छात्रवृत्तिमा एमडी पढ्न छाडेर अछाम पुगेका डाक्टर

          |   प्रकाशित मितिः शुक्रबार, भदौ १७, २०७३     ::: 277 पटक पढिएको   |  

डा. शरदचन्द्र बराल अछाम पुग्दा बिहानको झिसमिसे थियो । पूर्वतिरबाट उज्यालो बढ्दै थियो, डा बराल चढेको गाडी अस्पतालको हाताभित्र पुगेर रोकियो । दायाँपट्टी एउटा घर थियो, जहाँ मधुरो बत्ती बलिरहेको थियो । उनले न कुनै बोर्ड देखे, न जिल्ला अस्पतालको स्वरुप । त्यसैले उनले सोधे, ‘अस्पतालचाहिँ कुन हो ?’

mangal senत्यही मधुरो बत्ती बलेकै तिर संकेत गरिदिए थाहा पाएकाहरुले । उनी एकछिन अकमकाए । लाग्यो– यस्तो पनि जिल्ला अस्पताल ?

उनी भन्छन्, ‘प्राथमिक स्वास्थ्य केन्द्र भएपनि मोरङको मंगलबारे प्रा. स्वास्थ्य चौकी त्यस्तो राम्रो थियो । जिल्ला अस्पताल भन्न लायक केही छैन ।’

दिउसो अस्पताल जाँदा केही बिरामी चिसो भूइँमा बसेका थिए । बिरामीको ब्लड प्रेसर जाँच्न बिपि सेट खोजे, बिग्रेको फेला पर्यो । बिरामीको बेडमा तन्ना थिएन, सिरानी थिएन । भूइँ फोहोर थियो, भित्तामा ढुसी उम्रेको । जुन कोठा पस्यो, त्यस्तै गन्हाउने ।

उनी मेडिकल अधिकृतका रुपमा त्यहाँ पुगेका हुन् । जिल्ला स्वास्थ्य प्रमुखका रुपमा अर्कै डाक्टर पुगेका थिए त्यहाँ । ती अस्पताल प्रमुखले त्यहाँ २१ दिन झेल्न सकेनन्, सरुवा मागेर इलाम पुगे । त्यसपछि त्यो अस्पताल मध्येमा वरिष्ठ उनै ठहरिए । लिनुपर्यो निमित्त प्रमुखको जिम्मेवारी ।

इमर्जेन्सीमा पहिलोपल्ट आएको बिरामी हेर्नुको कथा अत्यासलाग्दो छ । घरमा आगो लागेपछि कोठामा निस्सासिएका एकजना बिरामी इमर्जेन्सीमा ल्याइएको थियो । बिरामीलाई तुरुन्तै अक्सिजन दिनुपर्ने थियो । अक्सिजन सिलिन्डर खोजे । केही सिलिन्डर कुनामा थन्काइएका थिए, अक्सिजन सकिएर । अस्पतालमा अक्सिजन नभएपछि उनले बेस्सरी हावा चल्ने कोठामा बिरामीलाई राखे । प्राकृतिक अक्सिजनले ती बिरामी बाँच्न सफल भए । बिरामी निको भएर गइसकेपछि पनि उनलाई त्यो कहाली लाग्दो समयले केही बेर घोत्ल्यायो । मन अठोट लिए, केही न केही सुधार त गरेरै छाड्छु ।

उनले एमबिबिएस छात्रवृत्तिमै पढे ।

दुई वर्ष सरकारी स्वास्थ्य संस्थामा अनिवार्य सेवा गरेपछि विशेषज्ञ डाक्टर बन्न विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच दिए । आफूले पढ्न चाहेकै विषय प्रसूती तथा स्त्रीरोगमा नाम पनि निकाले । त्यही बेला उनले स्थायी सेवाका लागि पनि लोकसेवाको जाँच दिएक थिए, त्यहाँ पनि पास भए ।

प्रसूती तथा स्त्रीरोग विशेषज्ञ पढ्न छात्रवृत्तिमा नाम निकाले र उनले पढाई पनि सुरु गरे ।  नीजि खर्चमा यो विषय पढ्न उनलाई सम्भव थिएन । त्यसैले उनी सो पढाई पुरा गर्न जुटे । लोकसेवामा नाम निस्केपनि स्थायी नियुक्ति लिन मन्त्रालय आइपुगेका थिएनन् ।

उनको जीवनमा जुलुम भयो ।

उनले त्यसअघि सेवा दिएको मोरङको मंगलवारे प्राथमिक स्वास्थ्यचौकीका केही स्थानीय उनलाई खोज्दै धरान आइपुगे । भन्न थाले, ‘सरकारको स्थायी डाक्टरमा नाम निकाल्नु भयो भन्ने सुनेर आएको । नियुक्ती लिएर हामीकहाँ आउनुपर्यो ।’

मंगलवारे स्वास्थ्यचौकीमा हुँदा उनले दिएको सेवाबाट स्थानीय मात्रै प्रभावित थिएनन् । जिल्लामै मूल्यांकन भएको थियो, त्यसैले उत्कृष्ट सेवा दिने डाक्टरका रुपमा पुरस्कृत भएका थिए । उनलाई लाग्यो, ‘स्थानीयले नै यतिसारो गर्छन् भने केही समय सेवामै बिताउँ । पछि पढौंला ।’

स्थायी नियुक्ती लिन मन्त्रालय आए । मन्त्रालयले उनलाई सुदूर पश्चिमको पहाडी जिल्ला अछाम जान भन्यो ।

यतिबेला धेरैले गर्ने निर्णय हुन्थ्यो । अछाम जानुको सट्टा सरकारी जागीर त्याग्ने र एमडी नै पढ्ने । उनले अछाम बारे बुझे । साँच्चै सेवा दिनुपर्ने ठाउँ त त्यही हो जस्तो लागेर नाइँनास्ति नगरी दुई वर्ष अघि अर्थात् २०७१ पुष २६ गते पुगे अछाम ।

अहिले उनी त्यहाँ पुगेको दुई वर्ष पुग्न लाग्यो । अहिले अस्पतालको मुहार फेरिएको छ । ५ जना डाक्टरले बिरामी जाँचिरहेका हुन्छन् । ओपिडी छुट्टा छुट्टै कोठामा व्यवस्थित छ । ल्याब छुट्टै  । भिडियो एक्स–रे, एक्स–रे जस्ता चेकजाँच गर्ने ठाउँ छुट्टै । निःशुल्क औषधि व्यवस्थित छ, कसले पायो औषधि भनेर रेकर्ड हेर्न सकिन्छ ।

उनी पहिलोपल्ट अस्पताल टेक्दा मुश्किलले दिनमा २५ जना बिरामी आउँथे । अहिले त्यो संख्या बढेर १ सय ८० सम्म पुगेको छ ।

स्थानीय र राष्ट्रिय तहमा उनको तारिफ भइरहेको छ ।

पोखरा बजारमा जन्मे हुर्केका उनको अछाम जिल्लाप्रतिको लगाव देखेर स्थानीयले पनि सक्दो सहयोग गरेका छन् ।

एउटा इतिहास बनेको छ अहिले । अस्पतालमा २४ सै घन्टा डाक्टर उपलब्ध हुने मात्रै होइन, ५ जना डाक्टर नियमित छन् । १५ बेडको जिल्ला अस्पताल भएपनि २५ बेड सञ्चालनमा छ । अहिले सुरक्षित गर्भपतन सेवा, वर्थिङ सेन्टर, संक्रमित बिरामीका लागि अलग्गै उपचारको व्यवस्था छ । डाक्टरको सेवा २४ सै घण्टा लिन सकिन्छ ।

उनी भन्छन् ‘पहिला मंगलसेनका बासिन्दा अस्पतालको दुर्गन्धले टाउको दुख्यो भन्थे । अहिले उनीहरु फोटो  खिच्न सफा ठाँउ खोज्दै अस्पताल आउँछन् ।’

अस्पताल उही, व्यवस्था उही र सबथोक उही । मात्रै फरक रह्यो एउटा सोच । डा बरालको त्यो एउटा सोचले डेढ वर्षमै अछाम जिल्ला अस्पताल कायापलट भएको हो ।
उनलाई घरपरिवारले सरुवा मागेर घरपायक आउन भनिरहन्छन् । तर, उनको मनले त्यसो गर्न मानेको छैन । अझै केही वर्ष त्यही अस्पतालमा बसेर एउटा स्थायी प्रणालीको विकास गर्न चाहन्छन् । ‘त्यसपछि जो गएपनि त्यही प्रणालीमा रहेर काम गर्छ र जनताले सेवा पाउँछन्,’ उनको स्पष्ट धारणा छ ।

र, उनमा बिचमै छाडेको विशेषज्ञ डाक्टर बन्ने सपना पनि यथावत छ । उनी आफूलाई मन परेकै विषय गाइनो वा इन्टरनल मेडिसिनमा एमडी गर्न चाहन्छन् । त्यसपछि भने पब्लिक हेल्थ पढ्ने उनको योजना छ ।

उनले यो बिचमा प्रशासकीय र चिकित्सकीय दुवै काम गर्नुपर्यो । अछाम जिल्ला अस्पताल मात्रै होइन, त्यहाँ रहेका ७५ स्वास्थ्य चौकीको जिम्मेवारी पनि छ । उनले जिल्ला अस्पताल मात्र होइन, जिल्ला भित्रको सम्पूर्ण स्वास्थ्य संस्था नमूना बनाउने सोचमा छन् ।

यो जिम्मेवारीले उनलाई कहीँकतै नीति नियममा र कहीँ कतै व्यवस्थापनमा चुनौती महशुस गराएको छ ।

साभार ः स्वास्थ्य खवर पत्रिका





Leave a comment

Your email address will not be published.


*