सामाजिक सद्भाव, मेलमिलाप र स्वतन्त्रताको पर्व माघी

          |   प्रकाशित मितिः आइतवार, माघ २, २०७३     ::: 271 पटक पढिएको   |  

विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, थारु जातिका लागि माघी पर्व एउटा महत्वपूर्ण पर्व हो । यो पर्व थारु जातिको इतिहास, सँस्कृति, परम्परा, रितिरिवाज, पहिचान र अस्तित्वसँग जोडिएको छ । नयाँ वर्षको रुपम समेत लिइने यस पर्वको महत्व ठूलो छ । माघी पर्व थारु समुदायले नयाँ बर्ष, स्वतन्त्रता, सामाजिक सद्भाव र प्रजातान्त्रिक प्रणालीको नमुनाको रुपमा लिइन्छ । थारु समुदायले माघी पर्व कम्तिमा पाँच दिन मनाउने गर्दछन् । पौष मसान्तको अघिल्लो दिन नजिकैको ताल, नदी, पोखरी र कुलो वा नहरमा गएर माछा मार्ने प्रचलन रहेको छ । माघे सक्रान्तिका दिन आलो मासु देखाउन हुँदैन भन्ने पौराणिक मान्यता अनुसार पौष मसान्तका दिन नै सङ्गुर, बङ्गुर काट्ने गर्र्दछन् ।

धार्मिक, सामाजिक, साँस्कृतिक पर्व
माघ १ गते नदी, ताल वा पोखरीमा गएर माघी नुहाउने कार्य नै माघी पर्वको सवैभन्दा ठूलो बिशेषता हो । माघी नुहाउँनका लागि पौष मसान्तका दिन बरघरको घरमा रातभर धुम्रु र छोक्रा नाँचगान हुन्छ । नाँचमा बुढादेखि युवासम्म सहभागी हुन्छन् । रातभर जाग्राम बसेर नाँचगान गरेकाहरु भालेको डाँकोसँगै नाँचगान गर्दै नदी, ताल र पोखरीमा गएर नुहाउने चलन छ । नुहाई सकेपछि फेरी नाचगान गर्दै घर फर्किने परम्परा रहि आएको छ । आफूभन्दा मान्यजनसँग चामलको सेतो टिका थाप्ने र आशिर्बाद लिने गरिन्छ । थारु जाति प्रकृति पुजक भएकोले प्रायःजसो सेतो टिका लगाउने गर्दछन् ।
Sadbhav ra melmilab (3) Sadbhav ra melmilab (4) Sadbhav ra melmilab (2) Sadbhav ra melmilab (1)नुहाएर घर आउनेहरुको शुभ साइतका लागि गाउँको गल्ली र सडकमा कलश राखिएको हुन्छ । साइतका लागि राखिएका कलशहरुमा नुहाएर फर्किनेहरुले आफ्नो दक्षता अनुसार रुपैयाँ, पैंसा हाल्ने चलन अझैँ पनि कामयमै छ । नुहाएर घर जानासाथ केहि नखाएर तीलको आगो ताप्ने तथा मास (उर्द), नुन र चामलको ‘निस्राउ काढ्ने’ गरिन्छ । नुन, मास र चालम एउटा भाँडोबाट तीन, पाँच या सात अन्जुली एउटा भाँडोबाट अर्को भाँडोमा राख्नेलाई नै निस्राउ काढ्ने भनिन्छ ।
निस्राउ काढेको नुन, चामल र मास आफ्नो चेलीबेटीलाई दक्षिणा दिने प्रचलन छ । निस्राउ काढेर सकेपछि आफूभन्दा ठूलालाई साइनो अनुसार ढोगभेट गरेर मात्र खानपिन सुरु गर्दछन् ।
माघे सक्रान्तिको मुख्य परिकार चामलको ढिक्री, अनदी चामलको रोटी, जाँड, रक्सी र माछा, मासु हो । माघ १ गतेको साँझ यूवायूवती भेला भएर मघौटा नाँच नाच्ने र रुपैयाँ, पैंसा लुट्ने–लुटाउने प्रचलन थारु समुदायमा अहिले पनि कायमै छ । माघे सक्रान्तिको दिन थारु जातिले ‘भौजी भौजी कहनु भौजी नही बोलली रे हाँ……..। सखिए हो भौजीक सेन्डुरा लेहनु लगा र सखिय हो’ जस्ता मर्म स्पर्षी गीत गाएर वर्ष दिनको थकान मेटाउने गर्दछन् ।
माघे सक्रान्तिका दिन थारु समुदायमा नाँचिने मघौटा नाँचको बिशेष महत्व छ । बुढापाकाले आफ्नै किसिमका गीत गाउँछन् भने यूवायूवती र केटाकेटीले आफ्नो उमेर मिल्ने गीतमा नाचगान गरि रमाइलो गर्दछन् । पछिल्लो पुस्ताका यूवायूवतीले मघौटा गीतको लय फरक पारेर गाउन थालेका छन् । ‘घरक वरीपरि फुलवा लगावै रे हाँ…….। सखिय हो फुलवा फुलल एजुरार र सखिय हो ।’ मघौटा नाच माघको पाँच गतेसम्म नाच्ने गर्दछन् ।

सामाजिक सद्भाव तथा मेलमिलापको पर्व
माघ १ गतेलाई पुरुषको माघी भनिन्छ । भने, माघ २ गतेलाई महिलाको माघी भन्ने गरिन्छ । माघ १ गते प्रायःजसो पुरुषले घर–घरमा गएर माघी मनाउँने गर्दछन् भने माघ २ गते महिलाले माघी मनाउने प्रचलन रहेको छ । माघ १ गते गाउँका यूवाको समूह घर–घरमा गएर माघी मनाउँने गर्दछन् ।
माघी मान्न घर–घर जानासाथ आफूभन्दा ठूलालाई ढोगभेट गरेर माघीका लागि बनाइएका परिकार खाने प्रचलन छ । वर्ष दिनभर भएका हिन्दू धर्ममा आस्था राख्नेहरुले होली पर्वलाई मेलमिलाप एवम् भातृत्वको पर्व भने झैं थारु जातिले माघी पर्वलाई मेलमिलाप पर्वको रुपमा लिने गर्दछन् ।
झैँ–झगडा वा विवाद भएर बोलचाल बन्द भएकाहरु समेत माघी पर्वमा एकआपसमा साइनो अनुसार ढोगभेट गरेर एकैसाथ बसेर एक अर्काे घरमा पाकेका परिकार खाएर रमाईलो गर्ने भएकोले पनि थारु जातिका लागि माघी पर्व मेलमिलाप र सामाजिक सद्भावको पर्वका रुपमा लिने गरिन्छ । वर्षभर बोली बाराबार गरेकाहरु समेत माघी पर्वका अवसरमा बोचचाल सुरुवात गर्दछन् । यसले एकआपसमा भएका तिक्तता अन्त्य भई समाजमा सद्भाव तथा मेलमिलाप कायम हुने गरेको छ ।

नयाँ वर्ष र विकासका योजना बनाउने पर्व
माघे सक्रान्तिका दिन रमाईलो गरेर पर्व मनाएका थारु जातिले माघ २ गतेलाई माघी डेवानीको रुपमा मनाउँछन् । माघ २ गतेलाई थारु जातिले खोज्नी बोझ्नी (माग्ने र दिने ) दिनको रुपमा समेत लिने गर्दछन् । माघी डेवानीका दिन परिवारका सदस्यले घरमुलीसँग र गाउँबासीले मटावाँ÷बरघरसँग हिसाव, किताव प्रगति विवरण माग्ने, आगामी दिनको योजना खोज्ने भएकोले माघ २ गतेलाई खोज्नी बोझ्नी भनिएको हो ।
बिहान घरका स–परिवार बसेर बर्षदिनमा भएका राम्रा नराम्रा कामको समिक्षा र आगामी बर्षका लागि कार्ययोजना बनाउने भएकोले माघे सक्रान्तिमा परिवारका सवै सदस्य घरमा भेला हुने गरेको बैजापुरका थारु अगुवा लाहुराम थारुले बताए । अंश बण्डा, घर छुट्टिने, विवाह गर्ने, घर बनाउने, जमिन खरिद गर्ने, घरको घरढु¥या (मुली) चयन गर्ने लगायतका महत्वपूर्ण कार्यको छिनोफानो माघी डेवानीका दिन नै हुन्छ ।
यसैगरि अधिया खेत जोत्नेहरुले माघी डेवानीकै दिन जमिन मालिकको घरमा गएर जोत्नका लागि जमिन माग्ने गर्दछन् । त्यसै दिन नै के–के शर्तमा खेतबारी जोत्ने निक्र्यौल हुन्छ ।
कमैया मुक्ति हुनुभन्दा पहिले माघी डेवानीकै दिन कसको घरमा कमैया बस्ने ?, कति ज्यालामा काम गर्ने ?, कमैया छोड्ने, सौंकी कसले तिरिदिने ? लगायत कार्यको छिनोफानो हुन्थ्यो भने कम्लहरी मुक्ति हुनुभन्दा पहिले बाबुआमा र मालिक वीच कति ज्याला र कति समयका लागि कम्लहरी पठाउने ? निर्णय यसैदिन हुने गर्दथ्यो ।

प्रजातान्त्रिक प्रणालीको संरक्षण
घरको सरसल्लाह गरिसकेपछि माघ २ गते नै प्रत्येक घरबाट एकजना गाउँको (मटावा÷बरघर) कहाँ जाने र सवैसँगै बसेर गाउँको बिकास निर्माण लगायतका बिषयमा छलफल हुन्छ । गाउँको मटावाँले राम्रो काम गर्न नसकेको गाउँलेलाई महशुस भए सवैको सहमति अनुसार नयाँ मटावाँ चयन हुन्छन् । तर, मटावाँ चुन्ने बेला बहुमतको आधारबाट गरिन्छ । सबैको एकमत भएमा मात्र मटावा फेर्ने या उसैलाई कायम गर्ने भन्ने निक्र्यौल हुुने गरेको थारु सँस्कृतिका जानकार एकराज चौधरीले बताए । मटावाँ चयन गर्ने क्रममा बहुमतको आधारमा गरिए पनि अल्पमतको समेत कदर गरिन्छ ।
माघी डेवानीकै दिन गाउँको मटावाँले पनि महटाईँ अर्थात गाउँको विकास निर्माण र झैँ–झगडा मिलाए बापत आफूले पाउने सेवा सुबिधाको माग गाउँ सभामा राख्दछन् । गाउँको बिकास, निर्माण र गाउँमा हुने स–साना झैँ–झगडा र बिबाद मिलाउन मटावाँले महत्वपूर्ण भूमिका खेल्नु पर्ने भएकोले पनि मटावाँको स्थान गाउँमा उच्च हुन्छ ।
मटावाँले दिएको आदेश गाउँलेले अस्वीकार गर्न मिल्दैन । तर, असहमति राख्न र सुझाव दिन भने पाइन्छ । माघी डेवानीका दिन मटावाँको घरमा भेला भएकाहरुले आफ्नो मनमा लागेको तितामिठा कुरा असन्तुष्टि खुलेर ब्यक्त गर्दछन् । त्यसैले यस पर्वका अवसरमा मटावाँ चयन गर्ने विधि र योजना बनाउने प्रक्रिया प्रजातान्त्रिक प्रणालीको जिवन्त नमुना भएको दावी थारु समुदायले गर्दै आएका छन् ।

स्वतन्त्रताको पर्व
माघी पर्वमा थारु जातिका सवै जना स्वतन्त्र हुन्छन् । कसैलाई कसैले रोकतोक र कामकाज लगाउँदैन । माघ १ गते स्वतन्त्र रुपले माघी मनाएका पुरुषले माघ २ गते महिलालाई माघी मनाउने अवसर दिन्छन् । त्यस दिन बालकदेखि बृद्धसम्मले आफूलाई मन पर्ने खाने कुरा खाने गर्दछन् ।
माघी पर्वमा कसैलाई कसैको घरमा जान रोकतोक हुँदैन । खानपीन गर्नमा पनि बन्देज लगाइदैन । माघ २ गते महिला पनि पुरुष जस्तै घर–घरमा गएर माघी मनाउने गर्दछन् । उक्त दिन महिलालाई पुरुषले खानपीन गर्नमा अवरोध खडा गर्न नपाउने भएकोले महिलाहरु निस्फिक्रीका साथ माघी मनाउने गर्दछन् ।
माघी पर्वका अवसरमा कमैया, बुक्रही र कम्लहरीले मालिकको घरबाट विदा पाउने गर्दथे । माघ १ गते नै कमैया, बुक्रही र कम्लहरीको वर्षदिन पुग्ने भएकोले पनि कमैयाहरुले माघ १ गतेलाई मुक्तिको दिन (स्वतन्त्रता) दिनको रुपमा लिने गर्दथे ।
यसैले माघे सक्रान्ति थारु समुदायका लागि धार्मिक, सामाजिक, साँस्कृतिक पर्व, सामाजिक सद्भाव तथा मेलमिलाप कायम गर्ने पर्व, नयाँ वर्ष तथा विकासका योजना बनाउने र स्वतन्त्रता पर्वको रुपमा लिने गरेको एकराज चौधरीले बताए ।

माघी पर्वको संरक्षणमा गैर थारुको चासो
आफ्नो कला सँस्कृतिको माया गर्नेहरुले अन्य जातिको कला, सँस्कृतिको सम्मान गर्नसके सामाजिक सद्भाव बढ्ने बुझेर गैर थारु जातिले समेत माघी पर्वका राम्रा पक्षको कदर गर्दै माघी महोत्सव गर्न थालेका छन् । यस पर्वको अवसरमा दाङको रिहार, बाह्रकुने दह, बैवाङको सतिदेवी मन्दीर, बाँकेको भुवरभवानी, बागेश्वरी, बर्दियाको ठाकुरद्वार मन्दीर, कैलालीको घोडाघोडी मन्दीर लगायतका स्थानमा ठूलो मेला लाग्ने गरेको  छ ।
माघी पर्वको महत्व पछिल्लो समयमा बढ्दै गएकोले पहिले थारु समुदायमा मात्र सिमित रहेको यो पर्व अहिले अन्य समुदायले पनि मनाउने, संरक्षण गर्ने र प्रचारप्रसार गर्नतर्फ लागेका छन् । यसको फलस्वरुप पश्चिम नेपालका विभिन्न जिल्लामा हरेक वर्ष माघी महोत्सव हुन थालेका  छ । यस वर्ष दाङको चखौरा र बाँकेको मैटहवामा माघी महोत्सव हुने भएको छ ।
उता, बर्दियाका बह्रैयामा पनि माघी महोत्सव सुरु भएको छ । यस महोत्सवको पनि गैर थारुले नेतृत्व गरेका छन् । थारु पत्रकार संघ बाँकेले नेपालगन्जमा गरेको माघी मिलन कार्यक्रममा पनि गैर थारुले सहभागिता जनाएर थारु समुदायको माघी पर्व एवम् नयाँ वर्षको स्वागत गरेका छन् । कैलाली र कंचनपुरमा पनि यस वर्ष माघीको अवसरमा विभिन्न कार्यक्रम हुने भएका छन् ।

फाइल फाेटाहरू हुन ।





Leave a comment

Your email address will not be published.


*