‘टीट फर ट्याट’ हक्की डेकेन्द्र

          |   प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४     ::: 838 पटक पढिएको   |  

अमर सुनार
घटना १ – २०५६ असार १३ गतेको कुरा हो, एक जना रेञ्जरले ६ वर्षीया बालिकालाई चमेना बिस्कुट दिएर दैलेख बजारको डेरामा लिएर बलात्कार प्रयास गरेछन् । त्यो रेञ्जरलाई नाकमुखबाट रगत निस्कञ्जेल मुल सडक पिटे ।

२०४७ फागुन अनेरास्ववियूको प्रथम जिल्ला सम्मेलनमा म, बालकृष्ण केसी र डेकेन्द्र थापा ।

घटना २ – २०४९ जेठको महिना हो, हातमा सियो रोपिएर हातै पाकेका बडाखोलाका एक जना दर्जीको अपरेशन गर्न नमानेका जिल्ला अस्पतालका डाक्टरलाई कुर्चीमै बारियो बाँधेर, सिस्नो पानी लगाए पछि उपचार गर्न डाक्टर तयार भए ।

घटना ३ – साँसद सम्पर्क कार्यालयको लागि जोडिएको ल्याण्डलाइन टेलिफोनमा अचाक्ली महंगो शुल्क उठाएका मीनबहादुर बुढाले २०५७ मा थप्पड खाए ।

घटना ४ – जिल्ला बन कार्यालयका डीएफओले घुस खाएर बनपाले राखेको घटनामा कालो मोसो दले, यो २०५३ सालको चर्चित घटना हो ।

घटना ५ – सर्वमान्य नेता गणेशमान सिंहको मृत्यू भएको दिन २०५४ असोज २ गते न्यायाधीश, सीडीओ र डीएसपी त्यतिबेलाको पौष्टिक आहार परियोजना प्रमुखले आयोजना गरेको भोज खाइरहेको थाहा पाएर देश शोकमा डुबेको बेला भोज खाइरहेका छन् शासकहरु भनी पल्लोघरका छतबाट राति चिच्याएको विषयमा सार्वजनिक अपराध मुद्दा खेपे ।
यी सबै घटनामा आफ्नो विद्रोही स्वभाव प्रकट गरे, सधैं न्यायको पक्षमा उभिए । यो शैलीलाई अस्वभाविक उत्तेजना वा आक्रोस देखाउने मान्छे भनेर व्याख्या भयो पत्रकार डेकेन्द्र थापाको विषयमा बाचुञ्जेल खरो स्वभाव देखाए, बदमासहरुका नजर कसिंकर बने तर न्यायकाको निम्ति कहिल्यै झुकेनन् ।
पहिलो पटक २०५८ साल चैतमा तत्कालिन युद्धरत नेकपा माओवादीले दैलेख सदरमुकाम आउने खानेपानीको लाइन भवानीमै काटिदिए । पानी त युद्धको बेला पनि रोक्नु हुदैन भनेर नेपाल मानवअधिकार संगठनका तत्कालिन जिल्ला अध्यक्ष सबैले हेडसर भन्ने गरेका खगेन्द्रबहादुर मल्ल, नेपाल पत्रकार महासंघको तदर्थ जिल्ला सभापतिको नाताले मसमेत माओवादीसंग वार्ता गर्न सदरमुकामबाट झण्डै ५० जना दसरथे पुगेर वार्ता ग¥यौं ।
त्यो वार्तामा माओवादीले पहिलो सर्त सदरमुकामको रिजर्व ट्यांकीबाट सेनालाई २४ घण्टा खुला हुने गरी पानी नदिने वा अरु जनताले जस्तै गरी ट्यांकी खोलेको बेला मात्र खानेपानी भर्ने गर्नुपर्ने सर्त राखे । दोश्रोमा चाहिं पानी मुहान भएका ठाउँ भवानीका जनताका निम्ति विकास कार्यक्रम सञ्चालन गर्न खानेपानी उपभोक्ताहरुसंग रकम उठाउनुपर्ने र त्यसका लागि पत्रकार वा मानवअधिकारवादीले अगुवाई गर्नुपर्ने सर्त राखेकामा शान्ति समितिका सहसचिव रहेका पत्रकार डेकेन्द्र थापाले आफू यसको अगुवाई गर्ने सुरुमै अग्रसरता जनाए ।
माओवादीसंगको वार्तापछि जिल्लामा हामीले गर्नुपर्ने काम निम्ति माओवादीसंग भेट्नै जान डराएका अध्यक्ष लगायतका पदाधिकारीहरुसंग यो कुरा राख्दा सेनाले मार्छ भनेर उपभोक्ता समिति छोड्ने जनाएपछि पत्रकार डेकेन्द्र थापा खानेपानी उपभोक्ता समितिको अध्यक्ष बने । त्यसबेला साढे ४ सय धाराका सबै ग्राहकसंग २ सयका दर रकम उठाएर केही माओवादीले मागे र केही समिति मर्मत सुधार कोषमा राख्यो ।
माओवादी कार्यकर्ता थुनिदा वा कुटिदा दैलेख बजारको खानेपानी काट्ने र उनीहरुका माग पूरा गराउन पत्रकार तथा मानवअधिकारवादीहरु सेना, प्रहरी, प्रशासनसंग मध्यस्तताको भूमिका गरिरह्यौं । उपभोक्ता समितिका अध्यक्षका नाताले डेकेन्द्रको अलि बढी सक्रियता रहयो, माओवादी पक्षले खानेपानी उपभोक्ता समितिकै रकमको पारदर्शिता लगायतका आरोप लगाएर डेकेन्द्रको हत्या भयो ।
खानेपानी सर्वसुलभ गराउने कामकै सिलसिलामा ज्यान आहुती गरेकाले माओवादी सशस्त्र युद्धको क्रममा दोहोरै पक्षबाट मारिए र बेपत्ता समेत १७ हजार भन्दा बढी मध्ये डेकेन्द्रको नाम त्यो युद्धमा मारिएकाहरु मध्ये सर्वाधिक परिचित नाम बनेको हो ।
अधिक मध्यपान सेवनले चिया खान समेत गाह्रो भएको थियो, आफ्नो स्वास्थ्यको ख्याल नगरेको भनी उनलाई सम्झाउने शुभचिन्तक पनि थिए । उनी भन्थे ‘जनताको दैनिकीका निम्ति काम गर्न सकेकै छु ।’ समाज व्याप्त लैंगिक, जाति, वर्ग, क्षेत्र र समुदायले भोगिरहेका विभेद अन्त्यका लागि धार्मिक अभियान पनि सहज हुन सक्छ भनेर उनी क्रिश्चियन बनेका थिए, सायद उनी दैलेखकै पहिलो क्रिश्चिन हुन् ।
२०५५ सालमा अहिलेको जीवन ज्योति चर्चका पाष्टर दैलेख पुग्दा तत्कालिन डीएसपी अहिलेका आईजी प्रकाश अर्यालले ५ दिन थुनेको बेला क्रिश्चिनले धर्मको कुरा गर्दा थुन्ने भए मन्दिर पुज्ने हिन्दूहरुलाई पनि थुन्नुस् भनेर नाजावाफ नाएका थिए डेकेन्द्रले । उनका २ छोरी पछि छोरा जन्मियो, छोराको न्वारन हिन्दू संस्कारबाट गराउन उनी हिन्दूमा फर्केका थिए ।
उनी एमालेको जिल्ला कमिटी सदस्य बसे, फुटेर माले हँुदा अहिलेका साँसद लक्ष्मीप्रसाद पोखरेल पार्टी सचिव र डेकेन्द्र उपसचिव थिए । लोभ र मोहले पार्टीभित्र हिस्सेदारी खोज्नेहरुलाई सदस्यबाट फुत्काई दिन समेत सक्थे, गरे । समग्रमा अरुलाई खरो वा अतियुक्ति लागे पनि टीट फर ट्याट तत्काल गरिहाल्थे । उनको हक्कीपन नै जीवन प्रयन्त प्रशंसनीय पक्ष हो ।





Leave a comment

Your email address will not be published.


*