरानी र सत्ता भनेको मीत-मीत हुन्। यी दुवैमा समानता भेटिन्छ। यी दुवै आनन्दका चिज हुन्।

कोमल र आत्मीय लाग्छन्। दुवैमा मान्छेको आकर्षण उस्तै छ। सन्तोषी छन् अनि अवाक छन्। बोल्दैनन्। थिचोमिचो सहनु उनीहरूको दैनिकी हो। न सिरानी बोल्छ न सत्ता चिच्याउँछ। कोरोना कहरमा नागरिकलाई घरभित्रै ताला लगाएर तानातानमा निरीह बन्यो हाम्रो सत्तासिरानी। कति रसिलो छ यो सत्तासिरानी। कति प्यारो छ। सत्तास्वादमा रमाउन भनेर कोरोनाको पीडा समेत भुल्न पुग्छन् राजधानी।

बिरामी अवस्थामा सिरानी नहाल्न सल्लाह दिन्छन् डाक्टरहरू। हाइड्रोलिक बेडमा ह्यान्डिल चलाएर सिरानी उचाल्देऊ सिस्टर भन्छन् बुढा बिरामी। सिरानी प्रतीक हो। श्रीमतीले केही नपाएपछि यही सिरानीले श्रीमानलाई हान्छे। केटाकेटी आपसमा चल्दा निर्दोष सिरानी नै शिकार भइरहन्छ। प्रेमी-प्रेमिका सम्झिएर सिरानीहरू च्यापिन्छन्। अंगालोमा बेरिएकी मायालु ब्युँझिदा सिरानी हुन्छ।

कति आँशु खेपेको छ सिरानीले। हाँस्दा आउने आँशु थापेको छ सिरानीले। रुँदा झर्ने आँशु खेपेको छ सिरानीले। कोमल सिरानीका अवयवमा आँशु हाँसोका छाप छन्। बुट्टेदार खोलवाला सिरानी, खोलै नभएको गाउँले सिरानी। लभ अंकित फोटै छापेर दिइने चनोको सिरानी या सोफामा अड्याइएको कुसन सिरानी। हवाइजहाजमा कम्फर्ट हुन दिइने मिनी सिरानी। डल्ले सिरानी, लामो सिरानी, बाक्लो सिरानी, थ्याप्चे सिरानी्, चुचे सिरानी, बुच्चे सिरानी। सहरको सफाचट सिरानी, दुरदराजमा मयलले कट्कटिएको सिरानी। चिटिक्कका सिरानी र बडेमानका सिरानी। सबै सिरानीलाई मान्छेले थिचिरहेका छन्। सिरानीहरु पिल्सिरहेका छन्। सत्ताको रूपमा र अनेक रुपमा। लकडाउनको मेरो सिरानी जस्तै। सेताेपाटीबाट





Leave a comment

Your email address will not be published.


*