एसइई परीक्षाको विकल्प खोजौँ

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख २३, २०७७     ::: 72 पटक पढिएको   |  

प्रेमनारायण भुसाल

चैत ६ गतेबाट सञ्चालन हुने गरी राष्ट्रिय परीक्षा बोर्डले तय गरेको एसइई परीक्षा अन्तिम घण्टामा स्थगित भएको पनि एक महिना पूरा भइसकेको छ । विश्वलाई त्रस्त पारिरहेको कोभिड १९ महामारीका कारण तत्काल परीक्षा सञ्चालन गर्न नसकिने निष्कर्षमा सरकार पुगेपछि परिस्थिति सामान्यीकरण नहोउन्जेलका लागि परीक्षाको अघिल्लो दिन साँझमात्र परीक्षा स्थगित गरिएको थियो । यसका कारण देशभरका ४लाख ८० हजारभन्दा बढी विद्यार्थी परीक्षा दिन नपाई अन्योलमा रहेका छन् ।

नेपालमा सङ्क्रमणको दर उच्च नदेखिएका कारण परीक्षा बोर्डले १२ कक्षाको पूर्वनिर्धारित परीक्षा तालिकासँगै एसइई गर्न सकिने जानकारी गराउँदै आएको भए पनि अहिले ११–१२ को परीक्षा समेत अनिश्चित कालका लागि स्थगित भएबाट सो विकल्प समेत बन्द भइसकेको छ । कोभिड १९ सिर्जित असहज परिस्थितिको मूल्याङ्कन गरी त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठ महिनामा सञ्चालन गरिने सबै परीक्षाहरु स्थगित गरिसकेको छ । नेपाल सरकारले वैशाख १५ सम्म लकडाउन घोषणा गरेका कारण परीक्षा बोर्ड लकडाउन खुलेको २–३ हप्तामा परीक्षा सञ्चालन गर्न सकिने मनसायले छलफलमा अग्रसर भए पनि लकडाउनको अवधि लम्बिन सक्ने तथा लकडाउन खुल्दैमा एक दुई हप्तामै जनजीवन सहज बन्न सक्ने सम्भावना छैन ।

नेपाल भारतको खुला सीमा तथा भारतमा बढ्दो सङ्क्रमणको अवस्थाले नेपालको परिस्थितिको मात्र मूल्याङ्कन गरेर पूर्णरुपमा लकडाउन हटाउन सक्ने सम्भावना रहँदैन । यस कठिन स्थितिको सिकार हाल परीक्षाको तयारी गरी बसेका एसइई दिने विद्यार्थी भएका छन् । अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा परीक्षाका अन्य विकल्प खोज्नुपर्ने परीक्षा बोर्डले दूरदर्शी निर्णय लिन नसक्दा कलिला किशोरकिशोरी कोभिड १९ को त्रास तथा परीक्षाको तनावले ग्रस्त बनेका छन् ।

विसं. १९९० सालबाट सुरु भएको एसएलसी नेपालमा फलामे ढोकाका रुपमा चिनिदै आएको छ । ९ र १० कक्षामा पढाइएका कुरा दुई वर्षको अन्तरालमा सोध्दा वास्तवमै विद्यार्थीलाई फलामका च्युरा चपाउनुजस्तो भएको सन्दर्भमा धेरै पछिमात्र १० कक्षामा पढाइएका कुरा मात्र एसएलसीमा सोध्न थालियो । नतिजाका रुपमा अङ्क प्रदान गर्दा अस्वस्थ प्रतिस्पर्धा समेत देखिने तथा कुनै विषय विशेषमा कमजोर हुनासाथ उच्च शिक्षाको ढोका बन्द हुने गरेकामा यस समस्यालाई हटाउन २०७२ सालबाट अक्षराङ्कन वा ग्रेडिङ पद्धतिलाई आत्मसात गरिएको छ । १२ कक्षासम्मको पढाइलाई माध्यमिक शिक्षाअन्तर्गत राख्ने सरकारी नीतिअनुरुप हाल एसएलसीलाई एसइई नाम दिई माध्यमिक तहको अन्तिम परीक्षा १२ कक्षामा स्थानान्तरण गरिसकिएको छ । १२ कक्षापछि मात्र विश्वविद्यालयको अध्ययनका लागि ढोका खुल्ने अन्तर्राष्ट्रिय पद्धतिअनुरुप नेपालका विश्वविद्यालयहरुबाट इन्टरमिडियट तहका सम्पूर्ण कार्यक्रम फेजआउट भइसकेको अवस्था छ ।

व्यावहारिक रुपमा एसइई एसएलसीकै निरन्तरता भएकाले ‘फलामे ढोका’, ‘अङ्क ल्याउनै पर्ने’, ‘१० वर्षको उपलब्धिको मूल्याङ्कन’ मानी विद्यार्थीलाई भयभीत पार्ने गरिएको भए पनि सैद्धान्तिक रुपमा एसइई माध्यमिक तहको अन्तिम परीक्षा होइन, यसलाई पनि अन्य नियमित परीक्षाझैँ सञ्चालन गर्न सकिन्छ । नेपालको संविधान २०७२ अनुसार माध्यमिक तहको शिक्षा स्थानीय तहअन्तर्गत रहने व्यवस्थाअनुसार ११ कक्षासम्मका सम्पूर्ण परीक्षा स्थानीय तहको संयोजनमा गर्न सकिने तथा १२ कक्षामा स्तरीकृत केन्द्रीय तहको परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने भए पनि राज्यका तीन तहबीच  भागबन्डा गर्दा कक्षा ८ स्थानीय तह, कक्षा १० प्रदेश तह र कक्षा १२ को अन्तिम परीक्षा सङ्घीय सरकारले गर्ने किसिमको प्रावधान विकसित भएको देखिन्छ तथापि एसइई  परीक्षा अहिलेसम्म केन्द्रीय परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ । यसरी सञ्चालित भए पनि माध्यमिक तहको अन्तिम परीक्षा भने १२ कक्षा नै हो । यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा १२ कक्षालाई नै विद्यालय तहको अन्तिम परीक्षा मानिएको छ । यसैले अनावश्यक भय सिर्जना गर्ने किसिमले १० कक्षाको परीक्षालाई अन्तिम परीक्षा भनी अनावश्यक जोड दिनु राम्रो होइन ।

कोभिड १९ले सिर्जना गरेको असामान्य अवस्थामा कारण यस पटकको एसइई परीक्षा समयमा गर्न सकिएन । नियमित तालिकाभन्दा एक महिना ढिलो भइसकेको वर्तमान अवस्थामा आइपुग्दा पनि अवस्था सामान्यीकरण हुने समय ठोकुवा गर्न सकिने अवस्था छैन । लकडाउनको २३–२४ दिनपछि एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिनुले समस्याको गम्भीरतालाई झनै बढाउदै लगेको छ । यसैले परीक्षार्थी तथा परीक्षा बोर्ड दुवै अन्योलको अवस्थामा रहेको देखिन्छ । कलिलो उमेर तथा संवेदनशील अवस्थाका विद्यार्थीहरुलाई लामो समयसम्म तनाव र अनिर्णयको छटपटीमा राख्नु राम्रो हुँदैन ।

यसैले परीक्षा जसरी पनि गराउने ध्येयका साथ अनिश्चितताको यात्रामा निस्कनुभन्दा परीक्षाका वैकल्पिक विधिहरु आत्मसात गर्ने तथा आगामी शैक्षिक सत्रलाई भद्रगोल हुनबाट बचाउन पहलकदमी गरिनु आवश्यक देखिन्छ । अहिलेसम्मको मोटामोटी आँकलनअनुसार असार नलागी अवस्था सामान्य बन्ने सम्भावना न्यून छ । सम्पूर्ण कुरा सामान्य नभई विद्यालय खोल्न नसकिने भएकाले नियमित पठनपाठन सुरु हुन अझ बढी समय लाग्न सक्दछ । यसैले सरकारको ध्यान आगामी सत्रलाई खल्बलिनबाट जोगाउन इ–कक्षा, दूरशिक्षा लगायतका वैकल्पिक शिक्षण विधिको खोजी तथा सहजीकरणमा जानुपर्दछ ।

विश्वग्रामबाट हामी मात्र अलग्गै रहन सक्दैनौँ, कोभिड १९ ले पनि यही कुरालाई प्रमाणित गरिदिएको छ । सङ्कटको यस घडीमा परीक्षा सञ्चालन तथा आगामी सत्रको व्यवस्थापनमा विश्व समुदाय तथा संसारका प्रसिद्ध र स्तरीय बोर्डले केकस्ता मान्यता विकसित गरेका छन् भन्ने कुराको अध्ययन गरी सोही मान्यतालाई आत्मसात गर्नु आजको आवश्यकता हो । संसारका १६० देशमा परीक्षा सञ्चालन गर्दै आएको र उत्कृष्ट मानिएको क्याम्ब्रिज इन्टरनेसनलले आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मा सम्बन्धित स्कुललाई दिइसकेको छ ।

स्कुलले पठाएको ग्रेडका आधारमा नेपालको १२ कक्षा समकक्षी ए लेभलको नतिजा प्रकाशन गर्ने गरी कार्यक्रम तथा कार्यविधि तयार गरी क्याम्ब्रिजले सम्बद्ध विद्यालयलाई निर्देशन जारी गरिसकेको छ । यस्तै अर्को अन्तर्राष्ट्रिय बोर्ड आई बीले पनि यस वर्षका कुनै पनि परीक्षा नलिने निर्णय गर्दै मूल्याङ्कनका आधार निर्माण गरी वर्षभर भएका आन्तरिक परीक्षाका आधारमा नतिजा तयार गर्दै छ । यी दुवै बोर्डले दिएको नतिजाका आधारमा विद्यार्थीले संसारका सबै विश्वविद्यालयमा प्रवेशका लागि मान्यता पाउने छन् ।

इन्डोनेसिया लगायत कैयौँ देशले महामारीका कारण यस वर्षको राष्ट्रिय परीक्षा सञ्चालन नगरी आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिसकेको सन्दर्भमा छिमेकी राष्ट्र भारतको केन्द्रीय परीक्षा बोर्ड (सिबिएसई) २५ देशमा हुँदै आएका परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा मात्र गर्ने र भारतको अवस्था सामान्य भएमा विश्वविद्यालयका लागि अति आवश्यक पर्ने केही विषयको परीक्षा गर्ने रणनीतिमा देखिन्छ तर अवस्था सामान्यीकरण नभएमा अन्तर्राष्ट्रिय प्रचलन र मान्यतालाई आत्मसात गर्ने मनस्थितिमा देखिन्छ । नेपालका सन्दर्भमा १२ कक्षाको मूल्याङ्कनका लागि भारतीय मोडेललाई पर्खिनु स्वाभाविक भए पनि दस कक्षाको मूल्याङ्कनका लागि समसामयिक र अन्तर्राष्ट्रिय स्तरमा स्वीकृत मोडेल ग्रहण गनु ढिलो गर्नु हुँदैन ।

कसरी गर्न सकिन्छ एसइई ?
विद्यार्थीहरु दस कक्षाको पढाइ–लेखाइ पूरा गरी परीक्षाका लगि तयार भएर बसेको अवस्थामा परीक्षाको अघिल्लो दिन साँझमात्र परीक्षा कार्यक्रम स्थगित भएको हो । वार्षिक परीक्षामा बस्न नपाए पनि सबै विद्यार्थीले कम्तीमा तीनओटा त्रैमासिक परीक्षा सम्पन्न गरिसकेका छन् अर्थात् १० कक्षामा पटक पटक उनीहरुको मूल्याङ्कन भइसकेको छ । यस सङ्कटका अवस्थामा विद्यालयले लिएका तीन ओटा त्रैमासिक परीक्षाका नतिजाका आधारमा अन्तिम ग्रेड निर्धारण गरी केन्द्रीय परीक्षा बोर्डले ट्रान्सकिप्ट जारी गर्नु नै उपयुक्त विकल्प हुन सक्दछ ।

शिक्षा ऐनमा भएको एसइई बोर्डले लिने भन्ने व्यवस्थालाई सरकारले अध्यादेशमार्फत सच्याएर तत्काल मूल्याङ्कन कार्यविधि तयार गरी विद्यालयलाई उत्तरदायी बनाउँदै विद्यार्थीको मूल्याङ्कन प्रक्रिया अगाडि बढाउँदा एसइईको हाउगुजी हट्नुका साथै शिक्षाक्षेत्रमा शिक्षालय र नियामक परीक्षा निकायबीच रहेको अविश्वासको रेखासमेत मेटिने छ । हाम्रो ग्रेडिङ पद्धति स्थिर प्रकृतिको छ अर्थात् ९० वा सोभन्दा बढी आउनेको ए प्लस, ८० वा सोभन्दा माथिको ए भनेर अङ्कलाई स्वतः अक्षरमा परिवर्तन गर्ने गरिन्छ । शैक्षिक स्तरको सन्तुलनमा यो विधि उपयुक्त पनि हो तर क्याम्ब्रिज इन्टरनेसनलले गर्ने ग्रेडिङमा अङ्क र अक्षरको निश्चित स्थिति रहँदैन अर्थात् थ्रेसहोल्ड कायम गरेर कहिले ६० अङ्क पनि ए ग्रेडमा पर्न सक्ने सम्भावना रहन्छ ।

सम्पूर्ण विद्यार्थीको सङ्ख्या, औसत ग्रेडको वितरण प्रणालीका आधारमा ग्रेड तय गर्ने गरिन्छ । नेपालका सन्दर्भमा आई बी बोर्डले तयार गरेको ढाँचालाई धेरै हदसम्म आत्मसात गरेर दस कक्षाका विद्यार्थीले दिइसकेका परीक्षाका आधारमा अन्तिम ग्रेड निर्धारण गर्नु व्यावहारिक देखिन्छ । यस अनुसार ग्रेडिङ गर्दा विद्यार्थीका तीन ओटा त्रैमासिक परीक्षाको उपलब्धि, स्कुलको विगत तीन वर्षको् नतिजा, प्रत्येक विषयको विगत तीन वर्षको नतिजा र समानस्तरका अन्य विद्यालयको नतिजा समेतको विश्लेषण गरी ग्रेड निर्धारण गर्दा विश्वसनीयता समेत कायम रहन्छ । आखिर एक वर्षको वास्तविक सिकाइ र पढाइको प्रतिबिम्बन त आन्तरिक परीक्षामा नै भइसकेको हुन्छ, तीन घण्टे मूल्याङ्कनले विद्यार्थीको क्षमता र सीप भन्दा घोकाइलाई जोड दिने भएकाले आन्तरिक मूल्याङ्कनको नतिजा नै बढी वस्तुगत हुन सक्दछ ।

सङ्क्रमणको भयावह अवस्थामा विद्यार्थीहरु मानसिक त्रासले अस्थिर भएका छन् । यतिखेर शान्त, स्थिर र निश्चिन्त व्यक्तिले आत्मबलले सङ्कट सामना गर्न सक्दछ तर कलिला विद्यार्थीहरु कोभिड १९को त्रास तथा परीक्षाको हाउगुजीले आक्रान्त बनेका छन् । जीवनमा खासै ठूलो प्रभाव नराख्ने परीक्षाका कारण भयभीत भई भावी कर्णधार मनोरोगको सिकार बन्ने अवस्था आउनु राम्रो होइन ।

यसैले अब परीक्षाको जोखना हेर्ने र तयारी गर्ने नगरी विश्वभर अभ्यास हुँदै आएका असल पद्धतिलाई आत्मसात गरी नयाँ सत्रलाई कम क्षति पुग्ने गरी वैकल्पिक शिक्षण विधिको खोजीतिर ध्यान लगाउनु बुद्धिमानी हुनेछ । एसइई जसरी पनि गराएर छोड्ने भन्ने दृष्टिकोण घातक हुन सक्ने भएकाले समय नघर्कँदै व्यवस्थित मूल्याङ्कन पद्धतिको विकास गरी समयमा नतिजा प्रकाशित गर्ने दिशातिर सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।

भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन्





Leave a comment

Your email address will not be published.


*