मेरो बुझाइमा बालमैत्री विद्यालय

          |   प्रकाशित मितिः बिहिबार, भदौ ३, २०७२     ::: 1981 पटक पढिएको   |  

: आत्माराम भट्टराई

आजभोली हामी हरेकको मुखबाट बालमैत्री विद्यालय भन्ने शब्द सुन्न पाइरहेको छौं । सबैले यो शब्दको वाचन गर्नुको अर्थ के हुनसक्छ भने बालमैत्री विद्यालयको आवश्यक्ताको महशुस हुन थालेको छ । भलै बालमैत्री विद्यालय हुनलाई के के पूर्वाधारहरु तथा सूचकहरु आवश्यक पर्दछन सो कुरामा अनभिज्ञ भए पनि विद्यालय बालमैत्री बनाउनु पर्दछ भन्ने तर्फ सबैको ध्यान आकृष्ट भएको पाइन्छ । तर विद्यालय बालमैत्री बनाउनका लागि एक मात्र कुरा भौतिक पूर्वाधारलाई जोड दिएको पाइन्छ । सुन्ने गरिन्छ एउटा कक्षाकोठा निर्माण गर्नुप¥यो, विद्यालय मर्मत संभार गर्नुप¥यो, शौचालय निर्माण गर्नुप¥यो वा यस्तै भौतिक पूर्वाधार विकासका कार्य गर्नुपरेमा त्यसको पछाडि बालमैत्रि विद्यालय निर्माणका लागि भन्ने गरिन्छ । के एउटा कक्षाकोठा थप्दैमा, शौचालय निर्माण गर्दैमा वा विद्यालय भौतिक पूर्वाधार सम्पन्न हुदैमा विद्यालय बालमैत्रि भइहाल्छ त ? पक्कै हुदैन । यो त मात्र एउटा आधार हो यसका पछाडि धेरै कारक तत्वहरु छन । खै बालमैत्री विद्यालयका लागि समावेशी र सक्षम विद्यालय व्यवस्थापन समितिको गठन गरेको ? विद्यालयमा बाल सहभागिता को सुनिश्चितता खै ? शिक्षक शिक्षक नभएर सहजकर्ता भएको खै ? विद्यालयले विद्यालयमा खेलकुद सामग्री, पुस्तकालय, सिकाइ सामग्री व्यवस्थापन गर्न र प्रयोग गर्न ध्यान दिएको खै ? कक्षाकोठा व्यवस्थापन कहाँ गयो ? यिनी र यस्तै पछाडी पारिएका तत्वहरु अझ बाँकी नै छन् हामीहरुले सम्झन र व्यवहारमा उतार्न ।

विद्यालयको वातावरण बालबालिका अनुकुल हुनुपर्दछ । विद्यालयमा उनिहरुलाई नियमित उपस्थिति र सिकाइका लागि स्वागतयोग्य वातावरण हुनुपर्दछ । विद्यालयमा म आफू सुरक्षित छ,ु मलाई कसैबाट भय छैन र मैले चाहेको विषय चाहेको तरीकाले सिक्न सक्छु भन्ने वातावरण बालबालिकाका लागि विद्यालयमा हुनुपर्दछ । विद्यालयमा एउटा समाजको निमार्ण हुनुपर्दछ । जहाँ बालबालिकाले सामाजिकीकरणका सीप सिकुन । सिकाइमा उनीहरुको मनोवल बढोस । उत्प्रेरणा बढोस । हौसला बढोस । साथै विद्यालय बालबालिकाका लागि रमाइलो होस र सुरक्षित होस त्यो विद्यालय नै बालमैत्री विद्यालय हो । विद्यालयमा प्रत्येक विद्यार्थीले आफूलाई भयमुक्त र सुरक्षित पाओस, संवेगात्मक रुपमा रमाइलो वातावरण पाओस, सिकाइका लागि मनोवैज्ञानिक रुपमा मनोवल उच्च हुने वातावरण पाओस र त्यसको महशुसिकरण गरोस साथै सामाजिक रुपमा आफुलाई सामन्जस्य गराउन सकोस, सो वातावरणको सुनिश्चितता गर्ने विद्यालयलाई नै बालमैत्री विद्यालय भनिन्छ ।

बालअधिकार सबैको सरोकारको विषय हो । बालबालिकाको हेरचाह, रेखदेख र अधिकार सुनिश्चितता गर्ने दायित्व हामी वयस्क कै हो । त्यसैले भयरहित, सुरक्षित तथा सहभागितामूलक वातावरणमा सिकाइ गर्न पाउने उनिहरुको अधिकार पूरा गर्न सहयोग गर्ने पनि हामी नै हौ । अर्कोतर्फ हेर्ने हो भने बालमैत्री विद्यालय पनि गुणस्तरीय शिक्षा सुधारको एक सूचक हुन सक्छ । बालमैत्री विद्यालय हाम्रो पहिचान हो । सरोकार हो र अन्तिम विकल्प पनि हो । बालमैत्री विद्यालय निर्माणले बालबालिकालाई मात्र फाइदा नभई शिक्षक र अभिभावकलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ हुन्छ । विद्यालयमा बालबालिकामात्र सुरक्षित नभई शिक्षक पनि सुरक्षित हुन्छ र उसले अहिले भोगिरहेको बोझ र विभिन्न लाञ्छनाबाट पनि ऊ मुक्त हुन्छ । शिक्षकलाई शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न सहज हुन्छ ।

बालमैत्री विद्यालय निर्माणका लागि विद्यालयले भौतिक पूर्वाधार विकास संगसंगै धेरै गरिएको हुन्छ । विद्यालयमा बाल अधिकार सुनिश्चितताका लागि योजना निमार्ण र कार्यान्वयन गरिएको हुन्छ । विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरी विद्यालयमा नियमितताका लागि विद्यालय सक्रिय रहन्छ । विद्यालय एउटा विविधताको संगम स्थल हो जहां विभिन्न किसिमका बालबालिकाहरु जस्तैः बालिका, द्धन्द्ध पिडित, बालश्रमिक, दलित, अपाङ्ग, द्धन्द्धको जोखिममा परेका, एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरु हुन्छन । विद्यालयमा ति बालबालिकाको क्षमता, आवश्यकक्ता, रुची तथा क्षमता अनुसार सिकाइ गर्न पाउने वातावरण सुनिश्चित हुन्छ । विद्यालयले विविधतालाई आदर गरी विना भेदभाव उनीहरुलाई सिकाइ क्रियाकलापमा सहभागि गराउछ र स्वयं उनीहरुविच पनि भेदभावरहित वातावरणको सुनिश्चितताका लागि अग्रसर हुन्छ ।

विविधतामा भएको एकतालाई ख्याल गरी उनीहरुको स्तर, क्षमता, रुचिका आधारमा उनीहरुका लागि उपयूक्त शिक्षण सिकाइ क्रियाकलाप संचालन गरिन्छ । पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धी पूरा गराउन विद्यालय सक्रिय रहन्छ । बालबालिकामा भएको विविध क्षमता तथा बौद्धिकतालाई मनन गरी शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्नुपर्दछ । जसकालागि विद्यालयले कम पैसा पर्ने, पैसा नपर्ने वा स्थानिय सिकाइ सामग्रीको प्रयोगमा जोड दिनुपर्दछ । विद्यार्थीको हरेक क्रियाकलापको निरन्तर मूल्यांकन गरी आवश्यक्ता अनुसार उपचारात्मक शिक्षण गरिनुपर्दछ । यी सबै गर्नका लागि शिक्षकको क्षमता अभिवृद्धि समेत विद्यालयले गराउनुर्दछ । जस्ले गर्दा शिक्षकले बोझ नठानी ऊ पेशाप्रति नैतिकवान तथा प्रतिवद्ध होओस् र आफुलाई नमूनाको रुपमा प्रस्तुत गरोस ।

विद्यालयमा हुने लंैगिक विभेदलाई उन्मूलन गरी समतामूलक वातावरण विद्यालयमा सुनिश्चित हुनुपर्दछ । दण्डरहित शिक्षण गरी बालबालिकालाई सामाजिकरणमा सहयोग गरिनुपर्दछ । कक्षाकोठामा कक्षा नियम बनाइ लागू गरिन्छ । विद्यालयमा बालिका एव अपाङ्गमैत्री वातावरण को व्यवस्था हुन्छ । विद्यालयमा हुने सम्पूर्ण गतिविधिमा बालबालिकाको सहभागिता सुनिश्चित गरिन्छ । विद्यालयका निति, नियम, योजना निमार्ण, कार्यान्वयन र मूल्याङ्कनमा बालबालिकाको सहभागिता गराइन्छ । विद्यालय व्यवस्थापन समितिको निर्णय प्रक्रियामा समावेशी रुपमा बाल सहभागिता सुनिश्चित गर्ने निति निमार्ण गरी कार्यान्वयन गरिन्छ ।

बालमैत्री विद्यालयले आफूलाई धुम्रपान र मध्यपान रहित विद्यालयको रुपमा विकास गरेको हुन्छ । खासगरी तत्लो तहका बालबालिकाको स्वास्थ्य तथा पोषणको प्रयाप्तताका लागि विद्यालयमा समूदायको सक्रियताले खोप तथा दैनिक खाजाको व्यवस्था गरेको हुन्छ । बालबालिकालाई विद्यालय भित्र तथा विद्यायल बाहिर जहासुकै हुने दुव्र्यसनी र दूव्र्यवहार विरुद्ध आफू र आफ्नो साथीभाइलाई सुरक्षित राख्ने तरिका सिकाइएको हुन्छ । आवश्यक्ता अनुसार बालबालिकालाई जिवनोपयोगी सीपहरु सिकाइएको हुन्छ । विद्यालय वातावरण स्वस्छ र स्वस्थ गराइएको हुनुपर्दछ । विद्यालय हाम्रो हो । हाम्रा बालबालिकाका लागि हो । यो समूदायको अमूल्य सम्पत्ति हो । यसले समाजको पहिचान बढाएको छ भन्ने कुराको स्विकारोक्ती अभिभावकमा गराइ अपनत्व विकास गरिनुपर्दछ । विद्यालयको आर्थिक, व्यवस्थापकिय र प्रशासनिक पक्षलाई पारदर्शी बनाई विद्यालय विकासमा अभिभावको सहभागिता सुनिश्चित गर्दछ । विद्यालय विकासका लागि समूदाय र विद्यालय एवं अन्य सरोकारवालाहरुको सहकार्य विकास गरिन्छ । विद्यालय सुधारका लागि नेतृत्व लिनसक्ने क्षमता भएको समावेशी विद्यालय व्यवस्थापन समिति विद्यालयमा हुन्छ । जहाँ विद्यालयलाई राजनितिबाट टाढा राखिन्छ । विद्यालय शिक्षा विकासमा सहयोग पुग्ने सकारात्मक चिन्तनको विकास गरिएको हुन्छ । जसका लागि विद्यालयले छुट्टै निति तथा आचारसंहिता तयार गरी लागू गर्न सक्दछ ।

विद्यालयमा यी सबै कुराको आवश्यक्ताको पहिचान गरी विद्यालयले प्रक्रिया अगाडी बढाउन सक्छ । सम्पूर्ण अभिभावक र बिद्यार्थीको सहभागितामा विद्यालय व्यवस्थापन समितिले विद्यालयलाई बालमैत्री बनाउने निर्णय गर्छ । सोहि भेलामा एसका आवश्यक सूचकहरु तयार पारिन्छ । ती सूचकहरु पूरा गर्नका लागि योजना निमार्ण गरिन्छ । जीम्मेवारी तोकिन्छ । योजना कार्यान्वयन गरिन्छ । तय गरियका सूचकहरु पूरा भएमा विद्यालयलाई बालमैत्री घोषणा गरिन्छ । जसको निरन्तरताका लागि पूनः योजना बनाइ कार्यान्वयन गरिन्छ । अनि मात्र बालमैत्री विद्यालयरुपी पालुवा विद्यालयमा पलाउन सक्छ र बालमैत्री विद्यालयको नाराले सार्थकता पाउँछ ।

लेखक सेभ द चिल्डे्न दैलेखका जिल्ला कार्यत्रम स‌याेजक हुनु हुन्छ ।





Leave a comment

Your email address will not be published.


*