विद्रोह गर्दै कक्षा कोठामा !

          |   प्रकाशित मितिः शुक्रबार, असार २४, २०७३     ::: 129 पटक पढिएको   |  

दिपक अनुरागी / कपिलवस्तु – सामाजिक चुनौतीका बिच बाबुआमालाई जितेर कक्षा १० सम्मको अध्ययन गरिरहेकी कपिलवस्तु हर्दैना गाउँ बिकास समिती वडा नं. २ कि रविना खातुनको चाहना छ, भविष्यमा डाक्टर बन्ने । डाक्टर बनेर के गर्ने ? उनले उतिसारो भेउ त पाएकी छैनन् तर भन्छिन् – समाज सेवा गर्ने !

Rabinakhatun२०६८ सालको जनगणना अनुसार कपिलवस्तुमा ५१ हजार ९ सय ८८ जना मुस्लिम छन् । मुस्लिम धर्मालम्विको बाहुल्यता रहेको यस जिल्लामा जनसंख्या बढी भए पनि यो समुदायमा बालिका शिक्षाको अवस्था निकै दयनीय छ । यही विचमा डाक्टर बन्ने ठुलै अभिलासा लिएर खातुन श्रीभद्र उच्च माध्यमिक विद्यालय महाराजगञ्च–४ पडरियामा कक्षा १० मा अध्ययरत छिन् ।

‘छोरी मान्छे भएर एक्लै उति परको विद्यालय सम्म जाने ?’ समाजमा धेरै प्रश्न झेल्छिन् उनी । सामाजिक दायरा अर्कै छ तर, उनको चाहना अनुसारको पढाई जारी छ । ‘म कक्षा प्रथम हुने भएकोले विद्यालय सम्म आउन सफल भएकी हुँ’ उनले भनिन्, ‘यदि मेरो पढाई राम्रो हुन्थिेन भने म पढ्न पाउने रहेनछु ।’

आफ्नो समुदायका बालिकाहरु विद्यालय आउन नसकेको प्रति उनलाई धेरै दुख लाग्छ । ‘हाम्रो समुदायले बालिकालाई विद्यालय पठाउन खोज्दैन’ भन्छिन्, ‘म त रातदिन घरायसी काम गर्छु अनि समय निकालेर विद्यालय आउँछु ।’

रविना जस्तै जिल्लाको नन्दनगर–९ कि सफिकुन निशाले पनि विद्यालयमा पढ्न दिन भन्दै घर परिवारमा ठुलै विद्रोह गरिन् । मुस्लिम समुदायकी निशाले गरेको विद्रोह परिवारको लागी कहाँ जायज थियो र ? उनले गरेको विद्रोहले परिवारमा कुनै प्रभाव पारेन । उनको विद्यालय जाने इच्चा मनमनमै सेलायो । ‘छोरीको कर्म भनेको यस्तै हो’ भनेर चित्त बुझाउन उनि बाध्य भइन् ।

निशा घरकि एक्ली छोरी थिइन् । उनका एक दाई र एक भाई छन् । दाईले रुपन्देहिको छपियामा कक्षा १२ मा अध्ययन गर्दै छन् भने भाईले स्थानीय एक स्कुलमा कक्षा ७ मा पढ्दै छन् । निशाले भने कक्षा ८ पढ्दा पढ्दै स्कुल छाडेकि हुन् । बच्चा हुँदा सम्म निशालाई परिवारले स्कुल पठायो तर छोरीको उमेर बढ्दै जाँदा इज्जत जोगाउने डरले परिवार विद्यालय पठाउन खोज्दैन ।

हुर्केकि छोरीलाई बाहिरी केटाले आखाँ लगाउँछन् भन्ने.डर निशाको परिवारमा छ । उनि भन्छिन्, ‘छोरी अर्कै संग भाग्छे भन्ने डरले घरपरिवारले स्कुल पढाउन मान्दैनन् । बिहान साँझ काम गरेर दिउँसो स्कुल जान्छु भन्दा पनि परीवारले दिदैन् ।’ तर पनि निशा घरमा बिद्रोह गरेर विद्यालय सम्म आउन सफल भइन् ।

यता जिल्लाको विशुनपुर गाउँ बिकास समितीकी सरिफ खातुनको समस्या अलि फरक छ । कक्षा १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकि खातुनले नेपालीमा आफ्नो नाम प्रष्ट भन्न सक्तिनन् । घरायसी वातावरण आफ्नै मातृभाषाको र विद्यालयमा पढ्ने भाषा नेपाली हुँदा उनलाई भाषाको निकै सकस भएको छ । उनि भन्छिन्, ‘भाषाको कारण अध्ययनमा धेरै समस्या आएको छ ।’ कक्षा १० मा अध्ययन गर्ने बताए पनि नेपाली बोल्नै सक्तिनन् ।

त्यसो त चुनौती भाषा मात्रै हैन । मुस्लिम समुदाय आफ्नो धर्म र संस्कृतिमा कट्टर छ । त्यहि भएर पनि विद्यालय तह सम्म मुस्लिम समुदायका बालिका आउन नसकेका हुन् । पढाई प्रति उनिहरुको समाजले हेर्ने दृष्टिकोण अरु समुदायको भन्दा भिन्दै छ । त्यति मात्रै होइन्, आफ्नै भाषामा अध्ययन हुने मदरसा निकै कम हुनु, सरकारले मदरसा शिक्षालाई ब्यवस्थित गर्न नसक्नु र छोरीले धेरै पढ्न हुदैन भन्ने धार्मिक आस्थाले जकडिनु जस्ता समस्याले मुस्लिम बालिकाको शिक्षामा पहुँच नपुगेको हो ।

अझै पनि थुप्रै अभिभावक यस्ता मान्यतालाई अपनाईरहेका छन् । कृष्णनगरका समुम्मत खाँ भन्छन्, ‘जब सम्म बालिका धार्मिक कुरा पढ्दैनन्, उनिहरुले कुन मुर्ति, कुन देवि र पथ्थरको पूजा गर्न सक्छन् र ? धार्मिक आस्था जब सम्म बालिकाहरुमा हुन्न उसको पढाइको अर्थ छैन ।’

त्यसो त मुस्लिम समाजका धनि र गन्यमान्य परिवारले छोरीहरुलाई पनि डाक्टर, इञ्जिनियर पढाएका उदाहरण पनि भेटिन्छन् । तर समाजका अलि तल्लो बर्ग र अशिक्षित परिवारका बालिका विद्यालयको पहुँच भन्दा बाहिरै छन् । यसको कारण छोरीलाई स्कुलमा नभएर मदरासामा पढाउनु पर्छ भन्ने सोच हो । अभिभावकको सोच मदरासामा बालिकालाई पढाउनु पर्छ भन्ने र सरकारले मदरासा शिक्षालाई अझै व्यवस्थित पार्न नसक्नु जस्ता समस्याले विशेषगरी बालिका शिक्षाको पहुँँचबाट बञ्चित हुन पुगेका हुन् ।

नेपालमा मदरसा शिक्षालाई राज्यले कक्षा ५ सम्मको मान्यता दिएको हँदा अन्यन्त्र गएर पढ्न खोज्दा अभिभावकले पढाउन नचाहेको गुनासो कृष्णनगरकि नेशिबुल निशाको छ । आफ्नो इच्छा धेरै पढ्ने घर परिवारको इच्छा मदरसामा पढाउने तर नेपालमा मदरसामा धैरै पढ्ने सुबिधा छैन । कसरी पढ्नु नेशिबुलको गुनासो छ ।

खासगरी तराईमा बसोबास गर्ने अधिकांश मुस्लिमहरुमा मदरसा मै आफ्ना छोरीहरु पढाउनुपर्छ अन्य विद्यालयमा पढाउनु हुदैन भन्ने सोचको विकास भएपनि पहाडबाट तराई झरेका मुस्लिममा त्यस्तो सोच कम छ । धर्म एउटै भए पनि भौगोलिक वातावरणको प्रभाव निकै प्रष्टसंग परेको देख्न सकिन्छ यो समुदायमा । केहि ब्यक्तिको जडताबादी सोचले गर्दा बालिकाहरु शिक्षाबाट बञ्चित भएको ठहर बिशनपुर गाविसका मुस्लिम समाजसेवी अहमद अब्दुल रउफको छ । कुरानमा नभएको कुरालाई मौलानाहरुले नचाहिँदो व्याख्या गरेर बालिकालाई विद्यालयको पहुँच भन्दा बाहिर पु¥याएको रउफको आरोप छ । कुरानमा कुनै शिक्षा सम्बन्धि विभेद नभएको उनले बताए ।

राज्यले हरेक क्षेत्रमा समावेशीताको कुरा जोडतोडका साथ उठाए पनि मुस्लिम समुदायलाई अल्पसंख्यकको रुपमा राखेर विभेद गरेको कतिपय मुस्लिम अगुवा गुनासो गर्छन् । राज्यका निकायहरु शिक्षाको महत्व बुझाउँदै मुस्लिम समुदायको बिचमा आउन सके बालिकाहरु शिक्षाबाट बञ्चित हुनु पर्ने थिएन । यही समुदायमा यस्तो सोचाई राख्नेहरु पनि छन् । राज्यको उपेक्षा र तराईका मुस्लिममा भएको बालिका शिक्षा सम्बन्धि नकारात्मक बुझाईले बालिका स्कुलको पहुँचबाट बञ्चित भएको शिवराज नगरपालिका ६ मा बस्ने जुम्मुल मियाको भनाई छ । राज्यबाट प्राप्त अधिकार मुस्लिम समुदायले उपयोग गर्न नसकेको उनको दुखेसो छ । राज्यले मुस्लिम समुदायलाई अल्पसंख्यकको रुपमा राख्नु गलत भएको मियाँले बताए ।

धार्मिक, आर्थिक, भाषागत र रुढिबादी समस्याको कारण बालिकाहरु शिक्षाको पहुचबाट बाहिर भएको देख्न सकिन्छ । शिक्षामा उनिहरुको पहुच स्थापित गराउन राज्यले शैक्षिक जागरणको अभियान चलाउनु पर्ने देखिन्छ ।

हालै मात्र राष्ट्रिय मदरसा शिक्षा व्यवस्थापन परिषद्को सदस्यमा नियुक्त कपिलवस्तुका मुस्लिम मौलाना मसहुब खाँ ईस्लाम धर्म ग्रन्थ कुरानले पढाईको बारेमा दिएको आदेशमा कुनै विभेद नगरेको बताउँछन् । ‘इृस्लाममा छोरीलाई पढाउन हुन्न भन्ने कुरामा कुनै सत्यता छैन’ उनले भने, ‘समस्या मखरसा शिक्षालाई राज्यले ब्यवस्थित नगर्दा भएको हो, बच्चाहरु मदरसामा जान्छन् तर कक्षा ५ भन्दा माथिको पढाईलाइृ मान्यता नदिएपछि समस्या भयो, अव यो समुदायमा पनि चासो बढेकोछ, अन्य विद्यालयमा पनि जानु पर्छ भन्ने कुरा घर दैलो गरेर बुझाउने सोचेको छु ।’

संविधानले प्रत्येक नेपाली समुदायलाई आफ्नो मात्रृ भाषामा शिक्षा लिने अधिकार दिएको स्मरण गर्दै खाँ भन्छन् – ‘अव प्रदेशमा मातृभाषमा जोड दिनु पर्छ र मदरसाको डिग्रीलाई मान्यता दिनु पर्छ, अनी मुस्लिम समुदायका बालिकाको शिक्षामा पहुँच बढ्छ ।’

संविधानले विद्यालय शिक्षाको धेरै अधिकार स्थानीय तहलाई दिएको छ । यस्तो अवस्थामा यस क्षेत्र र समुदायमा कसरी शिक्षाको विकास र विस्तार गर्ने भन्ने कुरा यहीँका अभिभावकले चासो राख्ने र छलफल शुरु गर्ने बेला भने भईसकेको छ ।

(यूनेस्को काठमाडौंको सहयोगमा एडुखबर डटकमले तयार पारेको रेडियो कार्यक्रम संघीयतामा शिक्षा मा समावेश भएको सामाग्रीमा आधारित । उक्त कार्यक्रम प्रदेश नम्बर ७ मा रेडियो पश्चिम टुडे धनगढी, प्रदेश नम्बर ६ मा रेडियो जाजरकोट, प्रदेश नम्बर ५ मा कृष्णसार एफ एफ नेपालगञ्ज, प्रदेश नम्बर ४ मा रेडियो तरंग, पोखरा, प्रदेश नम्बर ३ मा रेडियो त्रिवेणी, भरतपुर, प्रदेश नम्बर २ मा रेडियो जनकपुर र प्रदेश नम्बर १ मा रेडियो पूर्वेली आवाज, विराटनगरबाट हरेक बिहीबार विहान ७ः३० मा प्रशारण हुन्छ । यसैगरी काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चारबाट हरेक बिहीबार विहान ८ बजेको समाचार पछि प्रशारण हुन्छ । रेडियो स्टेशनका अलावा उक्त कार्यक्रम www.edukhabar.com र एण्ड्रोईड एप edunepal बाट जुनसुकै बेला सुन्न सकिन्छ )

साभार ः इडुखवर





Leave a comment

Your email address will not be published.


*