नेताहरुले बदनाम बनाएको नेपाली राजनीति

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक १६, २०७४     ::: 241 पटक पढिएको   |  

देशमा राजनितीक अस्तव्स्तता चुलिएको बर्षौँ बितिसकेको छ । करिब २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था सुरुवात भएको बेलादेखि नै तथाकथित प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली र पछिल्लोपटक दशौँहजार जनताको बलिदानी पश्चात् प्राप्त गणतन्त्रसम्म आईपुग्दाको नेपाली राजनीतिक अभ्यासलाइ हेर्ने हो भने राजनीतिको व्यवसाय गर्ने कथित नेताहरुमा सामान्य नैतिकता समेत लोप भईसकेको कुरा कथित राजनितिककर्मिहरु कै बिधी र व्यबहारबाट उजागर भईसकेको छ । सामान्य अर्थमा बुझ्ने हो भने राजनीति एउटा पेशा नभएर निस्वार्थ समाजसेवा हो जसलाई माध्यम बनाएर आफुले अगालेको चिन्तनलाई परिश्कृत गर्दै देश र जनताको हित र समग्र देशको विकासमा सामेल हुन सकिने सबैभन्दा सम्मानित स्थान हो राजनितिक थलो । जसलाई युगयुगसम्म इतिहासले कदर गर्न सकोस । जसरी अब्राहम लिङकन, नेल्शन मण्डेला र महात्मा गान्धीजस्ता नेताहरू युगौसम्म ईतिहाँसले कदर गरेको छ र गरिरहने छ ।

समाज परिबर्तनको लागि बितेका केहि शताब्दीहरुमा विश्वभर भएका विभिन्न क्रान्तिका अभ्यासहरुलाई हेरियो भने बिस्तारै विकसित र परिस्कृत हुँदै गएका विभिन्न व्यक्ति र उनिहरुले प्रतिपादन गरेका सिद्दान्तहरुको विशेष र अहम भुमिका रहेको पाईन्छ । जस्तो कि फ्रान्सेली क्रान्ति, बेलायतको औधोगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम देखि लिएर कार्ल मार्क्सले प्रतिपादन गरेको मार्क्सवादी कम्युनिज्म र जसलाई प्रयोग गरि भएका रुसमा लेनिनको रुसी क्रान्ति, चीनमा माओत्सेतुङले गरेका चिनियाँ क्रान्तिहरुको महत्त्वपूर्ण भुमिका रहेको थियो । उता दक्षिण अफ्रिकामा नेल्शन मण्डेलाको रङ्गभेदी आन्दोलन या तत्कालीन समयमा विश्वलाई आफ्नो अधीनमा राख्नेवाला बेलायती साम्राज्यवादको विरुद्धमा भारतमा महात्मा गान्धीले चलाएको जागरण हालको आधुनिक विश्वका लागि अनुकरणीय उदाहरण बनेका छन । यी उदाहरणीय योगदानहरु आजको विश्वले अनुसरण गरेका राजनितिक विचारधारा र प्रेरणाको रुपमा प्रयोगमा प्रतिपादित “वाद”हरु बन्न पुगेका छन । समाजवाद, साम्यवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद लगायतका नाममा खोलिएका विचार समुहहरु आज राजनितिक दलको रुपमा चिनिन्छन् । जसको उद्देश्य नितान्त निस्वार्थ समाज परिवर्तन र विकासको लागि योगदान गर्ने र जनताले दिएका जिम्मेवारी पूरा गर्ने हुनुपर्छ ।

समाज, समय या बिचार सबै गतिशील बस्तुहरु हुन त्यसैले बिचार र चिन्तनलाई पनि समयसापेक्ष बनाउदै परिस्कृत बनाउदै लैजानु जरुरि हुन्छ जो राजनितीमा पनि लागू गर्न आवस्यक हुन्छ त्यसैबाट नयाँनयाँ बिचारहरुको प्रतिपादन हुन्छ त्यो नै सफल हुनेछ र त्यस्तै बिचारहरुलाई ईतिहाँसले जीवित राख्नेछ । फेरि माथि उल्लेखित महान बिचारक र क्रान्तिका मोडेलहरु अभ्यास भएका युगहरुको आवस्यकता र अहिलेको युगको सामाजिक राजनीतिक आवस्यकता र चिन्तनको रुपरेखा बदलिएको अवस्थामा हिजोका युगमा सफल ठहरिएका विचार र वादहरुको हुबहु अभ्यास गर्ने मोडलका राजनितीहरु विश्वभर असफल बन्दै गएको अबस्था छ । अर्को अर्थमा भन्नुपर्दा १९ औँ र बिसौँ शताब्दी मुलतः हातहतियार र औद्दोगिक क्रान्तिको युग थियो तर आजको विश्व यी चिजहरुको अलावा वैज्ञानिक सुचना र प्रबिधीको युग बनिसकेको छ । यस अर्थमा त्यतिबेला गर्ने क्रान्तिका मोडल र यतिबेलाको परिस्थितिजन्य आवस्यकता नितान्त फरक छ र हुनुपर्दछ ।

यस परिप्रेक्ष्यमा नेपाली राजनितीलाई दाजेर हेर्ने हो भने नेपाली राजनितिक बिचारधाराका स्रोतहरु पनि कुनै न कुनै रुपमा माथि उल्लेखित वादहरु नै रहेका छन । जसलाई परिस्कृत बनाउदै समय र धरातल सुहाउँदो ढंगबाट प्रयोग नगरिएको कारण बेलाबखत उच्च अपेक्षा र ठूलो बलिदान दिईएर आएका परिवर्तनहरु क्षणिक र असफल साबित भए जसको पछिल्लो उदाहरण माओवादीहरुले १० बर्षसम्म दशौँहजारको बलिदानबाट प्राप्त परिवर्तन संथागत हुन नसक्नु रहेको छ । हुनत कुनैपनि वाद आफैमा पुर्ण हुदैनन जसलाई अभ्यास गर्ने र नेतृत्व गर्ने ब्यक्ति र परिपाटीमा पनि भर पर्दछ । उनिहरुको उदेश्य पुर्ण रुपमा जनतामा समर्पित हुनुपर्नेमा त्यो देखिएन नेपाली राजनितिको मोडालिटिमा । उता सफल राजनितिज्ञमा हुनुपर्ने आधारभुत विद्दता, दक्षता अनि ईमानदारिता र नैतिकताको खडेरी छ नेपाली कथित राजनेताहरुमा । साझा हित र जनकल्याण भन्दा पनि कुनै भिडको मात्रै नेता बन्ने अत्यन्तै संकिण चिन्तन त नेपाली नेताहरुको सबैभन्दा नराम्रो रोग बनेको छ । एक अर्कोको सम्मान र सहअस्तित्वको भावना पनि शुन्य छ । यसअर्थमा भन्ने हो भने एकाध बाहेक हालसम्म नेपाली राजनितीको केन्द्रमा रहेका कुनैपनि राजनितिक खेलाडीहरुमा स्वच्छ चिन्तन र नैतिकताको अभाव देखिन्छ । राजनितीलाई त्याग र सेवाको माध्यमको रुपमा नलिई विभिन्न तवर र कृपाबाट प्राप्त सत्ता र शक्तिलाई निजि शान र हैकम जमाउने थलोको रुपमा लिने नेताहरू जनताको आखाँमा कसरी सफल बन्नेछन् । झनै हालको नेपाली राजनितीलाई हेर्दा नेता भनौदाहरुको चरम अदक्षता, अकर्मण्यता, गैरजिम्मेवारीपन र चरम अनैतिकताले पराकाष्ठा नाघिसकेको छ । जनतालाई पटक पटक ढाटेर सत्ताको शैर गरिसकेका निर्लज्ज प्राणीहरुको भिड साबित भैसकेका छन र पनि अझै जनतालाई आफ्नो मपाईत्वको नारा भजाउन जनतालाई भेडा बनाउन निर्लज्ज लागिपरेका छन । सत्तामा रहनेहरु रोग भोक र चरम गरिबिको शोकमा डुबेका कर्णाली लगाएतका जनतालाई हेर्न हेलिकप्टरबाट ओर्लेर आफुलाई कुनै स्वर्गको दुत आएको भान छरेर फर्किन्छन । जनताले प्रयोग गर्ने सेवा सुविधा नेताले अमेरिका बेलायत पुगेर भोग गर्छन । जनताले सिटामोल पाउदैनन् नेताले भिटामिनको कमि भएको शिर्षकका करोडौं राष्ट्रिय ढिकुटिबाट निकालेर आफ्ना श्रीमतीलाई बिदेश घुमाउन लैजान्छन । जनताका छोराछोरीले देशमै साक्षरता छैन नेताहरु आफ्ना छोराछोरीलाई सरकारको ढिकुटी रित्याएर आफ्नो जात थर नै परिवर्तन गरेर छोराछोरीलाई दलित बनाएर बिदेशी महङ्गा कलेजमा पढाउछन ।

पछिल्लो समयमा राजनैनिक नैतिकतालाई नेताहरूले विभिन्न बहानामा झनै गिराएका छन् । कहिले संङ्क्रमण काल त कहिले द्वन्द व्यवस्थापनका नाममा राज्यकोषबाट खुलेआम ब्रह्मलुट मच्चाएका छन । देशका विभिन्न संवैधानिक र स्वतन्त्र निकायदेखि गाउँका सामान्य विद्दयालय र विभिन्न संघसंस्थालाई समेत राजनितीक भागवण्डाको थलो भनाएका छन् । गाउँको बिद्यालयमा एउटा शिक्षक नियुक्ति गर्न देखि व्यवस्थापन समिती गठन गर्नको लागि विभिन्न राजनितीक घम्साघम्सी हुन्छ । सीप र दक्षता हेरेर प्रतिस्पर्धाका आधारमा भन्दा कुन पार्टीको कार्यकर्ता भर्ति गर्ने भन्ने बिषयमा लडाइँ हुन्छ । त्यतिमात्र नभएर स्वतन्त्र मानिने न्यालयमा न्यायाधीश नियुक्तिमा पनि भागवन्डा गरिन्छ । देशका कर्मचारीलाई पनि कुनै न कुनै राजनीतिक रङ्ग लगाईन्छ । प्रत्येक पटक हरेक सालजसो परिवर्तन हुने सरकार नै पिच्छे कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्न नदिने अवस्था श्रृजना गरिन्छ । सबैभन्दा दुखलाग्दो कुरा त के छ भने देशको चौथो अङ्ग भनेर चिनिएको पत्रकारिता जगत पनि राजनितीबाट अलग छैन । कुनै पनि पत्रकार यस्तो छैन जो कुनै न कुनै राजनितीक दलको पक्षपोषण नगर्ने होस । यस्ता पत्रकारिताले के जनताका पक्षमा आवाज उठाउछ ? भ्रष्टाचारी नेताको गुनगाण गाउने पत्रकारिताले कसरी दुरदराजका जनताको आबाज बोल्न सक्छ ? जसले नेतालाई खबरदारी गर्नुपर्नेमा आफैं त्यहि नेताको भरौटे पेशाको वकालत गर्छन । देशका हरेक सञ्चार माध्यममा दिनहु कुन पार्टिको नेताले के भने कुन कार्यक्रम उद्घाटनमा गए, कसकसलाई के गाली गरेर कुन उखान र टुक्कामा अरुको उचाई घटाएर आफ्नो उचाई बढेको बद्ख्वाई गरका जस्ता बिषयबस्तुलाई ठुलो तस्विर समेत राखेर प्रमुख समाचारको रुपमा ब्रेकिङ न्युज भनेर प्रकाशन प्रसारण गरिन्छन । त्यस्तै नेताले के खाए, कोकोसँग भेट गरे कहाँ घुम्न गए जस्ता बेकार फाल्तु बिषयबस्तुलाई समाचार बनाउछन । तर जनतालाई भोकमरि, रोगमहामारि, मगङ्गी र लोडसेडिङले ग्रसित भएका र पिडा र वेदना भरिएका दुखसुख र खोजमुलक सामाग्रीहरु भलै लेख्छन होला तर कहिलेपनि यस्ता समाचार र बिषयबस्तुलाई प्राथमिकता दिईदैन । यसैबाट थाहा हुन्छ कि देश चलाउने पहरेदारी खबरदारि दिने र सेवा सुबिधा दिेने निकायहरुको निश्पक्षता कहाँसम्म छ भन्ने !

देशका कर्मचारी देखि विभिन्न निकाय र संघसंस्थामा राजनितीक पक्षपोषण गर्ने विभिन्न राजनितीक दलप्रति बफादार ट्रेड युनियनहरु खोलिएका छन । यस्तो भएपछि कसरी कुनै कर्मचारी, मजदुर पेशागत व्यवसायीले आफ्नो मर्यादाको हितमा काम गर्न सक्छन । गाउँगाउँमा प्रत्येक पार्टीका छुट्टाछुट्टै विद्यालय, सहकारी र संघसंस्थाहरु हुन्छन । पलानो पार्टीको बिद्यालय फलानो पार्टीको सहकारी भनेर चिनिन्छन । यसरी मुलुक पुर्णरुपमा फोहोरी राजनितीले नराम्ररी जेलिन पुगेको छ । जहाँजहाँ जसको शक्ति र सामर्थ्य स्थापित गर्न सफल भएका छन त्यहाँ त्यहाँ सम्बन्धित राजनितीक दलको मनोमानी चलेको छ । देशमा लामो समयसम्म लम्बिएको सङ्क्रमण काल र द्वन्दले थपिएको जटिलताका कारण पनि देशभर यस्तो मनपरितन्त्रले नराम्ररी जरा गाडेको छ । जसको प्रत्येक्ष प्रभाव परेको छ मुलुकको विकास निर्माणका गतिविधिमा पनि । हरेक ठाउँमा आआफ्नो राजनितिक दलको स्वार्थमा विकासको लागि छुट्टिएको रकम झ्वाम हुन्छ ।

यसका अलवा राजनितिले भ्रष्टाचारी र अपराधीलाई अत्यन्त सुरक्षित आश्रय दिएको छ । जसका कारण भ्रष्टाचारी र अपराधीहरुको मनोबल बढेको हुन्छ । यथार्थमा भन्ने हो भने यस्ता अपराधी र भ्रष्टाचारीहरुको कृपाले दलको राजनिती टिकेको छ । चन्दा आतंक, लुटपाट, हत्या, अपहरणका घटनामा देशका ठुलाठुला नेताहरूको प्रत्येक्ष हात भएको पटकपटक प्रमाणित भएको छ । यस्ता अपराधीलाई कारबाही त कता हो कता केही सच्चा र कर्तव्यनिष्ठ प्रहरी र कानुनको फन्दामा परेका अपराधीहरू पनि रातारात राजनीतिक जोडबलमा छुटाईन्छन । त्यतिमात्र नभएर प्रहरीको वान्टेडमा रहेका ठुल्ठुला गुण्डा र अपराधीलाई राजनिक दलहरूले उच्च पदमा आसिन गराई पालेर राखिएका छन् ।

हुनत हरेक राजनितिक दलहरु र समाजमा राम्रो छवि र असल आचरणका क्षमतावान व्यक्तिहरु पनि प्रसस्तै छन उनिहरुले विभिन्न पदमा रहेर राम्रो काम गरेर पनि देखाएका छन । तर यहाँ महत्त्वपूर्ण कुरा र विडम्बना के छ भने त्यस्ता व्यक्तिलाई कुनैपनि महत्त्वपूर्ण जीम्मेवारीमा पुर्‍याइदैन यदि पुगिहाले पनि ईमान्दारीता पुर्वक काम गर्न दिईदैन या कुनै न कुनै रुपले असफल बनाउन लागि पर्छन् । दहीको साची बिरालो भनेझैँ जो ठुलो अपराघी र भ्रष्चाचारी हो उसैलाई मन्त्री या सम्बन्धित निकायमा पुर्याएर सबै मिलेर ब्रह्मलुट मच्चाउछन ।

यसरी सधै विभिन्न रुपमा अस्तव्यस्त रहेको मुलुकमा आर्थिक गतिविधिहरु ठप्प प्राय छन् । भएका उद्योगलाई पनि राजनीतिक थलोमा परिणत गरेर बन्द गरिदैछन । त्यसमाथि विभिन्न दलका स्वार्थ सिद्ध गर्नका लागि गरिने बन्द हडतालको चपेटामा परेका छन् । फेरि सधैंको लोडसेडिङ र चुलिएको महङ्गीको त झनै के कुरा गरौं र ! फलस्वरूप देशमा भित्रिने बैदेशिक लगानी र सहयोगको मात्रा निराशाजनक हुदो छ । यसरी हतोत्साहित भएका स्वदेशी पुँजी र दक्ष जनशक्तिको पलायन बढेको बढ्यै छ । देशमा केहि गरिखाने उपाय नभेटेपछि निराशा र कुण्ठा बोकेर हजारौं युवाहरु बिदेशिन बाध्य छन । अप्रत्यक्ष रुपमा हेर्ने हो भने देशमा व्याप्त अन्योल र अभावले खड्केको नैरस्यताले नेपालीहरुको चिन्तन खलबलिएको छ ।

देशमा हरेकपटक राजनितिक परिवर्तनको लागि जनताको धेरै ठूलो योगदान र सहभागिता रहेको छ । जतिपनि ठुलाठुला परिवर्तनहरु भए त्यसमा जनताको प्रत्येक्ष संलग्नता रहेको छ । पछिल्लोपटक २०६२/६३ को जनआन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता र २/२ पटकसम्म बनेको संविधानसभा पुर्णतया असफल हुने बिन्दुमा पुर्‍याउने पनि हालका ठुला भनौदा राजनितिका खेलाडीहरुका आपसी तछाडमछाड र सत्ता स्वार्थ प्रमुख रुपमा जीम्मेवार छन् । अबत लाग्छ नेपालका राजनिति दलहरुमा जनताको भरोसा र बिस्वस्नियता शुन्य भईसकेको छ । उनिहरुमा गैरजिम्मेवारीपन र अनैतिकताको पराकाष्ठा निघिसकेको छ । जसका कारण बेलाबखत बैकल्पिक शक्ति र नयाँ बिचारको कुराहरु समेत उठेका छन् । तर कुरा फेरि उहि बिषयमा टुंगिन्छन कसले नेतृत्व गर्ने र के एजेन्डा बनाउने भन्ने !

हुनत बिकास र परिवर्तन भन्ने चिजहरु राजनीतिबाट मात्रै प्राप्त हुने कुराहरु भने हैनन । तर हाम्रोजस्तो मुलुकमा बिकासका लागि आवश्यक आधारभुत शान्तिसुरक्षा, लगानीको ग्यारेन्टी, लगानीकर्ताहरुलाई चाहिने उत्साहित र आकृष्ट गर्ने बाताबरणको अभाव आदि कुराहरूलाई देशको अस्तव्यस्त राजनितिले आक्रान्त पारेको छ । देशका शैक्षिक संस्था, सरकारी गैरसरकारी संघसंस्था, स्वास्थ्य संस्था र उद्योग व्यवसायहरु अस्वभाविक राजनीतिक हस्तक्षेपबाट ग्रसित छन् । राजनितीले भ्रष्टाचार र अपराधलाई प्रशय दिएको छ । र समाजमा राजनितीलाई अन्यत्र क्षेत्रमा केही गर्न नसकेर पैसा र शक्तिको आडमा प्रयोग गर्ने अन्तिम थलोको रुपमा लिईने गरिएकोले नेपालमा राजनीति आज स्वयं बदनाम बनेको छ !

महेन्द्र कुमार कार्किकाे फेसवुक पेजवाट





Leave a comment

Your email address will not be published.


*