लाखौं रुपैंयाको भत्ताको चेक बोकेर कता हराए वडा सचिव ?

          |   प्रकाशित मितिः बिहिबार, अशोज १२, २०७४     ::: 154 पटक पढिएको   |  

पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । वडा सचिव प्रेम नेपालीले असोज ९ गते रम्भा गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको करिब १७ लाख रुपैंयाको चेक बोकेर कार्यालयको सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको वडाध्यक्ष भोजबहादुर विश्वकर्माले बताए ।

गाउँपालिकाबाट चेक बुझेपछि पटकपटक फोन गर्दासमेत सचिवले अध्यक्षको फोन उठाएनन् । असोज १० गतेसम्म अध्यक्षको फोन नउठेपछि दशैँमा ज्येष्ठ नागरिक, एकल महिला तथा दलित बालबालिकाले भत्ता बुझ्न नपाएको गुनासो गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता कहिले वितरण गर्ने हो भनेर वडा कार्यालयमा आउने ज्येष्ठ नागरिकलाई रित्तै फर्काउन बाध्य भएको बताइएको छ । हुमिनकी ८६ वर्षीया जमुना श्रेष्ठले दशैं अघि भत्ता बुझ्न पाएको भए केही खर्च गर्न राहत हुने बताइन् ।

दशैँमा हुमिनमा सामाजिक सुरक्षा भत्ता वितरण हुने सम्भावना देखिएन । असोज ९ र १० गतेसम्म तानसेन रहेका वडासचिव कार्यालयमा हाजिर नभएपछि भत्ता वितरण गर्न नसकिएको हो । जिल्ला सदरमुकाम तानसेनदेखि वडा कार्यालय हुमिन एक डेढ घण्टामा पुगिन्छ ।



सरकारी मोटरसाइकलसमेत लिएर गएका उनी सम्पर्कमा नआउँदा थप समस्या देखिएको स्थानीय बासिन्दा बताउँछन् । घर गएपछि यहाँ दलित बालबालिका, ज्येष्ठ नागरिक र एकल महिलाले भत्ता पाउन नसक्दा समस्या भएको भन्दै उनीहरुले दुखेसो पोखेका छन् ।

रम्घा गाउपालिका–४, हुमिनमा १३० जना ज्येष्ठ नागरिक, ५७ जना एकल महिला, ५२ जना ज्येष्ठ दलित र ४५ जना दलित बालबालिका रहेको कार्यालयले जनायो । वडाध्यक्ष भोजबहादुर विश्वकर्माले असोज १० गतेसम्म सचिवले सम्पर्क नगरेको र सम्पर्कमा नआएपछि दशैँपछि भत्ता वितरण गरिने बताए ।



चार महिनामा ज्येष्ठ नागरिकले आठ हजार, एकल महिलाले चार हजार, ज्येष्ठ दलितले चार हजार र दलित बालबालिकाले रु दुई हजार ४०० प्रतिव्यक्ति सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन् । – रासस





Leave a comment

Your email address will not be published.


*