सम्बन्धविच्छेद : सम्पत्ति कसलाई ?

        बबिता बस्नेत   |   प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७३     ::: 330 पटक पढिएको   |  

 

babita basnet 15

– बबिता बस्नेत

एक चिनजानका व्यक्ति छन्, जिन्दगीको लामो समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा रहेर हिमाल, पहाड, तराई दौडादौड गरी काम गरे, अझै गर्दै छन् । जिल्लाबाट आएर काठमाडौंमा स्थापित हुन कम गाह्रो थिएन । दुःखको कमाइले घर बनाए, राम्रो स्कुलमा छोराछोरी पढाए । छोराको विवाह भयो । छोराको उच्च शिक्षा जारी नै थियो, जागिरे बुहारीले विवाहको दुई वर्षपछि सम्बन्धविच्छेदको मुद्दा हालिन् ।

सम्बन्धविच्छेद छोराले होइन उनैले चाहेकी थिइन् । तैपनि ससुराको दुःखको कमाइको उक्त घरसहित सम्पत्तिमा दाबी गरिन् । भूकम्पले घर भत्किएका कारण डेढ वर्षदेखि परिवारै डेरामा थियो । भत्किएको घरको घडेरी बैंक धितो राखेर ऋण लिने र घर बनाउने योजना गर्दै गर्दा बुहारीले सम्पत्तिमा दाबी गरेपछि सबै कुरा रोक्का भयो, उनले ऋण लिने अवस्था रहेन । भूकम्पमा घर भत्किँदा महसुस नगरेको विपत्ति अहिले उनको परिवारमा आएको छ । आफ्नो जीवनको उर्वर समय खर्चिएर बुढेसकालमा आनन्दले बस्न बनाएको घर भूकम्पले भत्काए पनि बनाउने जग्गा त थियो, तर अब त्यही जग्गा पनि नरहने भयो । उनलाई नजिकबाट चिन्नेहरूलाई लाग्छ, छोराको विवाह नै उनको वृद्धावस्थाको दुःखको कारण बन्ने भो । श्रीमती, छोरी र भर्खरै एकल भएका छोराको व्यवस्थापन अब उनको जिम्मेवारीभित्र परेको छ । आफ्नो विज्ञताका कारण मुलुकमा चिनिएका यी सम्मानित व्यक्तित्वलाई थप चोट त्यतिबेला प¥यो जब सासूससुराले खान–लाउन नदिएकोलगायतका कुराहरू लेखिएको निवेदन उनीहरूको हातमा प¥यो । निवेदनको व्यहोरा हेरेपछि उनले बुहारीलाई मन पर्ने ब्रेकफास्ट र अन्य खानेकुराका लागि सामानहरू छानी–छानी किनेको सम्झिए । तर, चित्त बुझाउने बाटो कहीँ थिएन । मनमा एउटै प्रश्नले ठाउँ लिइरह्यो, छोरासँग बुहारीको मन मिलेन यो सब लाञ्छना र तनाव मलाई किन दियौ भगवान् ?

झापामा तीन छोरी एक छोरा भएको एक परिवारमा यस्तै एउटा घटना भयो । छोरा युरोप बस्ने, बुहारी घरमै । बुहारीलाई सासूले यति धेरै माया गर्ने कि उनीहरूको परिवारमा त्यति पुलपुल्याएर बुहारी राखेकी छ कुन दिन के घटना हुने हो भनेर कुरा नै काटिन्थ्यो । छोरीहरू विवाह भएर गइसकेका थिए । सासू, ससुरा र बुहारी घरमा बस्थे । बुहारी जागिरे थिइन् । बाहिर बस्ने छोराका कारणले घर बैंकमा धितो राख्नुप¥यो । खान्दानी परिवार एकाएक ऋणमा डुब्दा धेरै तनावपूर्ण स्थिति बन्यो । कान्छी छोरी अमेरिका थिइन् । बिस्तारै–बिस्तारै बैंकको ऋण तिरिदिइन्, घर उक्सियो । आमाबाबु तनावमुक्त भएको केही समय मात्र भएको थियो, माइत गएकी बुहारी लामो समयसम्म फर्किनन् । फोन गर्दा अब उनी नआउने जानकारी दिइयो । माइतीमै बाबुआमा भेट्न जाँदा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिसकेको बताइयो । मुद्दामा घर दाबी गरिएको रहेछ । सम्पत्तिका नाममा छोरीले उकासिदिएको त्यही एउटा घर थियो । ससुराको चिन्ता बुढेसकाल अब कहाँ गएर टाउको लुकाउने होला भन्ने भयो । छोराको कुनै भर थिएन, उसको कमाइ कस्तो हुन्छ बाबुआमाले अहिलेसम्म देखेका थिएनन्, जुन कुरा बुहारीलाई थाहा थियो । यता सासूलाई बस्ने घरको मात्र चिन्ता नभएर बुहारी टाढा हुँदाको भावनात्मक पीडा पनि त्यत्तिकै प¥यो । अझ थप दुःख त त्यतिबेला लाग्यो जब बुहारीलाई सासूससुराले खान–लाउन नदिएको र कुटपिट गरी घरबाट निकालिएको व्यहोरा सम्बन्धविच्छेदको निवेदनमा लेखिएको थियो ।

सम्बन्ध भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो । कसको के कारणले सम्बन्ध टुट्छ भन्नै सकिन्न, तर हाम्रो कानुनले खान–लाउन नदिएको, कुटपिट गरेकोजस्ता कुरालाई मात्र महत्व दिँदा आफूले कहिल्यै त्यसो नगरेका बाबुआमालाई जिन्दगीमा नगरेको गल्तीको आरोप लागेको महसुस हुने गरेको छ । त्यसैले कानुनमा अब कुरा नमिलेको या सिद्धान्त, व्यवहार के–के नमिलेको हो जे नमिलेको त्यही लेख्ने व्यवस्था हुनुपर्ने देखिन्छ । छोराछोरी या बाबुआमा भनेर मात्र हुँदैन, सबैको आ–आफ्नै प्रकारका एटिच्युडहरू हुन्छन् । छोराले मिलाउन नसकेको मनको मूल्य बाबुआमाले किन तिर्ने ?

अहिले नेपाली समाजमा सम्बन्धविच्छेद बढ्दो छ । सम्बन्धविच्छेदलाई कानुनी रूपमा मात्र हेरिए पनि वास्तवमा यो कानुनी र भावनात्मक दुवै हो । नेपालको कानुनले मनासिव माफिकको कारणसहित फिराद हाल्न पाइने भनेको छ । सीधै जिल्ला अदालतमा मनासिव माफिकको कारणसहित फिराद हाल्न पाइन्छ । मनासिव माफिकको भन्नाले, तीन वर्षदेखि छुट्टाछुट्टै बसेमा, सौता ल्याएको खण्डमा, भरणपोषण नगरेमा, शारीरिक हानि–नोक्सानी पु¥याउने खालको क्रियाकलाप गरेमा, मानसिक सन्तुलन नभएको खण्डमा आदि–इत्यादि । यता, केटा पक्षले चाहेमा सम्बन्धविच्छेदका लागि सीधै अदालत जान पाउँदैनन् । पुरुषहरूले सम्बन्धविच्छेदका लागि पहिला नगरपालिकामा निवेदन हाल्नुपर्छ ।

कानुनतः केटी पक्षले सम्पत्ति दाबी गर्न पाउँछ, केटाले पाउँदैन । लोग्नेको कुनै कमाइ नभए पनि उसको पैतृक सम्पत्तिमा केटीको हक दाबी रहन्छ । माथि उल्लेखित दुवै घटनामा दाबी गरिएको सम्पत्ति पैतृक होइन पछि जोडिएका हुन्, तर पिताले जोडेका कारण पैतृक सम्पत्तिमा जोडिए । सम्बन्धविच्छेदको कानुन केही देशमा छोडेर अधिकांश मुलुकमा महिलाको पक्षमा छन् । महिलाले धेरै दुःख नपरीकन सम्बन्धविच्छेद गर्दैनन् या गर्न चाहँदैनन् भन्ने अवधारणाबाट महिलाको पक्षमा कानुनहरू बनेका हुन् । अन्य देशमा आफूले आर्जन गरेको सम्पत्ति आफूले इच्छाएको व्यक्तिलाई दिने ‘विल सिस्टम’का कारण सम्बन्धविच्छेदको भार सम्बन्धित व्यक्तिहरूले मात्रै व्यहोर्नुपर्छ, बाबुआमाले पर्दैन । तर, हाम्रो मुलुकमा बाबुआमाको सम्पत्ति छोराछोरीले पाउने भएका कारण छोराको सम्बन्धविच्छेदको असर छोरालाई भन्दा तिनका बाबुआमालाई बढी पर्न थालेको छ । पश्चिमा मुलुकमा छोराछोरीलाई सम्पत्ति दिन नचाहने कतिपय बाबुआमाले आफ्ना सहयोगीलाई, कतिले सरकारलाई त कतिले आफूले पालेको कुकुरलाई समेत दिएका उदाहरणहरू छन् । आफूप्रति अत्यन्त इमानदार रहने कुकुरलाई सम्पत्ति दिने इच्छापत्र नितान्त भावनात्मक हुने हुँदा अन्ततः त्यस्ता व्यक्तिको सम्पत्ति सरकारले नै व्यवस्थापन गर्ने गर्दछ ।

अहिले हाम्रो कानुनले छोराछोरी दुवैलाई सम्पत्तिको हकदार बनाए पनि प्रायः छोरीले बाबुआमाको सम्पत्ति होइन भावना मात्रै पाउने गरेका छन् । सम्पत्ति हुनु र नहुनुले जीवनमा अर्थ राख्छ, तर कहिलेकाहीँ सम्पत्तिभन्दा आत्मसम्मान ठूलो बनिदिन्छ । त्यसैले त कतिपय आफ्नै खुट्टामा उभिएका महिलाले श्रीमान्सँग बस्न नसक्ने अवस्था भयो भने आ…भइहाल्यो है मान्छे त भएन त्यसको सम्पत्ति के काम ? भनेर सम्बन्धविच्छेदमा सम्पत्ति क्लेम गर्दैनन् । वास्तवमा सम्पत्ति क्लेम गर्ने कुरा ऐच्छिक हो, तर अहिले यसलाई अनिवार्यझैँ मानेको देखिन्छ । आफूभन्दा कमजोर मानिससँग पनि सम्पत्ति क्लेम गरेका अनेक उदाहरण छन् । लाग्नेको कमाइ नभएकाहरूले सासूससुराको सम्पत्ति क्लेम गर्ने कानुन कति सही हो या होइन शायद यो विषयमा अब बहस हुनु आवश्यक छ । त्यसो त, सम्पत्तिमा विल सिस्टम भयो भने यी सब कुराहरू स्वतः हराएर जानेछन् । आत्मनिर्भर नभएका महिलाको हकमा सम्पत्ति दाबी ठीकै होला, तर जो आत्मनिर्भर छन् तिनले आत्मनिर्भर नभएका पुरुषका सवालमा शायद सोच्नु जरुरी हुन्छ । कुनै जमाना थियो छोरी पाउने बाबुआमालाई दुःखी र बिचरा ठानिन्थ्यो । तर, समयक्रममा अहिले धेरै बाबुआमाहरू छोरा पाउनुको पीडा भोगिरहेका छन् ।

सम्बन्ध भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो । कसको के कारणले सम्बन्ध टुट्छ भन्नै सकिन्न, तर हाम्रो कानुनले खान–लाउन नदिएको, कुटपिट गरेकोजस्ता कुरालाई मात्र महत्व दिँदा आफूले कहिल्यै त्यसो नगरेका बाबुआमालाई जिन्दगीमा नगरेको गल्तीको आरोप लागेको महसुस हुने गरेको छ । त्यसैले कानुनमा अब कुरा नमिलेको या सिद्धान्त, व्यवहार के–के नमिलेको हो जे नमिलेको त्यही लेख्ने व्यवस्था हुनुपर्ने देखिन्छ । छोराछोरी या बाबुआमा भनेर मात्र हुँदैन, सबैको आ–आफ्नै प्रकारका एटिच्युडहरू हुन्छन् । छोराले मिलाउन नसकेको मनको मूल्य बाबुआमाले किन तिर्ने ?

साभार ःधटना र विचार





Leave a comment

Your email address will not be published.


*