दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवाको पीसीआर रिपोर्ट पोजिटिभ : कोरोनाले मृत्यु हुनेको संख्या सात पुग्यो

          |   प्रकाशित मितिः शनिबार, जेष्ठ १७, २०७७     ::: 39 पटक पढिएको   |  

दैलेख जेठ १७ गते । शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।  कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले मृतक युवाको पीसीआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेका हुन् ।

भारतको गुजरातबाट १० दिन अघि फर्किएका ३५ वर्षीय युवक दुल्लु नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । उनको शनिबार बिहान चिया खाइसकेपछि मृत्यु भएको दुल्लुका मेयर घनश्याम भण्डारीले बताए । उनी बसेकै क्वारेन्टाइनमा ७९ जनासँगै बसेका छन् । कर्णाली प्रदेशमा कोरोनाका कारण यो पहिलो मृत्यु हो । नेपालमा कोरोनाकै कारण यसअघि नै छ जनाको मृत्यु भइसकेको छ । उनीसहित मृतकको  संख्या सात पुगेको छ । कर्णाली संक्रमितको संख्या भने ७८ पुगेको छ ।  

शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी  विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११९ पुगेको छ ।  कोरोना जितेकामध्ये १७२ पुरुष र ४७ महिला  छन् ।मन्त्रालयका अनुसार  प्रदेश नम्बर १ मा १ सय ६०, प्रदेश नम्बर २ मा पाँच सय ४७, बागमती प्रदेशमा ४५ र गण्डकी प्रदेशमा २० जना संक्रमित छन्।  यस्तै प्रदेश नम्बर ५ मा ५४७ र सुदूरपश्चिम प्रदेशमा २१ जना गरी १४ सय एक जना संक्रमित छन्। संक्रमित भएका जिल्लाको संख्या ५३ पुगेको छ।





Leave a comment

Your email address will not be published.


*