हिउँ ओडेकी बहिनीलाई सम्झँदा

          |   प्रकाशित मितिः आइतवार, भदौ १९, २०७३     ::: 305 पटक पढिएको   |  

kaviraj khatriएउटै कोखबाट जन्मेका दाजुभाई, दिदीबहिनीहरु पर्वको बेला एकै ठाउँमा जम्मा भएर रमाईलो गर्न नपाउँदा कसको मन दुःखी नहोला र ? मानविय प्राणीको हैसियतले मलाई पनि यस वर्षको तीजको अवसरमा यस्तै जब्बर पीडा बोध भएको छ । प्रथम कुरा, हामी भाई बहिनीहर एकै ठाउँमा जम्मा भएर तीज मनाउन नपाएको करिब एक दसक पुग्यो होला । यो समस्या आजभोली सामान्य बन्दै गएको छ ।
अर्को कुरा म अलि कठोर हृद्धयको पनि छु । तथापी यस वर्षको तीजले मलाई पगाल्नसम्म पगाल्यो । घरको मुली मानिस बुबाआमा त हुनुहुन्छ तर कामकाजीका हिसाबले यो जिम्मेवारी बहन मैले गर्नु परेको छ । तीज आयो, सबैले तीजको तयार गरेको यी आँखाले देख्न थाले । तै पनि मैले यो उल्लासमय माहोलमा आवरणमा रमाएको, खुसी भएको अनुभूती गर्दै कृतिम खुसी बाँडिरहेको थिएँ ।
मैले म भित्रको यो पीडा कम गर्न श्रीमतिलाई माईत नजान आग्रह गरेको थिएँ । कारण के थियो भने मेरी ठूली बहिनी भगवती थापाको श्रीमान अस्तिभर्खर फागुन महिनामा कलिलो उमेरमा देहान्त भएको थियो । समाजले बहिनीलाई सेतै हिउँ ओडे जस्तै कपडा पहिराएको थियो र त्यो कपडाको पहिरन अहिले पनि बहिनीले पहिरिरहेकीछन । उनको त्यो सेतो पहिरनले मलाई तीज आएकोमा डाह, आक्रोस उत्पन्न गराईरहेको थियो । भित्रभित्रै मुटु दुःखीरहेको थियो । तर मलाई पीडा छ भनेर यस्ता पर्व अनाउने त कुरै भएन । समाजका सामु दुःखी छु भनेर रुन, विलौन ागर्न पनि नमिल्ने । त्यस कारण श्रीमतिलाई माईत नजान आग्रह गरेको थिएँ । किनकी उनी र छोराछोरी संगै भएको खण्डमा मेरो बेदना आधा कम हुन्छ भन्ने लागेको थियो । तर एउटै परिवारभित्र पनि सबैको बुझाई, वेदना र दुःखसुख एउटै हुँदोरहेनछ । तीजका दिन मेरो श्रीमति म सुतेकै थिएँ माईत जान्छु पनि नभनि खुसी मनाउन माईततिर लागिछन । त्यस पछि उठें, मुख धोएँ, चिया पिएँ, छोरालाई भातदाल पकाउन भने यो मन खै किन बहलाउन थाल्यो । घरी पसमा, घरी चिया पसलमा, घरी कहिले कता कहिले कता जाँदा पनि मनभित्रको बेदना कम भएन ।
यस्तो हुनुको मूख्य कारण मेरी ठूली बहिनीको पीडा नै हो । मेरो मनले हिउँ ओडेकी बहिनी, ती टुहुरा भान्जभान्जिको याद गर्न थाल्यो । आमाले हिजो साँझ रुँदै मलाई ठूली बहिनीको पीडाले तड्पेको रोधन अदृष्य रुपमा प्रकट गरेको याद आउन थाल्यो । हिउँ ओडेकी बहिनी र टुहुरा चिचिले भान्जभान्जीलाई नसम्झने प्रयास गरें सकिन । यादगार बनेर आउन थाले । म तीजको दिन आँसुको भल बगाएर मनाएँ ।
यति धेरै आँसु बग्नुको कारण के थियो भने ठूली बहिनीले म कक्षा ६ मा पढ्दा मेरो विद्यालय शुल्क तिर्ने रकम नहँुदा उनले पढाई छाडेर गाईबाख्रा चराउने गोठाली बन्नु परेको थियो । उनले पालेका बाख्रा बेचेर मलाई स्कूल जाने वातावरण बनाएकी थिईन । सायद म कक्षा ८ मा पढ्दा तीजको दिन सद्दे कपडा लगाउन नपाएर च्यातीएको कपडा लगाएर तीजमा जाँदा ठूली बहिनीलाई हेरेर गिज्याउनेको जमात कम्ति थिएन । तै पनि मेरा लागि उनले ठूलै त्याग गरेकी थिईन । आफ्ना रहरहरुलाई तिलान्जली दिएर मेरो जीवन सफल बनाउन उनको सानै देखीको त्याग र वलिदानी मैले मेरो जीवनमा कहिल्यै भुल्न नसक्ने गरी यादगार बनेको छ ।
यति मात्र होइन, म सानै देखी राजनीति गर्ने मान्छे । बुबा आमाले धेरै राजनीति नगर भन्नुहुन्थ्यो तर मैले मान्दैनथें । त्यसकारण कहिले काँही बुबाआमाले म राजनीति गरेर घर फर्कदाँ खाना दिनुहुनन्थ्यो । त्यबेला मेरी ठूली बहिनीले आफुले खाने भाग नखाएर, बुबाआमादेखी लुकाएर च्यातीएको पटुकामा लुकाएर मेरो सिरानीमा राखिदिन्थिन । यस्ता घट्नाहरु धेरैछन । एक दिन म राजनीतिक गर्न दैलेखमा पुरै एक वर्ष विताएँ । तिहारका दिन घर फर्के तर बहिनीलाई तिहारमा दिने दक्षिणा थिएन । घरमा ठूली बहिनी माला उनीरहेकी थिईन । म घरभन्दा अलि माथि लुकेर बसेको थिएँ । ठूली बहिनीले देखिछन । अनि नजिकै आएर मेरा आँखाबाट झरेका आँसु पुछदै भनिन, दाई नरुनु जबसम्म म छु, तवसम्म तपाँईलाई रुनु पर्दैन । तपाँईको भविश्य राम्रो बनाउन म जस्तो सुकै कठोर काम गर्न पनि तयार छु । तिहारमा मलाई दिने दक्षिणा हजुरसित नभए पनि के भो र ? दशैंमा टिका लगाएको पचास रुपियाँ मसित बचेको छ । यी लिनुहोस । यही पैसाले मलाई टिका लगाएर दक्षिणा दिनुहोस । भोली ठूलो मान्छे भए पछि मेरो समस्या हेर्नुहोला नी । बहिनीको यो त्यागले म झन स्तब्ध भएँ । उनले दिएको साहास बटुलेर घर गएँ । घरमा बुबा आमाले राजनीतिक धेरै गर्नुहुन्न भनेर रिसानु भयो तर बहिनीले अन्यानका विरुद्धमा लडने ठूल्दाईलाई हामीले सहयोग गर्नु पर्दछ । रिसाउनुहुन्न भनेर बुबा आमालाई भनिन । यो सत्य घट्ना आज झन ताजा बनेर आउँदैछ ।
त्यस पछि म भारततिर लागें । दुई वर्ष उतै बसें । बहिनी खगेना पोइल गईछन । मलाई भारतमा खबर प्राप्त भयो । मैले बहिनीलाई माईतबाटै विवाहको जोहो गर्न नसके पनि तिमी खुसी रहनु । तिम्रो सिरको सिंदुर सँधै रही रहोस भन्ने आर्सिबाद दिएको थिएँ । जब भारतबाट घर फर्के । बहिनी मेरो घरमा दुलही बनेर आर्सिबाद माग्न आएकी थिईन । तर विडम्बना मेरो आर्सिबादले काम गरेर । जीवन निर्वाह गर्न भारतको बम्बैमा काम गर्ने मेरो ज्वाई उत्च रक्तचापका कारण विरामी पर्नु भयो । प्यारालाईसिस भएर व्रेनको नसा टुट्यो । अस्ति फागुनमा उहाँलाई बचाउन हामी दुईभाईले काठमाण्डौ उचारमा लग्यौं । धेरै प्रयास गर्दा पनि उहाँ यो धर्तिमा रहनुभएन । त्यस पछि कलिलो उमेरमा मेरी ठूली बहिनी साहारविहिन बनेकीछन । चिचिले भान्जभान्जी टुहुरा बनेकाछन । बर्दियाको बसाई, जग्गाह जमिन प्रसस्त छैन । साहारा दिने कोही छैनन । छोराछोरीलाई पालन पोषण गर्न, पढाउन लेखाउन आर्थिक उपार्जन कतै छैन । तै पनि आँसुका ढिक्काहरु पिएर जब्बर बोझ र समस्याहरुलाई पचाउँदै बाँच्ने प्रयासमा छन ठूली बहिनी ।
यी र यस्तै पीडाहरुको बीचमा यस वर्षको तीज आयो । मैले बहिनीलाई अति सम्झे पनि फोन गर्ने आँट गर्न सकिन । किनकी मैले फोन गर्दा उनी डाको छोडेर रुन्छिन । भान्जभान्जीले रुँदै मामा…. भन्छन । साहारा खोज्छन, बुबालाई सम्झन्छन । अनि मैले आखिर गर्न के सक्छु र ? बहिनीलाई अस्ति नै त्यहाँ आउँछु । केही मेलोमेसो गरौंला भनेको थिएँ । जान पाएको छैन । यतिकैमा तीज आयो । यो वर्षको तीजले यिनै करणामय दुःखलाई झन उजागर गरिदियो ।
बहिनी तिमीले मेरो भविश्य बनाउन आफ्नो जिन्दगीलाई सँधै अन्धकारमा राख्न तयार भयौ । मैन बत्ति जले जस्तै जलेर अरुलाई प्रकाश दियौ । मानव समाजमा हामी जस्तै दुःखी र साहारा बिहनी हुनेहरुको जमात कम्ति छैन । जस्तासुकै समस्याहरु आई परे पनि बाँच्नुको विकल्प छैन । आफ्ना दुःख, पीडाहरु आफैलाई ठूलो कसलाई लाग्दैन र ? तर तिम्रो सिँउदो आज रिक्तिएको छ, वेसाहारा बनेकी छौ, यस्तो पीडादायी जीवनमा वेदनाको अनुभुती सबैलाई हुन्छ नै । विशेष गरेर यो वर्षको तीजले तिमी, हामी सबैलाई डाको छोडर रुने बनाएको छ । आलो घाउका खाटाहरु उक्काएको छ । चाहेर पनि पिरलाई कम गर्न सकेका छैनौं । आमा रुँदा रुँदा आखाँ सुन्नाउनु भएको छ । बुबाले चुरोटको धुँवा उडाएर पीडा कम गर्ने प्रयत्नमा हुनुहुन्छ । तिम्री भाउजु जीवनका दुःख मेटाउन, खुसी मनाउन माईत गएकीछन, तिम्रो भदैले खाना पाकाउँछ, पाकाएको खाना खाने मन लाग्दैन । तै पनि खानै पर्दछ । यता पनि तिम्री भाउजु केटाकेटीलाई एक्लै छोडेर माईत जाँदा रुल्लटुल्ल परेकाछन । चाडपर्वमा साना बालबच्चा आमा नभए कस्ता कस्ता निन्याउरा बन्दा रहेछन । यस्तै यस्तै छ यता पनि ।
अन्त्यमा बहिनी, यी कारणहरु कतिपय प्राकृतिक नियम हुन भने कति पय कारणहरु दोषी र गुलामी, अदुरदर्शी, जनता प्रति अनुत्तरदायी सत्ता पनि हो । नेपालमा सत्ता फेरिन्छन, केही नीति, कानुन फेरिन्छन तर पनि वास्तविक जनताको अनुहार, दुःख फेर्ने शासनसत्ता अहिलेसम्म आएको छैन । देशका कर्णधार युवाहरुलाई विदेशीन बाध्य पार्ने हाम्रो देशको सत्ताका कारण ज्वाईको अल्पायु मै मृत्युको मूख्य कारण हो । यो सत्ताले ज्वाई जस्ता तनाम युवाहरुलाई रोजगारी दिन सकेको छैन, स्वदेशमै बसेर काम गर्ने वातावरण बनाएको छैन , देशलाई औद्योगिकीकरण गर्न सकेको छैन । मजदूर किसानको पक्षमा नीति बनाउन सकेको छैन । शासन शोषणका रुपहरु बदलेर उदयमान भईरहेकाछन । तसर्थ तिमी हामी जस्ता मजदूर, किसान वर्गका मानिसलाई यस्ता अनेकौं पीडाहरु थपिएकाहुन । यी कुरा तिमी हामीले बmुभन जरुरी छ । अन्याय, अत्याचार, शोषण, दमनका विरुद्धमा हामी जस्ता पीडा पाएकाहरु एक भएर लड्नु पर्दछ । यस्तो भद्दा, मक्किएको अग्रगनका नाममा स्थापना भएको सामान्ती र वुर्जवा सत्ताको समुल नष्ट नगरेसम्म हामीले सुख पाउनेवाला छैनौं । यसका लागि बहिनी तिमी हामी अब नौलो जनवादी क्रान्तिमा होमिन जरुरीछ । कम्युनिष्टका नाममा मुकुण्डो ओडेको सत्तालाई भत्काउनु पर्दछ । नौलो जनवादी क्रान्ति मार्फत नौलो जनवादी राज्यव्यवस्था स्थापना नगरेसम्म हाम्रो मुक्त संभव छैन । यो तीजमा बहकिएको मनले नौलो जनवादी क्रान्तिका लागि आधार तयार पार्न तिमी हामी लाग्नु पर्दछ । अहिलेको मूख्य आवश्यकता यहि हो । बहिनी त्यस कारण हामीले यी र यस्ता कुराहरु बुझेर शोकलाई शक्ति र साहासमा बुटुलौं । यहि सन्देश दिदै धेरै नरुनु । रोए शरीर कमजोर हुन्छ । रोएर मात्र दुःख पखालिदैन भन्दै म आफु पनि समालिदै तिमीलाई पनि समालिन सुझाव दिन्छु ।
उही तिम्रो ठूल्दाई
कविराज खत्री





Leave a comment

Your email address will not be published.


*