मेरो चुनावी हैसियत १७४ वाला ः आत्मसमीक्षा

          |   प्रकाशित मितिः आइतवार, पुस २, २०७४     ::: 630 पटक पढिएको   |  

कविराज खत्री
चुनाव सकिएको छ । सबै क्षेत्रको प्रत्यक्ष तर्फको मतपरिणाम आईसकेको छ । चुनाव जित्नेहरु अविर यात्रामा संलग्न हुनुहुन्छ । धेरै मत प्राप्त गरेर हार्नेहरु आरोप प्रत्यारोपमा ब्यस्त हुनुहुन्छ । हार्ने मध्येको म पनि एक उम्मेदवार हुँ । तर मलाई हारेकोमा कुनै पश्चताप र आत्मग्लानी छैन । वरु हारले जितको तयारीका लागि मार्ग खोलिदिएको अनुभूती गरेको छु । म प्रदेशसभाका लागि दैलेखको निर्वाचन क्षेत्र नं. १ को १ बाट राष्ट्रिय जनमोर्चाको तर्फदेखी प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेको थिएँ ।

निर्वाचन कार्यालयले अन्तिम मत परिणाम घोषणा गर्दा आधिकारिक रुपमा मैले कूल १ सय ७४ मत मात्र प्राप्त गर्न सफल भएँ । मेरो धरौटी जफत मात्र भएन मैले प्रतिशतका आधारमा हिसाव निकाल्दा सुन्य प्रतिशत पनि आउँदैन । मेरो वास्तविक मत परिणाम यहि हो । मेरो यो परिणाम देखेर धेरै धुरन्धर मेरा विद्धान मित्रहरुले मलाई घोचपेच पनि गर्नुभयो । र एक जना आफन्त पत्रकार मित्रले सय भोटका लागि कति लाख खर्च गर्नुभयो भनेर घुमाउरो पारामा आफ्नो फेसवुक वालमा पोष्ट पनि गर्नुभयो । विजयी उम्मेदवार मित्र धर्मराज रेग्मीले मत परिणाम आउनु अघि कृष्ण वि.सी.को प्रचार गर्दै हिडनु भएको रहेछ । आफु उम्मेदवार भए पछि आफुलाई मत माग्न सिक्नुहोस कविजी भन्नुभयो । यसै गरी मित्र एल.पी. रुपाखेतीजीले जुन गोरुको पुच्छर छैन उसकै नाम चौंरे भनेर कटाक्ष गर्नु भयो । मलाई यस्ता सम्मानजनक शब्दहरुबाट स्वागत गर्ने तपाँई घनिष्ट मित्रहरु सबैलाई मेरो तर्फबाट हार्दिक बधाई तथा धन्यवाद दिन चाहान्छु र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु ।
राजनीतिमा लागेको झण्डै २७ वर्ष पुगेछ । पदिय हैसियतले जिल्ला तहको राजनीतिक कार्यभार समालिरहेको छु । मेरो राजनीतिक यात्रा पहिला नेकपा एमालेबाट भएको हो । एमालेमा रहेर काम गर्दा म अत्याधिक मदिरा सेवन गर्दथें, ठूल्ठूला जुवाका खालमा ठूलै दाउ थाप्दथें । संभवत २०६० देखी २०६३ सम्म जुवा नखेलेको र मदिरा नपिएको दिन थिएन होला । त्यती बेला जनताको नजरमा म अब्बल दर्जाको नेता बनेको थिएँ । मेरो समाजको बहुमत जनसंख्याले मलाई पत्याउने गर्दथ्यो । अर्थात चुनावमा उठेको खण्डमा हार्ने संभावना थिएन । यो मेरो राजनीतिक यात्रामा देखिएको एउटा घटनाक्रम थियो । जो अतित बनिसकेको छ ।
२०६३ सालमा एमालेको विचार मलाई ठीक नलागे पछि राष्ट्रिय जनमोर्चामा प्रवेश गरें । राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको १ वर्ष पछि पार्टीको बैठकले मलाई मदिरा पिउन र जुवा खालमा रमाउन छुटायो । पत्रकारिता सिकायो, दर्शन सिकायो, उद्यमशीलता सिकायो । जसका कारणले म मदिरा नपिउने, जुवा खालमा नरमाउने, उद्यमशीलता सहितको राजनीतिक यात्रा गर्ने मान्छे बने । तर जुनसुकै तहको चुनावमा उठे पनि जनताले नजिताउने स्तरमा पुगेको छु । यो पनि एक समीक्षाको विषय हो ।
मैले चुनाव किन जित्न सक्दिन ? किन जनताले मलाई अर्थात राष्ट्रिय जनमोर्चालाई मतदान गर्न गाह्रो मान्छन ? यसका केही कारणहरुछन । जसलाई बुँदागत रुपमा चर्चा गर्दा उपयुक्त होला ।
क) पहिलो कुरा के हो भने जनतालाई राष्ट्रिय जनताको झण्डामुनी गोलबन्ध गर्न जनतासित घुलन हुन नसक्नु । पदिय जिम्मेवारी पुरा नगर्नु ।
ख) ग्रामीण क्षेत्रमा वर्ग संघर्षको आन्दोलन निरन्तर नचलाउनु ।
ग) भ्रष्ट शासनका विरुद्ध पर्दाफास कार्यक्रम संचालन नगर्नु ।
घ) कार्यकर्तालाई प्रशिक्षित नगर्नु ।
ङ) नामधारी कम्युनिष्ट पार्टीले जनतालाई भ्रम श्रृजना गर्न सफल हुनु, पूँजीवादीधारको पार्टीले आध्यात्मवादका नाममा जनतालाई गुम्राहमा पार्न सफल हुनु ।
च) आधारभूत जनता राजनीतिक रुपमा सक्षम नहुनु,वुद्धिजीवि वर्ग, ठूला ब्यापारी वर्ग र कर्मचारी वर्ग निहित स्वार्थमा विलुप्त हुनु र ब्यक्तिवादी सोचका आधारमा राजनीतिक यात्रा तय गर्नु ।
मूख्य रुपमा यी र यस्ता कारणले राष्ट्रिय जनमोर्चाको संगठन विस्तारमा अवरोध आएको छ भने संगठन नभए पछि चुनावमा मतको आषा गर्नु निराधार आषा हुन्छ जसको परिणाम सोचे जस्तो तत्काललाई आउँदैन । वर्तमान अवस्थामा चुनाव जित्नका लागि साम, दाम, दण्ड, भेदको नीति नअपनाउनेवालाको मत परिणाम मेरो जस्तै हुनेमा दुईमत छैन ।
अर्को कुरा नेता दुई प्रकारले स्थापित हुने गर्दछन । पहिलो कुरा नेता बनेर चुनाव जित्ने गर्दछन भने दोस्रो कुरा चुनाव जितेर नेता बन्दछन । दैलेखको सन्दर्भमा चुनाव जितेर नेता बन्ने होडबाजी चलेको छ । चुनाव जितेर नेता बन्नेहरुसित कोरा ज्ञान हुन्छ । जसले समाजको समग्र चित्रका आधारमा निर्णय गर्न र कार्यसम्पादन गर्न सक्दैन । हामीले बुझनु पर्ने मूख्य कुरा यहि हो ।
मलाई चुनावी परिणामले कुनै खिन्नता ल्याएन । तर मेरो मत परिणाम सुनेर मेरा आफन्तजनहरु, सहयोगी मित्रहरु र शुभचिन्तकहरुले समाजमा हैसियत नभएको मान्छे….कठै यति थोरै मत………. भनेर जिज्याउनेहरुको भिड ठूलो रहेको छ । बाटोमा हिडदा मेरो अनुहारमा हेरर खिल्लि उठाउँदै हाँस्नेहरुको सँख्यामा वृद्धि भएको छ । यो स्वभाविक पनि हो । वर्तमान राजनीतिक अवस्था दर्शनमा होइन, होहल्लामा चलेको छ । जुनसुकै हत्कण्डा अपनाएर भए पनि जसले चुनाव जित्छ, उसैलाई मात्र नेता मान्ने हाम्रो संस्कार छ । म यस्तो संस्कारको सिकार भएकाले सिकारलाई जसले पनि खान खोज्नु अनौठो के भयो र ?
अर्को कुरा यो चुनावमा मैले गाडी प्रयोग गरिन । म मेरा मतदाताहरुको घर घर पुगें । आफै पर्चा दिएँ, पम्पलेट टाँसे । जनताको घरमा खाना खाएँ, बास बसे । झण्डा ब्यानर बोकेर, गाडीमा माईक राखेर तामझामका साथ कार्यकर्ता परिचालन गरेर जनतालाई रमिता देखाईन । चुनावी प्रतिवद्धतामा झुट्टा गर्न नसकिने कोरा कल्पनाका नारा समावेश गरिन । चुनावको बेला संभव भएका ठाउँमा बुथ कब्जा गर्ने, मदतादालाई धम्काउने, पैसा बाँडने आदि इत्यादि काम गरिन । हाम्रो पार्टीको नीति सिद्धान्तको प्रचार गरें । मेरो यस्तो प्रकारको चुनावी प्रचार शैलीलाई जनताले पत्याउनु भएन । ‘तँलाई यस पालि हामी अनुमोदन गर्न सक्दैनौं’ भन्ने मतका साथ मेरो चुनाव चिन्हमा स्वस्तिक छाप लगाउनु भएन र त म १७४ वाला बन्न पुगें ।
यति मात्र कारण होईन, अर्को कारण पनि रहेको छ । यो भन्दा अघि म राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष पदमा पदोन्नती भए पछि ती वस्तिहरुका समस्या बुझन, सामाधान गर्न र संगठन गर्न कुनै दिन पनि गाउँमा गईन । बजारमा बसेर ठालुगिरी गरें । चुनावको बेला मात्र गाउँमा पसें । अनि १७४ मत नआएर १० हजार ७४ मत आउने त कुरै भएन । तसर्थ अन्तिम निचोड के हो भने म पदिय हैसितले जिल्लाको उपाध्यक्ष भए पनि कर्मका हैसियतले साधारण सदस्यले जति पनि संगठन निर्माणमा ध्यान दिन सकिन । जसका कारणले मत परिणाम थोरै आयो ।

तर मूल विषय के हो भने नेपालमा सामान्त, भ्रष्ट तथा निरंकुश राजतन्त्रको अन्त्य पछि संविधानसभा मार्फत गणतन्त्रात्मक ब्यवस्था लागु भएको छ । हामी सबै नेपालीहरुले गणतन्त्रलाई संस्थागत विकास गर्नु यति बेलाको मूख्य अभिभारा वा कार्यभार हो । गणतन्त्रका पक्षधर राजनीतिक दलहरु सबै नमिलेसम्म गणतन्त्रको संस्थागत विकास हुन सक्दैन । यो पनि सत्य कुरा हो ।
नेपालमा गणतन्त्रात्मक संविधान निर्माण भए पश्चात इतिहासको कालखण्डमा पहिलो पटक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्नका लागि मंसिर २१ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन समपन्न भई मत परिणाम आईसकेको छ । पूँजीवादी गणतन्त्रको सुन्दर पक्ष पनि यहि नै हो ।
आधिकारीक रुपमा जिल्ला निर्वाचन कार्यालयले उम्मेदवार भएको प्रमाण दिए पछि चुनाव प्रचार प्रसारका लागि गाउँ गाउँमा पुगेको थिएँ । आजसम्म गाउँमा पुग्दा मतदाताले भनेका, सुनाएका केही कुराहरुले मेरो थप ध्यान आकर्षण भएको छ । अपवाद देखी बाहेका मतदाताहरुले खुलेरै नेपालका सम्पूर्ण नेताहरुको कडा शब्दमा विरोध गर्नुभएको थियो । उहाँहरु भन्नुभएको थियो, ‘चुनावको बेला मात्र आउने, भाषण मात्र गर्ने, चुनावका बेला हामीलाई झुक्काउन विभिन्न आश्वासन मात्र दिने, चुनाव जिते पछि फर्केर नहेर्ने, हामीलाई नचिन्ने । अब त कसैलाई भोट दिन्नौं । भोट माग्ने भए हामीलाई धेरै पैसा चाहिन्छ…………………………।’
यसका साथै मैले धेरैजसो अपरिचित मतदाताहरुलाई मेरो वास्तविक परिचय ‘म ज्वालगढी मसला उद्योगवाला हुँ , राष्ट्रिय जनमोर्चा, दैलेखको उपाध्यक्ष हुँ । मैले २ वटा पत्रिका एउटा साप्ताहिक र अर्को अनलाई पनि चलाउँछु………….’ भने पछि उहाँहरुले एएएए ….. तपाँई ज्वालागढी मसला उद्योग चलाउने मान्छे हो ? भन्नुहुन्थ्यो । त्यसपछि उहाँहरुले मेरो अनुहारमा घोत्तलिएर हेर्दै फेरी भन्नुहुन्थ्यो, तपाँई मेहेनती मान्छे हो, हामीलाई पनि उद्यम क्षेत्रका कुरा सिकाउनुहुन्छ । तपाँईको ब्यवहार राम्रो छ तर…………………… । अर्थात हजुरको पार्टीमा लाग्ने मान्छे कम छन भन्दै अन्त्यमा यस पटक अवश्य सहयोग गछौं भन्नुभएको पनि थियो । म र हामीहरु मतदाता समक्ष जाँदा दिनदिनै हुने र गरिने संवादहरुको सार यहि हो ।
मतदाताहरुले चुनाव प्रचारको क्रममा भनेका केही महत्वपूर्ण भनाईहरु ‘चुनावको बेला मात्र आउने, भाषण मात्र गर्ने, चुनावका बेला हामीलाई झुक्काउन विभिन्न आश्वासन मात्र दिने, चुनाव जिते पछि फर्केर नहेर्ने, हामीलाई नचिन्ने । अब त कसैलाई भोट दिन्नौं । भोट माग्ने भए हामीलाई धेरै पैसा चाहिन्छ…………………………।’ आवरणमा सुन्दा, बुझदा ठीक छन । तर सारमा त्यस्तो होइन ।
पहिलो कुरा, चुनावको बेला मात्र आउने………………….. भन्ने जुन प्रश्न छ । यसको सजिलो र सत्य जवाफ छ, राष्ट्रिय जनमोर्चा चुनावको बेला मात्र होइन, सँधै जनतामाझ हुन्छ । हाम्रो इतिहास, वर्तमानलाई हेर्दा हामी जनताको माझमा छौं । दैलेखको सन्दर्भमा जब जनताहरु अन्यायमा पर्दछन, तव राष्ट्रिय जनमोर्चा अन्यायको विरुद्धमा जनता माझ पुग्दछ । पछिल्लो घटना क्रमलाई हेर्ने हो भने तत्कालीन माओवादीको कार्यकर्ता युद्ध चल्दा क्रान्तिका नाममा गरिब र निहत्था जनतालाई वर्वर यातना दिने कार्य शुरु भयो । नेकपा(मसाल) तत्कालीन माओवादीको मित्र शक्ति भएका हिसाबले उसलाई सच्चिन अनुरोध ग¥यो । जनतामाथि भएको ज्याजतिका विरुद्ध ‘माओवादी होसमा आउ– गरिव जनता नसताउ’ भन्ने नारा लगाउँदै ज्याजतिका विरुद्ध आवाज उठायो । जसको प्रमाण मेहेलतोलीमा माओवादीहरुले जनतामाथि गरेको ज्याजतीका विरुद्ध गरेको संघर्ष वा २०६१ साल भदौ २२ गते दुल्लुमा गरेको संघर्ष प्रतिनिधि मूलक संघर्ष हुन । तत्कालीन रुपमा जनतामाथि भएको शाही आतंका विरुद्ध पनि हाम्रो आन्दोलन जारी थियो । त्यस कारण त हामीलाई माओवादीको विल्ला भिराएर हाम्रा नेता कार्यकर्तामाथि वर्वर आतंक भयो । महासचिव जनकराज शर्मा लगाएत अन्य कार्यकर्तालाई माओवादीको आरोप लगाएर दैलेखमा हाम्रो संगठन ध्वस्त बनाउने प्रयास भयो । हाम्रो संगठन ध्वस्त बनाउनका लागि एमाले र काँग्रेसको पनि सक्रिय भूमीका रहेको थियो ।
यसै गरी हामीले दैलेखमा भ्रष्टाचारका विरुद्ध पनि निरन्तर अभियान संचालन गरिहरका छौं । विशलाको सडक निर्माण गर्दा अन्य राजनीतिक दलहरुले खाएको कमिशनको भण्डाफोर होस वा हालको भैरवी गाउँपालिका र साविकको रावतकोट गाविसमा किसानका नाममा आएको ४ लाख रकम भ्रष्टाचार गरेको विरुद्ध आन्दोलन गरी सो रकम पुन फिर्ता गराएको घट्ना होस । वा शान्ति समितिका नाममा प्रत्येक गाविसका लागि २२ हजारका दरले आएको पुरै रकम कुम्लाएको घटना होस । यी यस्ता भ्रष्टाचार गतिविधिहरु रोक्न हामीले निरन्तर संघर्ष गर्दै आएका छौं । तसर्थ आम मतदाताहरुलाईले बुझनु पर्ने कुरा के हो भने राष्ट्रिय जनमोर्चा सँधै जनताको माझमा रहेको छ ।
अर्को विषय जब जनतालाई अप्ठेरो पर्दछ, त्यती बेला सँख्यात्मक रुपमा आफुलाई ठूलो भन्ने पार्टीका अब्बल दर्जाका नेताहरु भागेर राजधानी गएका होइनन र ? आफुहरु भागेर काठमाण्डौ थुप्रने । यता जनता कुटिदा, लुटिदाँ उनीहरुको नाम पेश गरेर विस्तावित भत्ता खाएकै हुन । अहिले पनि देशमा त्यस्तै अप्ठेरो राजनीतिक परिस्थिती श्रृजना भयो भने अन्य दलका नेताहरु भागेर त्यही ठाउँमा आफ्नो ज्यान जोगाउन जान्छन । उनीहरुको राजनीतिक चरित्र अवसरवादी भएकाले कायर बनि जनताको रक्षा र सुरक्षा गर्नु पर्ने बेला भगौडाको रुप धारण गर्दछन । अहिले तिनै नेताहरुलाई जनताले आफ्ना नेता सम्झनु एक प्रकारको जनताको भूल हुनेछ । जनतालाई अप्ठेरो परेको बेला नेता अघि बढनु पर्दछ भने नेतालाई अप्ठेरो परेको बेला जनताले साथ दिनु पर्दछ । तर नेपालको राजनीति संस्कार यस्तो छैन ।
दोस्रो भनाई मतदाताको……..भाषणमात्र गर्ने, हामीलाई झुक्काउने भन्ने रहेको छ । वास्तवमा यो कुरा पनि आवरणमा सही छ । तर सारमा सबै राजनीतिक दलमा लागु हुन सक्ने विषय होइन । राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ताहरुले जे भाषण गर्दछन, त्यो पुरा गरेर छाडछन । हामीले कसैलाई जागिर दिन्छौं, उपभोक्ता समितिको अध्यक्ष बनाएर कमिशनखोरी कार्यकर्ता बनाउँछौं, मदिरा सेवन गरेर, जुवातास खेलेर दिन बिताउँदा केही फरक पर्दैन आदि कुराहरु कहिल्यै भनेका छैनौं । चुनवका बेलामा मत खरिद गर्न रकम बाँडेका छैनौं । प्रशासन, कर्मचारीहरुलाई हातमा लिएर स्वतन्त्रताको हनन गरेका छैनौं । त्यस कारण राष्ट्रिय जनमोर्चाको इतिहास निस्कलंकित छ । वर्तमान अवस्थामा हाम्रो पार्टीले शान्तिपूर्ण संघर्षलाई प्रधान पक्ष ठानेर जनतामाझ उभिएको छ । त्यस कारण सबैलाई एउटै दर्जामा राखेर जोख्न अलि उपयुक्त नहोला की ?
तेस्रो कुरा केही मतदाताहरुले पैसा नदिए हामी भोट दिन्नौं पनि भन्नुहुन्छ । यदि त्यसो हो भने आफु बेचिएर दिएको भोटले के आफ्नो मुक्ति संभव होला त ? यहाँ ठूला राजनीतिक दलहरुले त्यो चाहाना पनि लगातार पुरा गर्दै आईरहेकाछन । उत्पीडित वर्ग र न्युन आय भएका वर्गलाई खरिद गर्दै आईरहेकाछन । ती वर्गको चुनावमा प्राप्त गरेको रकम र केही सहयोगले जीवनमा सुधार हुने भए किन भएन त ? यो हाम्रो प्रश्न हामीलाई प्रश्न गर्ने मतदाताहरुलाई प्रति प्रश्न हो । मतदाताहरुले बुझुन पर्ने कुरा के हो भने मुक्ति क्रान्तिकारी कम्युनष्ट पार्टीमा गोलबन्ध भएर क्रान्तिका विगुल नफुकेसम्म आमूल परिर्वतन र समतामूलक समाज निर्माण हुन सक्दैन । त्यसकारण मतदाताहरु तत्कालीन स्वार्थको भुलभुलैयामा पर्नु हुँदैन ।
समग्रतामा यस पटकको चुनाव हेर्दा कथनीकार उम्मेदवारहरुको भिड रहेको थियो । कसैले वाम गठबन्धन नाम दिएर त कसैले लोकतान्त्रिक गठबन्धन नाम दिएर चुनावमा होमिएका थिए । उनीहरुको मूख्य उद्धेश्य जसरी पनि चुनाव जित्ने, अविर यात्रा गर्ने र आफुलाई केन्द्रमा राखेर राजनीतिक पावर संकलन गर्ने । उनीहरुको यो कुटिल चाल जनताले भित्री रुपमा बुझन निकै समय लाग्ने छ । चुनाव आउँछ, जान्छ त्यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा समाजको चेतनामा परिर्वतन हुनु हो । राज्यसत्ता बन्दुकको नालमा टिकेको हुन्छ भने समाज चेतनामा टिकेको हुन्छ । जबसम्म जनताको चेतनामा परिर्वतन हुँदैन तवसम्म आमूल परिर्वतन असंभव नै हुन्छ । नेताको कर्तब्य जनताको चेतनामा परिर्वतन गराउनु हो । तर अन्य दलका नेताहरु जनतालाई सचेत बनायो भने आफुहरु कमजोर बन्छौं भन्ने मानसिकता पालेर बसेका छन ।
अन्त्यमा यी कथनिकार, अवसरवादी, सुधारवादी नेताहरुको भिडमा राष्टिय जनमोर्चाका उम्मेदवारहरुलाई विजय हाँसिल गर्न फलामका चिउरा चपाउनु सरह भयो । तथापी हाम्रो उम्मेदवारी चुनाव जित्नका लागि मात्र नभई क्रान्तिकारी कम्युनिष्ट कार्यकर्ताहरुको निर्माण र विस्तार गर्नका लागि हो । जनतालाई सचेत र संगठति पार्दे नौलो जनवादी क्रान्तिको आधार तयार गर्नका लागि हो । यस्तै लक्ष्य र उदेश्यका साथ मेरो पनि उम्मेदावरी परेको थियो र म पनि चुनावी मैदानमा थिएँ । मैले राष्ट्रिय जनमोर्चाको चुनावी घोषणा पत्रका आधारमा काम गर्ने गरी चुनाव जिते पछि गर्ने( यदि हार भयो भने पनि त्यही काम गर्ने) केही कार्यहरु प्रतिवद्धता आम मतदाता समक्ष गरेको थिएँ । ती प्रतिवद्धताहरु हुनः
१) आममतदाता र जनताहरु जननिर्वाचित राजनीतिककर्मीका गलत विचार, कार्यसम्पादन र झुट्टा आश्वासनबाट आजित बन्नु भएको छ । तसर्थ पहिलो काम यसको उचित ब्यवस्थापन गर्नु हो । यदि मैले विजय हाँसिल गरेको खण्डमा प्रत्येक वडाहरुमा सांसदका लागि जनगुनासो पेटिका स्थापना गर्न लगाई ती गुनासाहरु संकलन गर्ने र जनतालाई परेको समस्या सामाधान गर्नका लागि सचिवालय खडा गरी ती समस्याहरुको एक हप्तामा सामाधान गर्ने विधि अबलम्बन गर्दै जनताको जनप्रतिनिधि भएको अनुभुति दिलाउने प्रतिवद्धता जाहेर गर्दछु ।
२) हाम्रो समाज, देश पछिल्लो समयमा परनिर्भरतामूखी बनेको छ । राजनीतिककर्मीहरुले राजनीतिलाई सेवा होइन, पेशा बनाएकाछन । तसर्थ देशको समृद्धिको मूख्य आधार स्थानीय स्रोत र साधनको प्रयोग, प्रसोधन र अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्नु हो । यसका लागि आम नागरिकहरुलाई उद्यमशीलतामा जोडन र टोल टोलमा स्थानीय कच्चा पदार्थहरुलाई प्रसोधन गरी बजारीकरण गर्नका लागि लघु, साना तथा मझौला उद्योगहरु स्थापना गर्नु पर्दछ । मैले चुनाव जितेपछी मेरो क्षेत्रमा न्यूनतम १०० वटा लघु उद्यम, ३ वटा लघु औद्योगिक ग्राम र १ वटा औद्योगिक क्षेत्र स्थानाका लागि पहल गर्दै कार्यकाल अवधिभर त्यस क्षेत्रका सम्पूर्ण युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने गरी स्वरोजगार बनाउने प्रतिवद्धता जाहेर गर्दछु ।
३)आत्मनिर्भर, समुन्नत र दीर्घकालीन समतामूलक समाज निर्माण गर्नका लागि खानी, पानी र जमिनको अधिकतम उपयोग गर्नु पर्दछ । यी तीन चीजलाई ठूला परियोजनाका रुपमा संचालन गरी अधिकतम उपयोग, उत्खनन गर्न सकेनौं भने हाम्रो भविश्य सुखद र सुन्दर हुन सक्दैन । त्यसैले खानी, पानी र जमिनको उचित प्रयोग र उत्खन गरी गरिवी, अभावलाई पूर्ण विराम लगाउनका लागि यस क्षेत्रका युवा जनशक्तिलाई यसै क्षेत्रमा ‘विकासका लाल दस्ता’ का रुपमा लिई उनीहरुलाई आवश्यकता अनुसारको प्राविधिक ज्ञान, सीप दिई विदेशमा हुने कमाईभन्दा उचित श्रमको मूल्य सहित परिचालन गर्दै देश कै सम्वृद्ध क्षेत्र बनाउनका लागि १० वर्षे रणनीतिक योजना तयार पारेर कार्य प्रारम्भ गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।
अन्त्यमा म मेरो जीवनभर भ्रष्टाचार गर्दिन, चुनाव जित्नका लागि भोट किन्दिन, राजनीतिलाई पेशा बनाउदिन, जनतालाई झुट्टा कुरा बोल्दिन, जिते पनि चुनाव हारे पनि म नेपालकै सफल उद्यमी बन्नका लागि म मरो उद्यमशीलताको कर्म छोडदिन र हाम्रो समाजलाई उद्यमशील, आत्मनिर्भर बनाउका लागि अभियान्ताको रुपमा जीवनभर लागिरहने छु । आम मतदाताहरु समक्ष म यहि प्रतिवद्धता जाहेर गर्दछु भनि गरेका प्रतिवद्धताहरुलाई चुनाव हारे पनि मूख्य मार्गदर्शन बनाई यिनै प्रतिवद्धता पुरा गर्न लागिरहने छु ।
आजसम्म म मेरो क्षेत्रका मतदाताहरु समक्ष पुगेर बहस गर्दा मैले गरेका प्रतिवद्धताका आधारमा मलाई चुनावमा भोट हाल्ने धेरैले प्रतिवद्धता जाहेर गर्नु भएको थियो । तर चुनावी परिणामले मलाई १७४ वाला बनाए पनि न निर्भिक रुपमा नेकपा(मसाल)को नीति, सिद्धान्तलाई आत्मसाथ गर्दै राजनीतिक यात्राबाट विचलित हुने छैन । यसका साथै मैले उम्मेदवारी दिईसके पछि मत गणना भएको दोस्रो दिन आय÷ब्याय सार्वजनिक गर्ने प्रतिवद्धता समेत जाहेर गरेको थिएँ । यो प्रतिवद्धता पुरा गरेको छु । नेपालमा जतिसुकै उम्मेदवार भए पनि छलछाम नगरी यथार्त आय÷ब्याय भनेकै दिनमा सार्वजनिक गर्ने एक मात्र उम्मेदवार सायद म नै हुँ ला । यसमा मलाई गर्व छ । र उक्त आय÷ब्याय यस आलेख मार्फत पनि सार्वजनिक गर्न चाहान्छु ।
आय तर्फ
क) ब्यक्तिगत आम्दानी २८९२५
ख) सहयोग आम्दानी जिन्सितर्फ ३५००
ग) नगद सहयोग आम्दानी १००००
कूल आम्दानी ४२४२५
ब्याय तर्फ
क) संचारतर्फ ३०००
ख) सूचना तर्फ ५०००
ग) पोष्टर छपाई २५००
घ) झण्डा, ब्यानरतर्फ ५०००
ङ) मनोनयन दर्ता तर्फ ५०००
च) खाना,नास्ता र विविधि खर्चतर्फ १९४२५

 

 

 





Leave a comment

Your email address will not be published.


*