संक्रमितको संख्या हजार नाघ्यो, कोरोनाले मृत्यु हुनेको संख्या पाँच पुग्यो

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ १५, २०७७     ::: 41 पटक पढिएको   |  

काठमाडौं : बिहीबार  थप एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या एक हजार ४२ पुगेको हो। 

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा कोरोना पोजिटिभ देखिएको हो।  मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६  र आरडीटी विधिबाट एक लाख दुई हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ। 

पछिल्लो २४ घण्टामा पीसीआर दुई हजार चार सय १९ र आरडीटी विधिबाट एक हजार सात सय ४७ नमुना  परीक्षण गरिएको छ। अहिलेसम्म कुल १८७ जनाले कोरोना जितेका छन्। जसमध्ये १४४ पुरुष र ४३ महिला छन्। 

प्रवक्ता देवकोटाका अनुसार अहिले क्वरेन्टाइनमा ८६ हजार ५७ जना छन् भने आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ।  आजमात्र नेपालमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएभएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।प्रदेश १ मा निको भइ घर फर्किएका  ३० जना छन् । त्यस्तै प्रदेश २ मा १०१, प्रदेश ३ मा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३८ र सुदूरपश्चिममा ५ जना निको भएर घर फर्किएका छन् ।

देशभर ८५९ जना आइसोलेसनमा उपचाररत छन् । प्रदेश १ मा ९९ जना, प्रदेश २ मा  ३१३ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा १५ जना, प्रदेश ५ मा ३२९ जना, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा उपचाररत रहेका प्रवक्ता देवकोटाले बताएका छन् ।

कोरोनाले मृत्यु हुनेको संख्या पाँच पुग्यो : १८७ निको

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।  ललितपुर महानगरपालिका–२२ बुङमतीका एक पुरुषको मृत्युपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ५६ वर्षीय पुरुषको बुधबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएको हो। अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले उनको निधन भएको बुधबार नै पुष्टि गरेका थिए। 

मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएको थियो। यसअघि नेपालमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।  

जेठ ११ गते पाटन अस्पताल पुगेका ती पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै ग्वार्कोस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो। जेठ ११ गते अस्पतालको आईसीयूमा राखिएका उनलाई १२ गते भेन्टिलेटरमा सारिएको थियो। १२ गते भेन्टिलेटरमा राखेपछि थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो। स्वाब परीक्षणको पीसीआर रिपोर्ट  मृत्युपछि पोजिटिभ आएको किस्ट अस्पतालका निर्देशक बज्राचार्य बताए।





Leave a comment

Your email address will not be published.


*