कक्षा कोठामा किन जान्छन् शिक्षक ?

          |   प्रकाशित मितिः आइतवार, चैत्र ७, २०७२     ::: 216 पटक पढिएको   |  

EEdukhabar1 विष्णु विवेक र काठमाडौ  शिक्षक कक्षा कोठामा किन जान्छन् ? जवाफ छोटो छ – पढाउन । विद्यार्थीलाई पढाउन नपाए वेचैन हुने शिक्षक कति होलान् त ? यसको जवाफ पहिलो प्रश्न जत्तिकै सपाट र स्पष्ट फेला पार्न मुस्किल छ ।
हो, यस्तै कठिन प्रश्नको उत्तर जान्न एक पटक अमृत साइन्स क्याम्पसका जीव विज्ञानका उप–प्रध्यापक सुवरत्न शाक्यलाई भेट्नै पर्छ ।
‘कुनै एक दिन विद्यार्थीका अघिल्तिर उभिएर पढाउन पाइन भने के छुटाएँ के छुटाएँ जस्तो लाग्छ’ एक दिन उनले यो सम्बाददातासँग भने ‘पढाउन भनेर तयारी साथ घरबाट निस्क्यो तर केही कारणले विद्यार्थीलाई सिकाउन नपाउँदा निकै दुःख लाग्छ ।’
पढाउन कम राजनीति र अरु काममा धेरै खुसी हुने शिक्षकलाई उनको यो ब्यवहार ढोँगी खालको लाग्नु स्वभाविक हो । किन भने विद्यार्थी नपढाएसम्म खुशी नहुने शिक्षक हिजो आज दुर्लभ नै छन् ।
कुलेश्वर घर भएका शाक्य विगत २९ बर्षदेखि शिक्षण पेशामा छन् । काठमाडौँकै सरकारी विद्यालयमा पढेका उनी विद्यालयमा विद्यार्थीलाई किताबका कुरा भन्दा बढी व्यावहारिक कुरा पढाउने शिक्षकसंग विद्यार्थीले पढ्न चाहने बताउँछन् । त्यसका लागी विद्यार्थीलाई बुझ्ने र उसैलाई बुझाउन सक्ने शिक्षक चाहिन्छ ।
‘विद्यार्थीलाई पढाउन भन्दा पहिले उ पढ्न तयार छ की छैन ? भनेर चिन्नुपर्छ । विद्यार्थी मानसिक रुपमा समस्यामा छ अथवा केही आन्तरिक कारणले उ खुशी देखिदैन भने उसलाई पढाउन बेकार छ । त्यसैले पढाउन भन्दा पहिले विद्यार्थीलाई खुशी पार्न सक्नुपर्छ ।’ उनले आफ्नो पढाउने काईदा सुनाए ।
तर सबै विद्यार्थीलाई खुशी पार्न साध्य होला त ? ‘साध्य हुन्छ । किन भने विद्यार्थी दुःखी छ भने उ कुनै कारणले दुःखी होला । तर शिक्षक कक्षा कोठामा गयो भने उ खुशी हुन सक्छ’ उनले भने ‘शिक्षकले पढाउने शैली आकर्षक र विद्यार्थीको मन जित्ने छ भने विद्यार्थीले आफ्नो समस्या विर्सेर पनि सिक्न तिर चासो राख्छ । त्यो वातावरण शिक्षकले नै तयार पार्न सक्छ । अरुले सक्दैन ।’

कक्षाकोठामा छिर्नु अघिको सर्त पर्याप्त तयारी
कक्षाकोठामा छिर्नु अघि आफुले पढाउने विषय वस्तुका बारेमा पूर्ण रुपमा तयार भएर मात्रै कक्षाकोठा प्रवेश गर्नुपर्ने धारणा शाक्यको छ । आफुले बढी भन्दा बढी तयारी गरेपछि मात्रै विद्यार्थीका धेरै जिज्ञासा समाधान गर्न सकिने उनको बुझाई छ ।
कोही शिक्षक पढाउने क्रममा विद्यार्थीका समस्या बुझ्न र उनीहरुले सोध्ने प्रश्नको सही उत्तर दिन सक्छ भने उसले आफु प्रति गर्व गर्नसक्छ । कारण उसले विद्यार्थीको जिज्ञासा मात्र समाधान गर्दैन आफु र आफ्नो काम प्रति पनि विश्वास राख्छ । यो शाक्यको अनुभव हो । ‘तर अहिलेको समयमा विद्यार्थीलाई बर्ता जान्ने भन्दै उल्टै हप्काउँछन् । यसले स्पष्ट पार्छ की शिक्षक आफैले के पढाउने भन्ने बारेमा तयारी नै गर्दैैन’ उनी भन्छन्, ‘विषय वस्तुको बारेमा तयारी गर्ने बानीले पाठ्यक्रममा भएको नयाँ पुराना विषयवस्तुका बारेमा सोधखोज गरेर अध्ययन गर्ने तीर ध्यान जान्छ, यसले ज्ञानको दायरा पाठ्यक्रम भन्दा धेरै माथि फिजाउँछ ।
नयाँ कुराको अध्ययनले विद्यार्थीलाई आधुनिक कुरा पढाउन पाइने र त्यसले विद्यार्थीले पछिल्लो समय आएको परिवर्तनका बारेमा पनि जानकारी पाउने हुँदा उनीहरु ‘अपडेट’ हुन पाउँछन् । त्यसैले पढाउन जानुभन्दा पहिले कुन विषयवस्तु पढाउने भन्नेमा शिक्षकले पुरा तयारी गर्नुपर्ने कुरामा उनको जोड छ ।

पढाईप्रति गैह्र जिम्मेवार विद्यार्थी !
पछिल्लो समयका विद्यार्थी आफ्नो पढाईप्रति जिम्मेवार हुन नसक्दा सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएकोमा शिक्षक शाक्यलाई चिन्ता लागेको छ । ‘सामुदायिक विद्यालयको गुणस्तर खस्किनुमा शिक्षकसंगै विद्यार्थीको पनि दोष छ’ उनले भने ‘पार्टीको राजनीति मात्रै गर्ने तर कक्षाकोठामा शिक्षकले किन पढाएन ? पढाउँदा शिक्षकलाई बढी भन्दा बढी प्रश्न किन गरेन ? पढाएको कुरा कत्तिको काम लाग्दो छ ? भन्नेबारेमा विद्यार्थीले सोधीखोजी नगर्दा समस्या बल्झेको छ ।’
विद्यालयमा शिक्षकले पढाएको नपढाएको बारे सबैभन्दा पहिले विद्यार्थीले नै खोजी गर्नुपर्ने उनको भनाई छ ।
‘शिक्षकले पढाए पनि पनि नपढाए पनि उसको तलब पाकेको हुन्छ । तर पढाएको नपढाएको बारे सबैभन्दा बढी विद्यार्थीलाई नै थाहा हुन्छ । त्यसैले विद्यार्थी नै बढी सक्रिय हुुनुपर्छ । दुःखका साथ भन्नुपर्छ अहिले विद्यार्थीलाई आफ्नो भन्दा पनि बढी पार्टी र नेताहरुको कार्यकर्ता कसरी बन्ने भन्ने पिरलो छ ।’

शिक्षकको मूल्यांकन भएन
‘शिक्षकले पढायो पढाएन कसैलाई पत्तो छैन । तर उसको हाजिरी महिनाको सबै दिन रजिष्ट्ररमा लागेको हुन्छ । शनिबार बाहेक विदाको दिन पनि हाजिरी गर्ने चलन छ । त्यो झुक्किएर हो की बुझेर हो ? तर यस्ता शिक्षकलाई कसले निगरानीमा राख्ने ? विद्यालय र क्याम्पसको प्रमुखलाई यसबारेमा भन्दा उनी आफै ती शिक्षकबाट डराउँछन् ।’ आफ्नो अनुभव सुनाउँदे शाक्य भन्छन् ।
राजनीतिक भागवण्डाको नियुक्ती लिएर आउने शिक्षकहरु कहिल्यै पनि इमान्दार हुन नसकेको शाक्यको भनाई छ । ‘जो नियमित कक्षा लिएको छ । जसले लगातार विद्यार्थीलाई पढाएर परीक्षामा धेरै विद्यार्थीलाई उत्तिर्ण गराउन सफल भएको छ । उसको मुल्यांकन नै छैन’ शाक्य भन्छन् ‘इमान्दार शिक्षकलाई प्रोत्साहन र कामचोर शिक्षकलाई कारबाही नगरेसम्म सरकारी शिक्षा सुध्रन्छ भन्ने कुनै आधार छैन ।’
‘शिक्षकलाई इमान्दार बनाउन विद्यार्थीको पनि भूमिका हुन्छ । तर सबै जसो शिक्षकहरु कुनै न कुनै पार्टीसंग आवद्ध छन् । अनि विद्यार्थी पनि । यसरी सबै पार्टीका लागी पढ्छन् र पढाउँछन् । यो हाम्रा लागि हो भन्ने कोही छैनन् ।’ नैराश्यता व्यक्त गर्दै उनी दुखेसो पोख्छन् ।

ओझेलमा प्रयोगात्मक शिक्षा
Edu khabarसामुदायिक विद्यालय या जुनसुकै विद्यालयमा पनि नेपालमा प्राविधिक शिक्षा छैन । सैद्धान्तिक शिक्षामा पनि प्राविधिक अध्ययन हुनुपर्छ । तर हामीकहाँ निकै कम भएको उनको भनाई छ ।
‘विज्ञान जस्तो विषयमा पनि प्रयोगात्मक परीक्षण गरेर पढाउने श्रोत साधन हुँदैन । कहिले लाइन छैन । कहिले पानी छैन । कहिले केही छैन । यस्तै यस्तै गरेर समय विताइन्छ । न त विद्यार्थी नै इच्छुक छ प्रयोगात्मक रुपमा अध्ययनका लागी न त शिक्षकले नै प्रयास थाल्छ । हाम्रो सबैभन्दा विडम्बनाको विषय यही हो ।’ उनले चिन्ता व्यक्त गरे ।
जनावरका बारेमा अध्यापन गराउने शाक्य माछाको विषयमा विद्यावारिधी गर्दैछन् । यसका लागी उनले घरमै माछाको अध्ययन गर्न प्रयोगशाला ‘ल्याब’ बनाएका छन् ।

माछाका बारेमा अध्ययन गर्ने उनले माछा नै पालेका छन् । घरभित्रको एक कोठामा सानो काचँको स्ल्याबमा । प्राविधिक अध्ययनबिना कुनै पनि अध्ययन र अध्यापन पूर्ण नहुने भन्दै यसका लागी राज्यले विशेष लगानी गर्नुपर्ने उनी बताउँछन् । ‘राज्यले हरेक विषय र संकायमा अध्ययन अध्यापनका लागी कुनै कुरामा कमी नहुने गरी लगानी गर्नुपर्छ’ उनले भने ‘यसो गरिएन भने हाम्रो शिक्षाको गुणस्तर माथि उठ्न सक्दैन ।’
शिक्षा सुधार स् शिक्षकको मुल्यांकनबाटै अहिलेको शिक्षा सुधार गर्नका लागी पहिलो कुरा इमान्दार शिक्षकको सही मुल्यांकन गर्नुपर्ने उनको धारणा छ । नीजिमा राम्रा शिक्षकलाई मात्रै प्राथमिकता दिने र कमजोर शिक्षकलाई ठाउँ नै नदिएर सुध्रेको भन्दै उनी इमान्दारिता र उत्कृष्टतामा कहिल्यै ‘कम्प्रोमाइज’ गर्न नहुने बताउँछन् ।
‘सही शिक्षकको मुल्यांकन गरेर उनीहरुलाई प्रोत्साहन गर्ने हो भने शिक्षा अवश्य सुध्रन्छ । राम्रालाई प्रोत्साहन गर्दा नराम्रा शिक्षक आफै पाखा लाग्छन्’ उनी भन्छन् ‘यसो नगरिदिदाँ निकै ढिलो आएका शिक्षकहरु, चाकरी गरेका शिक्षकहरु राम्रै सुविधा पाउँछन् । उत्कृष्टताको दर्जामा गनिन्छन् । तर जो कक्षामा विद्यार्थीसंग रमाएको छ । उसले अथक मिहिनेत गरेको छ । ऊ कक्षाकोठामै सिमित छ ।’
एउटा विद्यालय सुधार्न मात्र होइन भोली देशका असल नागरिक बनाउन पनि शिक्षकको भूमिका ठूलो हुने भएकोले राम्रो शिक्षकले राम्रा विद्यार्थी उत्पादन गर्ने र नराम्रो शिक्षकले नराम्रो विद्यार्थी नै उत्पादन गर्ने उनको भनाई छ । शिक्षक समझदार भए कोही अभिभावकले पनि आफ्ना छोराछोरी नीजिमा पढाउनुपर्ने अवस्था नआउने उनले दावी गरे । यसका लागी पहिला आम शिक्षकलाई सचेत गराउनुपर्छ, उनी निष्कर्ष सुनाउँछन् ।
साभार ः इडुखवर





Leave a comment

Your email address will not be published.


*