बिहे गर्न बसेको जग्गेबाट बेहुली भागेपछि के गर्ने ? – मनोज ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक

          |   प्रकाशित मितिः शनिबार, मंसिर ४, २०७३     ::: 374 पटक पढिएको   |  

चार्टर्ड एकाउण्टेण्ट मनोज ज्ञवाली ज्योति विकास बैंकको नायब प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालिरहेका छन् । नेपाल राष्ट्र बैंकमा पाँच वर्ष काम गरेर ग्लोबल आईएमई बैंकको बिभागीय नेतृत्व सम्हाल्दै आठ वर्ष समय बिताएका ज्ञवालीले केही समय जलविद्युत क्षेत्रमा समेत हात हाले तर उनलाई बैंकिड. करियरले फेरि तान्यो  । पाँच महिनादेखि ज्योति विकास बैंकमा कार्यरत ज्ञवालीसँग मेरोलगानीका परमेश्वर अधिकारीले गरेको कुराकानी ।

झिमरुक विकास बैंकलाई आफुमा मिलाएपछि अब ज्योतिको यात्रा कतातिर हुन्छ ?

म यो बैंकमा आवद्ध हुनु पहिले नै यो सम्झौता भएको थियो । यस मर्जले बैंकलाई अगाडि बढ्न केही आधार दिएको छ । विगतमा देखिएका समस्याहरु अहिले सुल्झिएका छन् । खराब कर्जालाई उचित ढंगले व्यवस्थापन गर्न सकेका छौं । एसेस्टको पोर्टफोलियोको समिश्रण अनि त्यसका जोखिमलाई उचित व्यवस्थापन गर्न सक्नु नै हाम्रो उपलब्धि हो । एसेस्ट, यिल्ड र डिपोजिटको पोर्टफोलियो अहिले एकदमै राम्रो अवस्थामा छ । यसले गर्दा वाणिज्य बैंकहरु ९ प्रतिशतको कल एकाउण्टमा समेत आत्तिन पर्ने अवस्थामा हामी वाणिज्य बैंकको लोन स्वाप गर्न सक्ने हैसियतमा आएका छौं । सिसिडी अनुपात ७५ प्रतिशतभन्दा तल छ जसले गर्दा पनि निक्षेप र कर्जाप्रवाहमा सन्तुलन गर्दै अघि बढ्न हामीलाई सहज भएको हो । प्रथम त्रैमासिक वित्तीय विबरणमा पनि यसका केही संकेतहरु आएका छन् र समग्रमा राम्रो अवस्था देखिएको छ ।

तर पनि ज्योतिको पहिलो त्रैमास सन्तोषजनक देखिएन नि ?

व्यवसाय बिस्तारको कुरा गर्ने हो भने म तपाईको कुरामा केही हदसम्म सहमत छु । त्यो बाहेक अरु विषयमा गत वर्षको यसै अवधिको तुलनामा झण्डै एकसय ६० प्रतिशतको प्रगति हुँदा नराम्रो भन्न नमिल्ला कि ? ठूलो ऋणहरुका कारणले पनि केही हकसम्म व्यवसाय बिस्तारमा संकुचन देखिएको हो । यस्ता अरु पनि समस्याहरु छन्, व्यवस्थापकीय रुपमा यस्ता लोनलाई निष्कर्षमा पुर्याउन नसक्नु लगायत कारणले दशक लामो यात्रामा ज्योतिले केही हदसम्म व्यवसाय बिस्तार गर्न नसकेको हो । तर विगत पाँच छ महिनाको अवधिमा यी सबै विषय सुधारिएका छन् । यसले अब राम्रो बाटो समाति सकेको हुनाले हामी राम्रो गन्तव्यमा पुग्छौं भन्ने हाम्रो सोच हो । अब दोस्रो त्रैमासमा हामी तपाईले भनेको अपेक्षा भन्दा माथि उक्लिएर प्रगति विबरण सार्वजनिक गर्छौं, ढुक्क हुनु भए हुन्छ ।

ज्योति बिकास बैंकको पूँजी वृद्धिको अबको बाटो के हो ?

९९ करोडको हाराहारीमा रहेको अहिलेको पूँजी बोनस बितरण पश्चात एक अर्ब ११ करोडको हाराहारीमा पुग्छ । त्यस पछि शतप्रतिशत हकप्रदबाट हामी २ अर्ब २२ करोडको पूँजी भएको बैंक बन्नेछौं । यस बीचमा केही वित्तीय संस्थाहरुसँग कुरा पनि चलिरहेको छ सहकार्य गरेर अघि बढ्नका लागि । २५ करोडको हाराहारीमा हामीले कमाईलाई नै पूँजीकृत गर्ने योजना भएकाले पाँच छ करोड रुपैंया पूँजी थप गर्न हामी कुनै संस्थाको सहयोग लिन्छौं ।

भने पछि तपाईहरु मर्जमा जाने सम्भावना अझै छ ?

आफ्नो अस्तित्व गुमाउने गरी हामी मर्ज वा एक्वायरमा जाँदैनौं । विगतमा पनि लामो समय हाम्रो बैंकको शेयर कारोबार हुन नसकेको तितो यथार्थलाई ध्यानमा राखेर नै हामी अब मर्जरमा नजाने नीतिमा अघि बढेका हौं । कुनै राम्रो किसिमको सानो संस्थालाई एक्वायर गरेर हामी अढाई अर्बको पूँजी भएको राम्रो बैंकका रुपमा स्थापित हुन्छौं । मर्ज हाम्रो विकल्प हैन, यसका लागि एक्वायरको बारेमा स्वापमा हामी लचिलो भएर जाने सोच छ ।

हाम्रो विकास बैंकले साथ नछाडिदिएको भए त तपाईले भनेको जस्तै हुने रहेछ नि हैन ?

हाम्रो योजना नै त्यही थियो । तर एउटा भनाई छ ‘मर्जर्स आर लाईक कर्पोरेट म्यारिज’ यस्तै भयो । बिवाह गर्न बसेको जग्गेबाट बेहुली भागे जस्तै भयो । हाम्रो विकास बैंकले विशेष साधारण सभाबाट मर्जरको प्रस्ताव पारित गराउन नसके पछि हामीले अरु विकल्प सोच्नु परेको हो । हिजोका दिनमा हामीसँग रहेको ठूलो ऋणलाई देखाएर नै हाम्रो विकास बैंकले फरक बाटो समातेको थियो । तर आजका दिनमा यदि त्यो मर्जर भएको थियो भने सम्भवत वहाँहरुले समस्याको विषय उठान गर्न पाउनु हुने थिएन । आजका दिनमा ज्योतिमा नआएकोमा पछुतो छ होला साथीहरुलाई जस्तो मलाई लाग्छ । किनकी वहाँहरुले जे कुरा औल्याउनु भएको थियो, त्यो त अहिले समाधान भैसकेको छ ।

पूँजी एकाएक दोब्बरभन्दा धेरै बढ्दा त्यही अनुपातमा कमाई बढाउन कति चुनौती देख्नु भएको छ ?

यसमा हामी काल्पनिक भन्दा व्यवहारिक भएर ठोस योजना बनाएर अघि बढ्ने हो । यसै अनुसार नै कामहरु भएका छन् । बोल्ने कुराप्रति जिम्मेवार त हुन पर्यो नि । विगतमा कुनै पनि वित्तीय संस्थाले २० प्रतिशतको प्रगति गर्दा मनग्गे हो भन्ने बुझाई थियो । तर अहिले त एकाएक चार गुणाले त्यसलाई बढाउनु पर्ने अवस्था आयो । रातारात यस्तो प्रगति गर्न नसकिने हैन, तर यसले स्क्रिनिङमा समस्या निम्त्याउँछ । यसले गर्दा पूँजी चार गुणा बढे अनुसारको प्रगतिलाई खराब कर्जाका रुपमा रुपान्तरण हुन नदिने गरी प्रतिशेयर आम्दानीको सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्नेमा निरन्तर गृहकार्य गरिरहेका छौं ।

यसका लागि चुनौती छन्, खरिद ऐनका कारण कतिपय ऋणमा हामी हात हाल्न सक्दैनौं । तर जलविद्युत आयोजनामा ५० करोडसम्मको ऋण प्रत्याभुत गरेर गएको अवस्थाले हामीलाई पुरातनवादी सोचमा आधारित रहेर आम्दानी वृद्धि गर्नु पर्ने अवस्थाबाट बाहिर निस्किन सक्ने बनाएको छ । यसमा राम्रो बैंकहरुसँगको सहकार्यमा मात्र यो काममा अघि बढ्छ । हामी प्रतिशेयर आम्दानी कुनै पनि हालतमा सन्तुलन गर्दै त्यसलाई अझै बढाउने मार्गमा लाग्छौं । अघि पनि मैले भने ज्योति विकास बैंकमा यो आधार देखेर नै म केही वाणिज्य बैंकमा आवद्ध हुन आएका प्रस्ताव छाडेर यहाँ आएको हुँ । मिलेर काम गर्न सक्नु ठूलो कुरा हो, यो संस्थामा त्यो वातावरणले पनि मलाई हौस्याएको छ । दोस्रो त्रैमासमा व्यवसाय बिस्तारको वास्तविक रुप देख्ने कुरा अघि भनिसके, यो वर्षको अन्त्यसम्ममा ज्योति विकास बैंकले हिड्ने बाटो के हो र यसले कसरी आफुलाई उत्कृट रुपमा स्थापित गर्छ भन्ने संकेतका सबै प्यारामिटर्स हेर्न पाउनु हुनेछ ।

हकप्रद निष्काशनको प्रक्रिया सरलीकृत गर्न रेटिङ गर्नु पर्ने व्यवस्था हटाए पनि संस्थापकहरुको कारणले ढिलाई भैरहेको छ नि ?

खासमा यो संस्थापक र साधारण भनेर वर्गीकरण गर्ने प्रणाली नै उचित हो भन्ने मलाई लाग्दैन । ढिलाईका कुरा गर्दा संस्थापकको आयश्रोतलाई अनिवार्य गरिएकोले केही ढिलाई भएको होला, यसलाई सकरात्मक मान्नु पर्छ । तर अहिले शेयर बजार क्रमिक रुपमा ओरालो लागेका कारण कतिपय संस्थाका संस्थापकहरुले बजारको अवस्था के होला भन्ने आँकलन गर्दै हतार गरेर लगानी गर्न डराईरहेको अवस्था हो । बजार अहिलेको अवस्थामा रहने र केही सकरात्मक बाटोमा जाने हो भने धितोपत्र बोर्डमा गएर प्रक्रिया रोकिराखेका संस्थाका साथीहरु पनि सकारात्मक बन्छन् भन्ने लाग्छ । तर विकल्पका रुपमा त संस्थापक शेयर पनि लिलामबाट बिक्री गर्ने अवस्था हुन्छ । यसले साधारण लगानीकर्तालाई पनि अन्यौलतामा धकेल्ने भएका कारण संस्थाहरुले पनि संस्थापकहरुलाई पर्खिरहेका हुन् । र संस्थापकहरुले हकप्रदमा पैसा त हाल्छन्, अहिलेको बजारले पनि त्यसलाई प्रोत्साहित गर्छ । एनसीसीको हकप्रद लामो समय रोकिएर केही ढिला गरेर आएको उदाहरण त हामीसँग छ नि ।

अब ज्योतिको सम्बन्धमा कुरा गर्दा सबै संस्थापकहरु सकरात्मक हुनुहुन्छ । संस्थापकको हकमा तोकिएको मापदण्ड पुरा गर्नुपर्ने शेयरधनीको संख्या आधा दर्जनभन्दा कम छ भने वहाँहरु सबै जना तयारी अवस्थामा हुनुहुन्छ, हाम्रो हकप्रद तीब्र गतिमा प्रक्रियामा जान्छ ।

बैंक तथा वित्तीय संस्थाले लगानीको विविधिकरण गर्न सकेका छैनन् भनिन्छ, ज्योतिले के गर्दैछ ?

कुनै पनि बैंक तथा वित्तीय संस्थाले निशुल्क रुपमा सेवा दिन सक्दैनन् । कुनै न कुनै रुपमा आम्दानी हुनै पर्छ तर जिम्मेवारीबाट हामी पन्छिनु पनि हुँदैन । अब मुलुकको विकासका लागि गर्ने लगानीका सम्बन्धमा हामी मात्र त जिम्मेवार हुन सक्दैनौं, नियमकले पनि त्यसै अनुसारको व्यवस्थाका लागि नीति नियम त बनाइदिन पर्यो नि ।

हामीले व्यवसायिक उत्तरदायित्व बहन गर्दै देशको पनि सेवा गर्ने हो । अघि भनेजस्तै सेवा गर्दा गर्दै हामीले हाम्रो
प्रतिशेयर आम्दानीलाई त खस्किन दिनु भएन । कमाई बढी हुने अनि सुरक्षित क्षेत्रमा मात्र हामी लगानी गर्छौ, अब असुरक्षित अनि कमाई पनि नहुने क्षेत्रमा बैंक वित्तीय संस्थाले किन लगानी गर्छन ? यसैले हो विविधिकरणका मुद्धामा बहस चलेको । म आफ्नै उदाहरण दिउँ ? ग्लोबल आईएमई क्यापिटलबाट बाहिरिए पछि म केही समय जलविद्युत क्षेत्रमा सक्रिय भएँ र मेरो अनुभव के हो भने दशौं वर्षसम्म कुनै पनि जलविद्युत आयोजनाको निर्माण सुरु हुन नसक्ने अवस्थाहरु देखियो । अब प्रतिफल लिने बेलामा निर्माण नै सुरु नहुने क्षेत्रमा किन लगानी अभिवृद्धि गर्ने ? हामीले नेटवर्थ राम्रो भएको, इक्विटि अफ फण्ड डिपोजिट गर्न सक्नेखालका राम्रा आयोजनामा मात्र लगानी गर्ने हो । जसले व्याजको जोखिम मात्र वहन गर्नु परोस न कि पुरै व्यवसायको । नत्र त हामीले नै सहायक कम्पनी खोलेर काम सुरु गरे भैहाल्यो नि ।

अब कृषिको कुरा गर्दा राष्ट्र बैंकले १५ प्रतिशतसम्म जाउ भनेको छ, म रहेको संस्थाले पहिले नेपालगञ्जमा त्यसै अनुसार कृषिमा लगानी बिस्तार गर्ने कामलाई तिब्र बनायो । जस अन्तरगत ५० हजारदेखि १५ लाखसम्म कृषि कर्जा दियौं, तर अहिले न त्यो झुपडी भेटिन्छ, न त्यो मान्छे भेटिन्छ । दिनभरी हाम्रा स्टाफ त्यही ५० हजारको व्याजका लागि दौडधुप गरिरहेका छन् । ग्लोबल आईएमई बैंकले यस्तै समस्याका कारण यस्ता कर्जा दिने काम नै अहिले बन्द गरेको छ, सोध्नु भए हुन्छ । यो त सरकार अनि नियमकले नीति नियमबाट सहज बनाइदिए त हामीले लगानी बिस्तार गर्ने हो । नत्र हामी आफु जोखिमको काम गर्दैनौं । बचतको व्याज अनि लगानीकर्ताको नेटवर्थ त बचाउनु पर्यो । अनि मात्र तेस्रो प्राथमिकतामा यस्ता काम गर्ने हो । यस्तो वाताबरण नबन्दा समस्या रहिरहन्छ ।

आजको मितिमा दुईअर्ब पूँजी भएका वाणिज्य बैंकको भुमिका अब अढाई अर्बको पूँजी बन्ने विकास बैंकसँग त रहेन नि ?

हिजो दक्षताका हिसावमा विकास बैंकहरुको भुमिका अलि संकुचित बनाइएको मेरो अनुभव हो । आज नन्फण्डेड विजनेश गर्न विकास बैंकरुलाई खरिद ऐनले दिँदैन । जसले गर्दा सरकारको सुरक्षा कोषहरुमा हाम्रो कुनै सहभागिता हुन पाउँदैन । संसदबाट विधेयक संसोधन गरेर गए मात्र यो विषयमा एकरुपता आउन सक्छ, अरु विकल्प छैन । बैंकर्स संघ मार्फत यो विषय उठान गर्ने तयारी त छ, तर कानुन फेर्ने कुरा त्यति सहज त छैन । एलसीको हकमा हामीले एउटा वाणिज्य बैंकसँग सहकार्य गरेर काम गरिरहेका छौं भने स्टक हाइपोथेसिसमा लोन दिनलाई राष्ट्र बैंकले रोक लगाएको छ । विकास बैंकलाई कोलाटरल बेसमा मात्र कर्जा प्रवाह गर्न भनिएको छ । अब यसमा के हुन्छ भन्ने त भोलिका दिनले देखाउँछ । यी तीन कुरामा विकास बैंकले बाटो पाउने हो भने भुमिकामा पनि एकरुपता आउँछ ।

चार गुणाले पूँजी वृद्धि भए पछि बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धिमा पुर्ण बिराम लाग्ने हो ?

हामी यहाँ अहिले नियमकले तोकेको चुक्ता पूँजीको मात्र कुरा गरिरहेका छौं । मेरो बिचारमा यो नै अन्तिम विन्दु हैन । किनकी हिजोका दिनमा दुई अर्ब पूँजी बनाउन वाणिज्य बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको थियो । तर त्यो बेलामा नै नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो चुक्ता पूँजी पौने चार अर्ब बनाई सकेको थियो । व्यवसाय बिस्तार गर्नका लागि उनीहरुले पूँजीलाई पनि बढाएर लगेका थिए । ज्योति विकास बैंक नै ६४ करोड पूँजी बनाउनु पर्ने मापदण्ड हुँदा ७४ करोड पूँजी भएको बैंक भएर बसेका थियौं । भनाईको तात्पर्य यो हो कि नियमकको मापदण्डले पूँजीलाई एउटा विन्दुमा पुर्याए पनि प्रगति गर्दै जाने संस्थाहरुले पूँजी वृद्धिको क्रमलाई निरन्तरता दिन्छन् र हाम्रो हकमा पनि कुरा त्यही नै हो । अढाई अर्ब पूँजीले हामी २० देखि २५ अर्बको व्यपार गर्न सक्छौं र यो कुनै ठुलो कुरा हैन । हामीले अलि ठूलो आयोजनामा सहभागी हुन पर्यो भने अहिलेको बीस पच्चीस अर्बले दिँदैन र सकिँदैन । एउटै आयोजनामा सबै पैसा लगानी गर्ने पनि कुरा भएन । अहिले हामीले पहिलो अढाई अर्ब पुर्याउनु छ, तर हाम्रो यात्रा यतिमा नै रोकिँदैन । हाम्रो लक्ष्य वाणिज्य बैंक बन्ने हो ।

नियमकले तोकेको पूँजी बल्ल पुर्याउने अनि आलटाल गरेर बस्ने भन्ने भएको भए त अहिले नै मर्जरमा गएर अस्तित्व विलय गरिन्थ्यो होला । किनभने राष्ट्र बैंकले नयाँ संस्था जन्माउन मात्र रोक लगाएको छ, भएको संस्थाको क्षमता बिस्तारमा कुनै रोक लगाएको छैन । त्यही भएर बैंक तथा वित्तीय संस्थाले ४ गुणा पूँजी बढाए पछि ‘ह्वाट नेक्ष्ट ?’ भन्ने प्रश्न संस्थासँग हुन्छ तर नियमकको मापदण्डमा मात्र हुँदैन । क्षमता बिस्तारको प्रक्रिया निरन्तर चलिरहन्छ । अन्तर्राष्ट्रिस्तरमा स्तरमा सञ्चालित संस्थाको पूँजीका अगाडि हाम्रो अवस्था ज्यादै सानो हो । चार गुणाले पूँजी वृद्धिको कुरा भएकाले ठूलो फड्को मार्नु परेको जस्तो लागेको मात्र हो ।

याे अन्तरवार्ता मेराे लगानीवाट साभार गरिएकाे हाे ।





Leave a comment

Your email address will not be published.


*