बन्दाबन्दीको कहरमा बढेका हिंसा

          |   प्रकाशित मितिः सोमवार, बैशाख २९, २०७७     ::: 52 पटक पढिएको   |  

रसना ढकाल

घटना नम्बर एक

बैशाख ११ गते राती पाँचथरको मिक्लाजुङ गाउँपालिका २ सराडडाडाको बतासेमा सात महिनाकी गर्भवती झुण्डिएको अवस्थामा फेला परिन् । मृतक महिलाको माइती पक्षले पारिवारिक कलहको कारण देखाउँदै घरपरिवारले हत्या गरेको आरोप लगाए । दुई वर्ष पहिले विवाह भएर पटकपटक घर परिवारले यातना दिएपछि फाल्गुनमा उनी माइती गइन् । तर पछि श्रीमान्को परिवारकै सहयोगमा बैशाख ३ गते माइती पक्षले उनलार्ई सम्झाई बुझाई घर पठाइदिए । घरमा आएपछि उनी माथि हुने यातना रोकिएन र अन्ततः उनले आत्महत्या गरिन् । प्रहरीले यस घटनाको थप अनुसन्धापन गरिरहेको छ ।

घटना नम्बर दुई

लकडाउनको २० औं दिन । एक महिलाले अपरिचित व्यक्तिबाट सामाजिक सञ्जालमा प्रताडित हुँदै आइरहेको घटना सुनाइन् । साउदिमा बस्ने एक युवकबाट लकडाउन सुरु भएको तीन दिनपछिदेखि फेसबुकमार्फत प्रताडित भइरहेको बताइन् । लकडाउनको कारण देखाउदै ती व्यक्तिले महिलालार्ई त के गर्न सक्छेस्, अहिले जताततै बन्द छ । प्रहरीले पनि तेरो काम गर्दैन भन्ने धम्की प्रयोग गर्दै महिलाको नाउँको फेक आइडी बनाएर मानसिक यातना दिन थाले । अपरिचत व्यक्तिले फेसबुक र इमो प्रयोग गरेर तथानाम शब्दहरू प्रयोग गरिरहेको थियो । पछि ती महिला सबैको सल्लाह बमोजिम साइबर क्राइम व्युरोमा पुगिन् । उनको घटना उपर प्रकृया अघि बढ्यो ।

घटना नम्बर तीन

बैशाख ११ गते राति अन्दाजी ११ बजे धनुषाको विदेह नगरपालिकामा सात दिनदेखि क्वारेन्टाइनमा बसिरहेकी एक महिलामाथि बलात्कारको प्रयास भयो । सोही नगरपालिकाका सरसफाई कर्मचारीले महिलामाथि बलात्कारको प्रयास गरेको आरोप महिलाले लगाएकी थिइन् । अहिले आरोपितलार्ई प्रहरीले पक्राउ गरिसकेको छ ।

घटना नम्बर चार

वैशाख १७ गते चौध वर्षीया बालिकालार्ई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मोरङ्गको कानेपोखरी गाउँपालिकाका १४ वर्षका किशोरलार्ई पक्राउ गरेको छ । ती किशोरले बालिकालार्ई मकैबारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीलार्ई खबर भएपछि तत्कार प्रहरी पुगेर पक्राउ गरेको हो ।

घटना नम्बर पाँच

यसै गरि आफ्नै सहोदर दाजुले १४ वर्षीया बहिनीलाई जबरजस्ती गरेको अभियोगमा भक्तपुर ठिमी नगरपालिका ९ बोडेबाट २३ वर्षिय पुरुषलार्ई प्रहरीले पक्राउ गरेको छ ।

माथि प्रस्तुत हिंसाहरू बन्दाबन्दीको समयमा भएका घटना हुन् । अरु समयमा भएको हिंसाको घटना भन्दा पनि बन्दाबन्दीको समयमा भएका हिंसाको घटनाले धेरै चर्चा पाउँछ, किनभने अरु समयमा हिंसा प्रभावित व्यक्ति सम्बन्धित स्थानसम्म आएर उजुरी दिन सक्ने वातावरण हुन्थ्यो । तर यो बन्दाबन्दीको समयमा बाहिर निस्कन सक्ने अवस्था हुदैन । सहेर बस्नु पर्ने बाध्यता छ । बन्दाबन्दीको समयमा घटनाहरु झनै बढ्दै गइरहेको नेपाल प्रहरीको आकडाले देखाउँछ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न मुलुक अहिले बन्दाबन्दीको अवस्थामा छ । यो अवस्थामा सबै व्यक्ति घरभित्र बसिरहेका छन् । यसैसँग जोडिएर महिला बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसाका घटनालाई पनि नजरअन्दाज गर्न सकिदैन । किनभने यतिबेला हिंसापीडितले जस्तोसुकै हिंसा पनि सहेर बस्न बाध्य हुनु परेको छ । उनीहरुको आवाज हत्तपत्त प्रहरीले सुन्ने अवस्था छैन । अरु समयमा त आफूविरुद्ध भएको हिंसाको उजुरी गर्न सम्बन्धित निकायसम्म आउँदा प्रभावितले कति पल्ट आफ्नै परिवारबाट धम्की खानु पथ्र्यो । जति मुद्दा मामिला गरेता पनि प्रभावित महिला उजुरी दिने व्यक्तिकै घरमा गएर बस्नु पर्ने अवस्था थियो । भने अहिलेको समयमा त त्यो झन विकराल भएको छ ।

माथि प्रस्तुत आकडा २३ दिनको हो । बन्दाबन्दी सुरु भएको २३ दिनमा यति धेरै आकडा छ भने हालसम्म आइपुग्दा कति बढ्यो होला ? अनुमान गरौं त । हिंसाको आकडा बढनुलाई प्राय हामी दुइ रुपमा लिने गर्छौं । पहिलो, हिंसा सहेर बस्ने प्रबृत्ति छैन र दोस्रो, हिंसाविरुद्ध उजुरी दिने संख्या बढेको छ ।

महिलामाथि किन हिंसा हुन्छ ? भनेर कसैले प्रश्न गर्यो भने तपार्ईंं हाम्रो उत्तर हुन्छ कि, महिलामाथि हिंसा हुनु पितृसत्ताको उपज हो । यो पितृसत्ता परापूर्वकालदेखि चलिआएको शासन हो । यसमा शक्ति भएको व्यक्तिले आफूभन्दा कमजोरलाई हेप्ने, हिंसा गर्ने, आत्मसम्मानमा चोट पुराउने काम गर्दछ। र यसले कमजोर व्यक्तिको रुपमा महिलालाई राख्यो । र उसमाथि विभिन्न बहानामा हिंसा हुन थाल्यो । पितृसत्तालाई अमूर्त चलनको रुपमा पनि व्याख्या गर्न थालिएको छ । पितृसत्तालाई सोचले बाधेको छ । व्यक्तिभित्र भएको सोच जसको कारण आजसम्म पनि महिला हिंसाको शिकार भैरहेका छन् ।

समयक्रम सँगै धेरै हदसम्म यस्ता कृयाकलापमा परिवर्तन आएता पनि वर्तमान अवस्थामा कहिकहि पितृसत्ताको गन्ध देखिन्छ । यो पितृसत्ता यति ठूलो सत्ता भयो कि न त यसलाई महाअभियोग लगाएर हटाउन सकिन्छ, न जबरजस्ती राजीनामा दे भन्न सकिन्छ, न त भ्रष्टाचारको मुद्दा लाएर नै हटाउन सकिन्छ । यसको कति ठूलो सत्ता रहेछ त तपार्ईं हामी सजिलैसंग अनुमान लगाउन सक्छौ । यति भनिरहँदा आफ्नो निरकुंशता गाडेको यस सत्तालाई हटाउन केवल महिलाप्रतिको सोच र सम्मानको आवश्यकता छ । फेरि अर्को तर्फ पितृसत्ता भन्नेवित्तिकै तपाईं हाम्रो सोच पुरुषमा गएर ठोकिन्छ, जुन एकदमै गलत हो । पित्तृसत्तामा सबै व्यक्तिको हुर्काइ हुन्छ । पित्तृसत्ताको वातावरणमा हुर्किएकी एक महिला जब एक अर्को महिलामाथि आफूले सिकेको कुरा लागु गर्न खोज्छिन्, तब त्यहाँनिर अर्को बहस सुरु हुन्छ । र जनमानसले भन्छ, महिलामाथि महिलाले नै हिंसा गर्छ । पुरातन सोच र मूल्य मान्यताले महिलामाथि चाहिने भन्दा बेसी नै कुसंस्कार थुपारिदियो । त्यो सबैको बोझ महिलाले थेग्नु पर्यो । फलस्वरुप उनलाई ‘दोस्रो दर्जा’को संज्ञा दिइयो ।

विभिन्न बहनामा महिलामाथि हुने हिंसा नौलौ विषय पक्कै होइन । तर यसको न्यूनीकरण गर्न अपनाइएका रणनीतीहरू किन अहिले पनि लागु हुन सकेका छैनन् त ? यो भने पक्कै पनि सोचनीय विषय हुन्छ । देश, काल, परिस्थीती धेरै परिवर्तन भैसकेको छ । राज्यको नीति, निर्माण तहमा महिला सहभागिता बढेको छ । राजनीतिमा महिलाको उल्लेखनिय सहभागिता छ । तर सहभागितासंगै उल्लेखनीय भूमिका महत्वपूर्ण हुन्छ भने जस्तै अहिले पनि कहिकहि यस्ता विवादास्पद बहसहरू सुन्नमा आउँछ ।

हाल मुलुक तीन तहको संरचनामा छ । संघ, प्रदेश र स्थानीय । यो तीन तहको सरकारमा हाम्रो नजिकको सरकार भनेको स्थानीय तह हो । यो सरकारसँग हामी आफ्नो स्थानको विभिन्न सवालहरूमा कानून बनाउन अनुरोध गर्छौ । यसै सन्दर्भमा नेपालको संविधानले स्थानीय तहलाई दिएको क्षेत्राधिकार अनुरुप स्थानीय तहका नगरपालिका र गाउँपालिकामा समेत गरेर न्यायिक समितीहरू पनि गठन भएका छन् । ती स्थानीय समितीहरूलाई दिइएको क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको छ ।

यसरी बन्दाबन्दीको कहरभित्र उम्रिरहेको हिंसा भोलीको लागि डरलाग्दो साबित हुन सक्छ । अहिले राज्य सामु ठूलो चुनौती कोरोनाको संक्रमण न्यून गर्नु रहेको छ । यसको रोकथामको लागि सरकारले, स्थानीय सरकारले हरसम्भव प्रयास गरिहेका छन् । यही कहरभित्र ठूलो चुनौती हिंसा न्यूनीकरणको हो । जुन कार्य राज्य एक्लैले मात्र होइन, हामी सबै मिलेर सामाधान गर्न तर्फ अघि बढ्नु पर्छ । महिला खबरबाट





Leave a comment

Your email address will not be published.


*