९ हजार २६ जनामा संक्रमण, कोरोनाले मृत्यु हुनेको संख्या २३ पुग्यो : १७ सय ७२ डिस्चार्ज

          |   प्रकाशित मितिः आइतवार, असार ७, २०७७     ::: 32 पटक पढिएको   |  

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट  मृत्यु हुनेको संख्या २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका-५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो। प्यारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। 

गौतमका अनुसार मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो। ६ गते भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो। उनको शव असार ६ गते नेपाली सेनाको विशेष टोलीले व्यवस्थापन गरिसकेको छ। नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  गौतमका अनुसार शनिबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो।

आइतबार संक्रमण पुष्टि भएकामध्ये ६४ महिला र  ३५७ पुरुष छन् । कुल संक्रमित ९०२६ मध्ये ८२० महिला र आठ हजार दुई सय ६ पुरुष छन् । कोरोनाले ज्यान गुमाएका २३ मध्ये चार महिला र १९ पुरुष छन् । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट  एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा २२ प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ८  र आरडीटी विधिबाट ९ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ। 

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९४ हजार ९ सय २८  छन् भने आइसोलेसनमा सात हजार दुई सय ३१ जनाको उपचार भइराखेको छ। आइतबार मात्र ८ महिला  र १८६ पुरुष गरेर १९४ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको संख्या भने  १७ सय ७२ पुगेको छ। जसमध्ये १४९ महिला र १६ सय २३ पुरुष रहेका छन्। 





Leave a comment

Your email address will not be published.


*