प्रधानमन्त्रीजी, पढ्नुहोस् मेडिकल कलेजहरूको हालत!

          |   प्रकाशित मितिः बिहिबार, असार ३०, २०७३     ::: 130 पटक पढिएको   |  

५० लाख लिएर एउटा कोठामा १५० विद्यार्थी पढाउने मेडिकल कलेजले कस्ता डाक्टर उत्पादन गर्छन्?

उनी उठेर अघि-अघि हिँडे, म पछि-पछि।

खुट्टामा छालाको हाल्फ बुट, जिन्स प्यान्ट, कम्मरभित्र नघुसारी बाहिरै छोडेको सफा सेतो सर्ट, हातमा आइफोन सिक्स र आइफोन सिक्स प्लसका दुई सेट। उनको वरिपरि सञ्चार-सेट बोकेका तीन सहायक।

शरीर पुरै ‘स्वीङ’ गरेर हिँड्ने ४० वर्षीय भि. नटराजप्रसाद ‘साउथ इन्डियन’ सिनेमाको कुनै हिरोभन्दा कम देखिन्नन्।

उनी दक्षिण भारत तिरुपतिका त हुन्। तर, हिरो होइनन्। नेपालकै पुराना मेडिकल कलेजमध्येको चितवन स्थित कलेज अफ मेडिकल साइन्सेस्‌का डाइरेक्टर हुन्।

त्यहाँ पढिरहेका विद्यार्थी भन्छन्- कलेजमा उनले आफूलाई खुलमखुला ‘डन’ घोषित गर्ने गरेका छन्।

म उनलाई भेट्न समय नलिई गएको थिएँ। फोनमा समय दिन्छन् भन्ने मलाई रत्तिभर विश्वास थिएन।

उनको कोठासँगैको कोठामा बसेका उनका सहायकलाई मेरो बिजनेस कार्ड दिएँ।

उनले सोधे, ‘टाइम लिनु भएको छ?’

छैन।

उहाँले तपाईंलाई चिन्नु हुन्छ?

मैले टाउको हल्लाएँ, ‘अहँ।’

किन आउनु भएको?

हस्पिटलबारे कुरा गर्न।

के कुरा गर्ने?

‘जेनेरल कुरा।’

त्यसका लागि अरुलाई भेटे भइहाल्छ नि, किन सरलाई नै भेट्ने?

मैले थोरै स्वर उँचो गरेर भने, ‘कार्डभित्र पठाउनुस्, भेट्ने-नभेट्ने तपाईको सरले निर्णय गर्ने हो, तपाईंले होइन।’

‘सर मिटिङमा हुनुहुन्छ, निस्केपछि पुर्‍याउँछु।’

त्यहाँ बसेकामध्ये एउटाले अर्कोलाई भन्यो, ‘नटराज सर, आज अलिक टेन्सनमा हुनुहुन्छ।’

उसको लक्षित श्रोता म थिएँ। नसुनेजस्तो गरिदिएँ।

एकैछिनमा एक सहायक उठेर गए। र, हतार-हतार फर्केर आएर भने, ‘बोलाउनुभा’छ, जानुस्।’

मैले ढोकाबाट छिर्दै अंग्रेजीमा भने, ‘हेल्लो मिस्टर नटराज, हाउ आर यु? सरी फर गेट-क्र्यासिङ।’

उनले हात मिलाएर बस्न भने। मैले किन आएको भनेर निमेषमै बताएँ।

उनी पहिलो वाक्य बोले, ‘आफ्टर अ लङ टायम, आई एम सिइङ समवान हु स्पिक्स गुड इङलिस्।’

नटराज जस्तो अंग्रेजी (हिङ्लिस) बोल्थे, उनलाई मेरो अंग्रेजी राम्रो लाग्नु अस्वाभाविक थिएन। मलाई भने भ्रम थिएन, मेरा अमेरिकन गुरूहरूले बेलाबेलामा नबुझेर कान थाप्दै मेरो अंग्रेजीको हैसियत मलाई राम्ररी सम्झाइदिएका थिए।

म छिरेदेखि नै केही न केही बहानामा नटराजका सहायकहरू कोठाभित्र छिरिरहे। उनले सुरुमा केहीलाई दस मिनेट भन्दै बाहिर पठाए। अन्तत: मसँग गफ गर्न र कलेज घुमाउन करिब दुई घन्टा खर्च गरे।

मेडिकल वार्डहरू चहार्दा मैले देखेँ, यो कलेज औसत हस्पिटलभन्दा धेरै सफा छ। उनले त्यसमा गर्व गरे, ‘सरसफाई हाम्रो पहिलो प्राथमिकता हो। सयौं कर्मचारीले हरेक दिन सरसफाइको काम गर्छन्।’

वार्डहरूका भित्तामा झुन्डिएका एसी देखाउँदै उनले भने, ‘चितवन गर्मी छ, त्यही भएर प्रत्येक वार्डमा हामीले एसी राखेका छौं।’

उनी जुन-जुन वार्डमा छिर्थे, त्यहाँका डाक्टर, स्टाफ र नर्सले उठेर नमस्ते गर्थे, बिना कुनै विलम्ब। यसरी ‘स्वःस्फुर्त’ नमस्कार गर्नेमा ७०-७५ नाघेका भारतबाट आएर पढाउने प्रोफेसरदेखि १८-२० वर्षका एमबिबिएस पढ्दै गरेका कलिला डाक्टर पनि थिए।

आगन्तुकका आँखामा यो मेडिकल कलेज एउटा ‘पर्फेक्ट’ मेडिकल कलेज देखिनसक्छ। डाइरेक्टर नटराजका भनाइमा यो कलेज ‘प्यासन’ले चल्छ, पैसाले होइन र नेपालको मेडिकल शिक्षामा योगदान पुर्‍याउन उनी अहोरात्र खटिइरहेका छन्।

यो मुलुकमा खुलेका प्रायजसो धन्दाहरूको एउटा विशेषता छ- जे छ, त्यो देखिन्न। जे देखिन्छ, त्यो सत्य होइन।

* * *

धनीदेखि गरिब नेपालीको शरीर निर्धक्कसँग चिर्न दिन लायक चिकित्सक एउटा मेडिकल कलेजले कुन बेला उत्पादन गर्न सक्छ? चिकित्सा शिक्षाको सम्बन्धमा हामीले बुझ्नुपर्ने अहम् प्रश्न यही हो।

यो प्रश्नको उत्तर हामीले प्रष्टसँग बुझेनौं भने न हामीले नटराजहरूलाई बुझ्न सक्छौँ, न डा.गोविन्द केसी किन बूढो शरीरलाई हैरानी दिँदै पाँचौंपटक अनसन बस्दैछन् भन्ने बुझ्नेछौँ। हामीले न त बुद्धि र बर्कतबिनै ५० लाख खर्च गरेर डाक्टरी पढ्ने र पढाउने ज्वरोले ग्रसित हाम्रो समाजको मनोदशा र त्यसले सिर्जना गर्दै गरेको विकृतिलाई नै बुझ्ने छौँ।

कुशल डाक्टर उत्पादन गर्न मेडिकल कलेजसँग पाँच कुरा आवश्यक पर्छ- डाक्टर बन्न लायक विद्यार्थी, सक्षम र पर्याप्त प्राध्यापक, आवश्यक पूर्वाधार तथा विद्यार्थीले रोगबारे सिक्न आवश्यक बिमारी संख्या। अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण, यी चारै सर्त पूरा भएका छन् कि छैनन् भन्ने निरन्तर जाँच गर्न बलियो अनुगमन।

चितवन मेडिकल कलेज अफ साइन्सेस्‌मा लगभग यी सबै कुराको अभाव छ। र, कुनै मेडिकल कलेज छैन, जसले यी सबै सर्त पूरा गरेका हुन्।

पहिले विद्यार्थीबाटै सुरु गरौँ।

मेडिकल कलेजमा विद्यार्थी जसरी भर्ना लिइन्छ, त्यो परिपाटी नै गलत छ। धेरै विकृतिको मुहान त्यही हो। सरकारी छात्रवृत्तिमा निजी मेडिकल कलेजमा पढन आउनेबाहेक अरु विद्यार्थी को कति पढ्न जान्नेछ भन्ने आधारमा भर्ना लिइन्न। कसले कति पैसा बुझाउँछ भन्ने आधारमा भर्ना लिइन्छ।

‘फस्ट कम फस्ट सर्भ’ अर्थात् कुस्त पैसा बोकेर जो पहिले आउँछ उसैको भर्ना!

अहिले निजी मेडिकल कलेजमा एमबिबिएस पढ्न ५० लाख न्यूनतम तिर्नुपर्छ।

‘हामी एडमिसन गर्दा ४८ लाख र प्रति महिना २५ हजार लिन्छौँ,’ नटराज स्वयंले स्वीकारे।

५० लाख टेबलमाथि हो, टेबलमुनि थप पैसा लिने चलन पनि छ।

‘अर्को एउटा मेडिकल कलेजले टेबलमाथि ५० लाख र डाइरेक्टको निजी खातामा सिधै बैंकमा १० लाख जम्मा गर्न लगाउँछ,’ एक विद्यार्थीले भने।

एमबिबिएस पढ्न मात्र ५० लाख हो। एमडी पढ्न फेरि अर्को ५० लाखदेखि एक करोड रुपैयाँसम्म तिर्नुपर्छ।

चितवन मेडिकल कलेजका एक प्राध्यापक भन्दै थिए, ‘आजकाल त एक-दुई कट्ठा जग्गा बेच्यो, प्रवेशिका परीक्षामा पुछारमा नाम निक्लेको छ भने पनि निजी मेडिकल कलेजमा पैसा तिर्‍यो, भर्ना भयो।’

उनले थपे, ‘धेरै विद्यार्थी यति अयोग्य छन्, तिनीहरू कस्तो डाक्टर बन्छ्न् अहिले नै अनुमान लगाउन सकिन्छ।’

डेढ करोड तिरेर कनिकुथी एमडी पास गरेको डाक्टरको मनोभाव कस्तो हुन्छ? उसले सेवाभावले काम गर्छ कि आफ्नो लागानी उठाउनतिर केन्द्रित हुन्छ? उत्तर स्वाभाविक छ।

अब मेडिकल कलेजमा पढाउन आवश्यक जनशक्ति हेरौं।

नटराजसँग भेट हुनु अघिल्लो दिन मैले उनको कलेजमा अध्यनरत डाक्टरहरूलाई भेटेको थिएँ। उनीहरू भन्छन्- कुनै पनि विभागमा पर्याप्त प्राध्यापक छैनन्।

मेडिकल कलेजका हरेक विभाग १० जना प्राध्यापक हुनुपर्ने नियम पहिले थियो। सक्षम प्राध्यापकको अभाव बढ्दै गएपछि केही अघि घटाएर सातमा झारियो। तर, विद्यार्थीका अनुसार कुनै पनि विभागमा पर्याप्त जनशक्ति छैनन्।

उदाहरणका लागि, ‘वेसिक साइन्स’तर्फ एनाटोमी, फिसिओलोजी, बायो-केमेस्ट्री विभागमा जम्मा चार-चार प्राध्यापक छन्।

माइक्रो-बायोलोजीमा तीन जना छन्। फर्माकुलोजीमा १० जना एमडी पढ्दै गरेका विद्यार्थी छन्, तर जम्मा एक प्राध्यापक छन् भने प्याथोलोजी विभागमा दुई जना छन्।

विभिन्न विषयमा विशिष्ठ विशेषज्ञता (सुपर स्पेसलाइजेसन)अन्तर्गत ‘डिएम’ र ‘एमसिएच’ पढाउने स्वीकृति पाएको यो एउटा मात्रै निजी मेडिकल कलेज हो।

सुपर स्पेसलाइजेसन पढाउन एक विद्यार्थी बराबर एक प्राध्यापक चाहिन्छ। डिएम पढेका प्राध्यापकले अर्को डिएम तयार गर्ने हो। यो कलेजमा कार्डियो पढाउने डिएम पढेको प्राध्यापक नै छैनन्। न्युरो र नेफ्रोमा एक-एकजना छन्।

नटराजले प्राध्यापकहरूको अभाव रहेको त स्वीकारे, तर आफ्नो कलेजमा समस्या नरहेको दाबी गरे।

विद्यार्थीले दिएको तथ्यांकका अघि मेरा लागि उनको दाबीको खासै अर्थ रहेन ।

पूर्वाधारको हालत त्यस्तै छ।

५० लाख तिरेर एमबिबिएस पढ्न गएका विद्यार्थी एउटा कोठामा १५० जना कोचिएर पढ्छन्। केही हजार शुल्क लिएर पढाउने बोर्डिङ स्कुलले पनि आजकाल ३०/४० जनाभन्दा धेरै एउटा कक्षामा राखेर पढाउँदैनन्।

कुरो सिधा छ, १५० जना एउटा कोठामा खाँदिएर कस्तो डाक्टरी पढ्छन्?

भी नटराजले मलाई घुमाउँदै डेन्टल वार्डमा लगे। मैले आँखा घुमाएँ- जम्मा ६ वटा मात्रै ‘डेन्टल बेड’ थिए। मैले सोधेँ- एउटा ब्याचमा कति जना डेन्टल पढाइन्छ? उनले भने- ४०।

अब हिसाब गर्नुहोस्, विद्यार्थीहरू यो मेडिकल कलेजमा बिडिएस पढ्न थालेको ४ वर्ष भयो। त्यसको मतलब कम्तीमा १६० विद्यार्थी छन्। जम्मा ६ वटा डेन्टल बेड भएपछि कति जनाको दाँतको उपचार हुन्छ? एउटा बेड बराबर २५ जनाभन्दा बढी विद्यार्थी परेपछि उनीहरूले के सिक्न पाउँछन्?

विद्यार्थीले त्योभन्दा पनि गम्भीर तथ्य मलाई बताए। तेस्रो वर्ष सुरु भएपछि डेन्टलभित्रै ९ फरक विधामा विद्यार्थीले पढ्नु र प्रयोगात्मक कक्षा लिनुपर्छ। त्यसका लागि बिडिएसमा ९ वटै विभाग हुनु जरूरी छ। यो मेडिकल कलेजले बिडिएस पढाउन थालेको झन्डै साढे-चार वर्ष भयो, अहिलेसम्म विभागहरू गठन गरेको छैन।

९ ओटा विभागमा राम्ररी पढाउन र सिकाउनका लागि १८ जना प्राध्यापक चाहिने तर्क विद्यार्थी गर्छन्। यहाँ जम्मा ४ जना मात्र प्राध्यापक छन् ।

‘यस्तो संसारमा कहीँ हुन्न,’ एक विद्यार्थीले भने, ‘विभाग नै नभएपछि, शिक्षकनै नभएपछि हामीले के सिक्ने?’

मैले चितवनकै अर्को मेडिकल कलेजमा बुझेँ। बरु त्यो कलेजमा बिडिएसमा ९ वटै विभाग रहेछन्। डेन्टल बेड पनि प्रत्येक विभागमा २० वटा रहेछन्।

नटराज उनको कलेजमा पछिल्लो २० वर्षदेखि डाइरेक्टर छन्। उनको परिवाले खोलेको यो मेडिकल कलेजबाटै उनले एमबिबिएस गरेका हुन्।

‘म एमबिबिएस दोस्रो वर्ष पढ्दादेखि नै डाइरेक्टर छु,’ उनले गर्वसाथ घोषणा गरे।

‘आफ्ना काकाको ठाउँमा जहिलेदेखि नटराजले यो कलेज सम्हाले पूर्वाधारमा लगानी गर्ने खासै चासो उनले देखाएका छैनन्। भवन बनेका छैनन्, बेडहरू थपिएका छैनन्,’ एक विद्यार्थी भन्छन्,‘विद्यार्थी भने बढेको बढ्यै छन्।’

अर्का विद्यार्थीले भने, ‘समस्या यतिसम्म छ, विद्यार्थीलाई सिक्नका लागि पर्याप्त शवको व्यवस्था पनि गर्दैन मेडिकल कलेजले।’

एनाटोमी पढ्न र सिक्न शव चाहिन्छ, जम्मा १५० विद्यार्थीलाई सिक्न ४ ओटा शव छन् यो कलेजमा। ‘चलाउँदै गएपछि शव बिग्रँदै जान्छ, पछिका विद्यार्थीलाई सिक्न धेरै गाह्रो हुन्छ,’ एक विद्यार्थी भन्छन्, ‘शव किन्न नपाइने होइन। तर, व्यवस्थापनले पर्याप्त शवसम्म किन्दैन।’

बिरामी संख्या

कुनै मेडिकल कलेजमा विद्यार्थीले सिक्ने भनेकै अग्रज डाक्टरसँगै बिरामी जाँचेर हो। त्यही भएर मेडिकल कलेजले पहिले अस्पताल खोल्नुपर्छ र पर्याप्त बिरामी आउन थालेपछि मात्रै डाक्टर पढाउने स्वीकृति पाउँछन्। निश्चित बिरामी बराबर तोकिएको संख्यामा नयाँ डाक्टर पढाउन पाइन्छ।

कतिपय मेडिकल कलेजमा पूर्वाधार नै कम हुन्छ अनि आवश्यक बिरामी धान्नै सक्दैनन्। ६ वटा मात्र डेन्टल बेड भएको मेडिकल कलेजमा दाँतका कति बिमारीको उपचार हुन्छ? र, विद्यार्थी-डाक्टरले सिक्न पाउनु!

धेरै मेडिकल कलेजमा पर्याप्त बिरामी नै पुग्दैनन्। अनुगमनमा आएका बेला कर्मचारीलाई नै बिरामी बनाएर सुताउने कथा मिडियामा त्यसै आएका होइनन्।

अघिल्लोपटक डा. केसी अनसन बसेको बेला हामी काठमाडौंमा प्रस्तावित दुई मेडिकल कलेज घुम्न गएका थियौं। घट्टेकुलोस्थित नेसनल मेडिकल कलेज र स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल।

नेसनल नाम मात्रको मेडिकल कलेज थियो- त्यहाँ न डाक्टर थिए, न बिरामी। सेतोबोर्डमा मार्करले बजारमा कहिल्यैं नाम नसुनिएका पाँच डाक्टरको नाम थियो। बिरामीका नाममा चरो-मुसो थिएन।

मनमोहन अस्पतालमा तुलनात्मक रूपमा राम्रो देखियो। तर, यहाँ पनि पर्याप्त बिमारीको चाप देखिएन।

आवश्यक अनुगमन

अनुगमनबिनाको खुल्ला अर्थतन्त्र लुटतन्त्र सिवाय केही हुन्न। हाम्रो अर्थतन्त्र यही फितलो अनुगमनको सिकार भएको छ। खबरदारी गर्नुपर्ने निकाय र व्यक्ति जानी-नजानी लुटतन्त्रको मतियार बनेपछि दुःख पाउने अन्तत: सर्वसाधारण नागरिकले नै हो। मैले चितवन मेडिकल कलेज अफ साइन्समा केही घन्टा बस्दा जे कुरा देखेँ, जे थाहा पाएँ, त्यो अनुगमनमा गएका व्यक्तिले नदेख्ने वा थाहा नपाउने कुरै छैन।

बिना चरम लापरबाही वा मिलेमतो कलेजका जघन्य कमजोरी अनुगमनकर्ताबाट लुक्न सम्भव छैन।

‘अनुगमनमा आएका मान्छे नै कलेजका डाइरेक्टरसँग बसेर सब ठिक छ, होइन? भनेर सोध्छन्,’ एक विद्यार्थीले भने, ‘तिनको दुर्नियत त्यसै थाहा हुन्छ।’

मैले सोधे, विद्यार्थी मात्रै राखेर छुट्टै कुरा गर्दैनन्?

एक विद्यार्थीले अर्को मेडिकल कलेज पढ्दाको अनुगमनसम्बन्धी रोचक अनुभव सुनाए-

अनुगमनकर्ता छुट्टै आएर हामीलाई मात्र राखेर कुरा गर्ने गर्थे। हामी कलेजका सबै अनियमितता जानकारी गराउथ्यौं। सुधार भने केही हुँदैनथ्यो। कलेज दण्डित भएको पनि सुनिएन। पछि थाहा भयो- उनीहरू हामीसँग कुरा दोहेर उल्टो व्यवस्थापनसँग बार्गेनिङ गर्दा रहेछन्। अर्कोपटक हामीले उनीहरूलाई मुखैमा भन्यौँ- तपाईहरूको बार्गेनिङ बढाउन मात्रै किन हामीले सूचना दिने, मुख रातो पारेर गए।

अनुगमनको  भ्रष्टीकरण नगर्ने स्वच्छ मानिसहरू पनि छन्।

तर, अनुगमनका लागि आवश्यक जनशक्ति नै छैन। अनुगमनसँग जोडिएको अर्को ठूलो समस्या यही हो। उदाहरणका लागि महाराजगन्ज टिचिङ अस्पतालसँग सम्बन्धन लिएका मेडिकल कलेजको संख्या ८ पुग्यो।

‘टिचिङमा पढाउने र बिमारी जाँच गर्ने डाक्टरकै अभाव छ, अनुगम गर्न जाने डाक्टरको संख्या हुने कुरै भएन,’ एक विद्यार्थी भन्छन्।

उनका अनुसार यी ८ वटै कलेजमा लगभग एकैपटक जाँच हुन्छ। जाँचमा निरीक्षण गर्न प्राध्यापकहरू जानु पर्छ। यो जाँचको एक महिना टिचिङका हरेक विभाग एक प्राध्यापकले मात्रै सम्हाल्ने हो।

‘यो बेला हाम्रो पढाइ गोलमाल हुने गर्छ।’

डा. केसीले महाराजगन्ज अस्पतालको अनुगमन गर्न सक्ने क्षमता छैन, यो क्षमता नबढाई थप मेडिकल कलेजलाई सम्बन्धन नदियोस् भन्नुको कारण यही हो।

* * *

अब प्रधानमन्त्री सुशील कोइरालालाई मेरा केही प्रश्न,

प्रधानमन्त्रीजी, तपाईलाई भेट्ने हरकोहीलाई थाहा छ- तपाई आफ्नोभन्दा धेरै बिपी र जिपीको कुरा गर्नुहुन्छ। बिपी नेपाल गाउँमा बस्छ भन्नुहुन्थ्यो। गिरिजाप्रसादले २० वर्षअघि यो मुलुकमा मेडिकल कलेज खोल्ने स्वीकृति दिँदा सबै मेडिकल कलेजलाई काठमाडौं बाहिर स्वीकृति दिए। पहिलो चरणका मेडिकल कलेज धरान, चितवन र नेपालगन्जमा खुले। उनका सारा वैयक्तिक कमजोरीका बाबजुद  गिरिजाप्रसाद कोइरालाले गर्ने धेरै निर्णयमा दूरदर्शिता देखिन्थ्यो।

अहिले सत्ताको केन्द्रमा रहेका बिपी र जिपीका भाइ, भतिजा र छोराहरूले त्यति टड्कारो यथार्थ पनि किन देख्न नसकेका?

राजधानी र आसपासमा अहिले ८ वटा मेडिकल कलेज छन्। ठुल्ठूला सरकारी अस्पताल र च्याउसरी उम्रेका निजी अस्पताल यहीँ छन्। अस्पताल धेरै, बिमारी थोरै भएर अस्वस्थ प्रतिस्पर्धा बढेको छ। अस्पताल छिरेको बिमारीलाई अँचेटेर अस्पतालको खर्च उठाउनकै लागि सारा परीक्षण भिडाउने र आवश्यकताबिना जिउ चिर्न लगाउने विकृति बढेको छ। काठमाडौंमा निजी मेडिकल कलेज थपिएर तिनले पुर्‍याउने योगदान यही विकृतिमा मात्रै हो।

प्रधानमन्त्रीजी, तपाईं स्वयंले बनाउनु भएको कार्यदलले पनि भन्छ- काठमाडौंमा धेरै मेडिकल कलेज छन्, अब नयाँ बन्ने मेडिकल कलेज राजधानीबाहिर लैजानु पर्छ। सो कार्यदलले कुन-कुन जिल्लामा कहाँ-कहाँ मेडिकल कलेज खोल्न दिने ठाउँ पनि सिफारिस गरेको छ।

डा. केसीले उठाएको एउटा महत्त्वपूर्ण नीतिगत प्रश्न यही हो- मेडिकल कलेज राजधानीमा चाहिएको छ कि राजधानीबाहिर?

प्रधानमन्त्रीजी, यति सामान्य प्रश्नको उत्तर खोज्न पनि एउटा सदाचारी नागरिक र कर्तव्यनिष्ठ डाक्टर आफ्नो ज्यान जोखिममा राखेर पाँचपटकसम्म आमरण अनशन बस्नुपर्ने?

अनि तपाईंले नेतृत्व गरेको सरकार र तपाईंको पार्टी कानमा तेल हालेर बस्ने? तपाईंको सत्ता अंशियार एमाले आमजनताको स्वस्थमाथि भइहेको खेलवाडको रतिभर चासो नलिई आफ्ना नेता-कार्यकर्ताको लगानीमा खुलेको व्यवसायको बचाउका लागि तपाईंलाई ब्ल्याकमेल गर्ने र तपाईं त्यसका सामू झुक्ने?

अहिले गाँठो परेको विषय, सरकारले आशयपत्र दिएर निर्माण कार्य सम्पन्न गरेका राजधानीका चार मेडिकललाई सम्बन्धन दिने कि नदिने भन्ने हो। मेडिकल कलेजसम्बन्धी स्पष्ट नीति नहुँदा मुलुकको हितविपरीत व्यक्तिगत साँठगाँठ र लेनदेनको आधारमा यी कलेजले निर्माणको अनुमति पाए।

अर्बौंको लगानी गरी अर्बौं कमाउन खोलिएका यी मेडिकल कलेजका बारेमा एउटा व्यावहारिक समाधान खोज्नु आवश्यक छ।

यी र भविष्यमा खुल्ने कलेजहरूलाई एउटा स्पष्ट नीतिले निर्देशित गरोस् भन्ने डा. केसीको माग हो। यस्तो नीति नबनेसम्म कुनै पनि कलेजले सम्बन्धन नपाउन भन्ने उनको अडान हो।

प्रधानमन्त्रीजी, तपाईंको सरकारले यी माग पूरा गर्ने लिखित सम्झौता गरेपछि डा. केसीले गत वर्ष अनशन तोडेका हुन्।

तर, तपाईंहरूले एक वर्षसम्म त्यस्तो नीति बनाउने कार्यदल गठन गर्नुभएन। अरू नै कामका लागि कार्यदल गठन गरेर राज्यले झेल गर्‍यो। सार्क सम्मेलनका बेला डा. केसी अनशन बसे भने राज्यको बेइज्जत हुन्छ भनेर खोक्रो इज्जत छोप्न पूर्व उपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा बल्लतल्ल कार्यदल गठन भयो।

माथेमा र उनको कार्यदलमा रहेका सदस्य निष्ठावान् नागरिक र कर्तव्यनिष्ठ प्रोफेसनल हुन्। उनीहरूले मुलुकको हितमा नीतिको मस्यौदा ल्याउने छन्। विवादित चार मेडिकल कलेजको हकमा पनि व्यावहारिक बाटो निकाल्ने जिम्मा उनीहरूकै हो।

प्रधानमन्त्रीजी, यो कार्यदलले काम गरिरहेकै बेला तपाईंको कार्यालयले यी चार मेडिकल कलेजको सम्बन्धन अघि बढाउनू भन्ने पत्र कुन नैतिक धरातलमा उभिएर लेख्यो?

माथेमाको नेतृत्वमा कार्यदल बनेदेखि नै राजनीतिज्ञ कम र व्यवसायी धेरैले भरिँदै गएको एमाले छट्पटाएको हो। थाम्ने दायित्व तपाईंको थियो, डा. केसीले बाचा तपाईंसँग लिएका थिए, भरोसा पनि तपाईंलाई गरेका हुन्। यसमा तपाईं नराम्रोसँग चुक्नुभयो।

सार्वजनिक हितका लागि ज्यान हत्केलामा राखेर लडिरहेका एउटा सदाचारी नागरिकको साथ दिन नसक्ने तपाईंको आफ्नै सदाचार र ईमानको के काम?

मुलुकको नीति बनाउनु पर्ने ठाउँ संसद्‌मा पुगेका व्यवसायी राजेन्द्र पाण्डे र मनमोहन अस्पतालमा उनका अंशियारहरू त यति अतालिए डा. केसीलाई सार्वजनिक स्थानमा पागल घोषित गर्नसम्म पछि परेनन्।

मलाई पनि लाग्छ डा. केसी पागल नै हुन्। तर, मलाई साथसाथै यो पनि लाग्छ- डा. केसी, लीलामणि पौड्याल, रमेश खरेल, रामेश्वर खनालजस्ता ईमानको पागलपन सवार भएका दुई-चारजना यो मुलुकको सार्वजनिक सेवामा नभएका भए, लोकतन्त्रको नाममा हामीले निर्माण गरेको यो पंगुतन्त्रले आफ्नो वैधता उहिल्यै गुमाइसक्थ्यो।

डा. केसीको पागलपनको अर्को आयाम पनि छ। अंग्रेजीमा ‘सेल्फलेस’ भन्ने एउटा शब्द छ। डा. केसीको जीवनलाई पढेका र नजिकैबाट नियालेकाहरूलाई थाहा छ, अरु मान्छेका लागि यति ‘सेल्फलेस’ भएर काम गर्ने अर्को मानिस यो दुनियाँमा बिरलै होलान्।

* * *

भी नटराजप्रसादले मलाई उनको मेडिकल कलेज घुमाउँदै अन्त्यमा पाँचौँ तल्लाको हुनुपर्छ एउटा कोठामा लगे। लक्जरी सोफा, उनी बस्ने एउटा भव्य कुर्सी, अन्य आवश्यक सुविधासहितको भव्य कोठा देखाउँदै उनले भने, ‘द्‌याट वज माई अफिस, दिस इस अ रुम फर डिग्निटेरिज लाइक यु।’

म फिस्स हाँसे।

म अघिल्लो साँझ त्यही मेडिकल कलेजका विद्यार्थीहरूको कोठामा उनीहरूसँग कुरा गर्दै थिएँ। म करिब ३० वर्षअघि विद्यार्थी हुँदाको गरिब र अव्यवस्थित कोठाको सम्झना दिलाएको थियो त्यो कोठाले।

मैले उनीहरूलाई सोधेको थिएँ, ‘तपाईंहरू कलेजमा यत्रो बेथिति छ भन्नुहुन्छ, किन आवाज उठाउनु हुन्न?’

उनीहरूले भने, ‘मेडिकल फिल्ड अरुजस्तो होइन, कलेज प्रशासनले चाह्यो भने हामीलाई वर्षौंसम्म फेल गराउन सक्छ। प्रश्न सोध्न दिने, सुधार गर्ने ठाउँ त नटराजले छोडेकै छैनन्। बाउन्सरसरहका दुई-तीनजना वरिपरि नराखी उनी हिँड्दैनन्, पुलिस प्रशासन, राजनीतिज्ञ सबै उनले मिलाएका छन्। पुलिस र सेनाका मानिसको निःशुल्क उपचार हुन्छ। यो कलेज भिजिट नगरेका स्वास्थमन्त्री बिरलै होलान्।

मैले ‘डिग्निटेरिज’ आउने कोठाको राज बुझेँ।

प्रधानमन्त्रीजी, सिधा कुरा गरौँ।

राजनीतिज्ञहरू सस्तो दाममा नबिकेका भए दक्षिण भारतबाट आएर २० वर्षको एउटा बच्चोले हाम्रो मुलुकमा यति बेथितिका साथ मेडिकल कलेज चलाउन सम्भव थिएन। रातारात अर्बपति हुने सपना देख्ने व्यवसायीहरूले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा हात हाल्न सम्भव थिएन।

हुँदाहुँदा यिनले अदालत पनि किन्न थाले।

मेडिकल काउन्सिल र अख्तियारको संयुक्त टोलीले निरीक्षण गरेर पूर्वाधार नपुगेका कलेजको सिट संख्या घटाउन दिएको निर्देशन एउटा न्यायमूर्तिको कुर्सीमा बसेको न्यायाधीशले कसरी उल्टाउने आदेश दिन्छ? तर केही महिनाअघि यस्तै भयो।

अदालतमाथि मेरो विश्वास नभएर मैले यो प्रश्न उठाएको होइन। अदालतमाथि विश्वास हुनु र कुनै अमुक न्यायाधीशमाथि विश्वास हुनु फरक कुरा हो। मैले राजनीति र लोकतन्त्रमाथि विश्वास नभएर राजनीतिज्ञमाथि प्रश्न उठाएको पनि होइन। लोकतन्त्रसँग मेरो बाल्यकालदेखिको अटुट प्रेम हो।

संक्रमणकालीन मुलुकमा व्यक्तिहरूको चरित्र दुषित हुँदोरहेछ, चाहे ती जतिसुकै ठूलो कुर्सीमा बसेका किन नहुन्। त्यसैले सचेत नागरिकहरूले त्यसका विरुद्ध प्रश्न उठाएनन् भने डा. केसीले उठाएनन् भने लोकतन्त्रको शुद्धीकरणको सम्भावना सकिन्छ। त्यसपछिको निरासामा सिकार गर्न कसैले फेरि पनि लोकतन्त्रविरुद्ध बन्दुक उठाउने छ।

प्रधानमन्त्रीजी, तपाईंले सबैभन्दा बढी बोल्ने शब्द प्रजातन्त्र/लोकतन्त्र हो। तपाईं सारा जीवन त्यसकै लागि लड्नु भयो।

सौभाग्यवश, तपाईं लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा अग्लो कुर्सीमा हुनुहुन्छ।

बोलीले होइन, तपाईको कर्मले लोकतन्त्रको बाटो निर्धारित हुनेछ।

तपाईं लोकतन्त्रको शुद्धीकरणको पक्षमा कि त्यसका विरुद्ध बन्दुक उठाउन दिने पक्षमा, निर्णय आफैँ गर्नुस्!

यो पनि हेर्नुहोस्

साभार ः सेताेपाटी





Leave a comment

Your email address will not be published.


*