‘दैलेखमा बस्न पाउँ, असल ऋणी बन्न सकुँ’

          |   प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४     ::: 70 पटक पढिएको   |  

कविराज खत्री

मेरो लेखको शिर्षक हेर्दा, पढ्दा धेरै पाठकहरुलाई निरासाजनक लेख हो की भन्ने आभाष अवश्य हुनेछ । तर यो निरासाजनक लेख नभई मैले भोगेका र चाहाना गरेरका विषयहरुको समष्टिगत रुप रेखा र उत्पीडनका विषय तथा ती आईलाग्ने उत्पीडनबाट मुक्त हुने सन्देशमूलक लेख पस्कने विचारले यो लेख लेख्ने प्रयास गरेको छु ।
विषयको शुरु मै के कुरा उल्लेख गरौं भने आजभोली मलाई (कविराज खत्री) लाई केही मित्रहरुले ‘दैलेख बस्ने नभए मात्र नत्र समस्या आउलान कसरी सामाधान गर्नुहोला हेरौंला रु भन्ने भनाई राख्न थाल्नु भएको छ । उहाँहरुको यो भनाईमा म पूर्ण समर्थन गर्न चाहान्छु । किनकी म मावन जातिको सामाजिक प्राणी हुँ । म बाँच्नका लागि मलाई सबैको सहयोग चाहिन्छ । सहयोग विना कुनै पनि मावनजाति बाँच्न सक्दैन । यति मात्र होइन, यो पूँजीवादी युग हो । सबै कुराको निर्धारण पूँजीले मात्र गर्दछ भन्ने मानसिकता बोकेको हाम्रो समाजमा जीवन यापन गर्दा म जस्ता कमजोर आर्थिक अवस्था भएका मान्छेहरुका लागि अधिकतम् समस्या नआउने त संभावना नै छैन । दुइ वर्षमा एक पटक एक जोर कपडा बदल्न नसक्ने म जस्ता सामान्य आर्थिक अवस्था भएकालाई झनै समस्या अवश्य आउँछ । यति मात्र होईन, म जुन विचार वोगर जुन पार्टीमा लागेको छु, त्यो पार्टीले भर्खरै सम्पन्न भएको चुनावमा राष्ट्रिय दलको मान्यता पाउन सकेन । यसको मतलव मेरो विचार बोकेको पार्टीको सत्ता पनि छैन र चाँडै सत्ता आउन सक्ने संभावना पनि छैन । यी सबै परिस्थितीले गर्दा मलाई अनेक कोणबाट सहयोग र समर्थन गर्ने सहयोगी मित्रहरुको अभाव परेको छ र पर्नेवाला पनि छ । यति मात्र होइन निरन्तर सहयोग गर्ने साथीहरुले पनि त्यो सहयोग र समर्थनलाई यथावत राख्नुहुनेछैन । मेरो ब्यवहारिक जीवन यापन गर्ने क्रममा आईलाग्ने यी आधारभूत समस्याहरु थप समस्याका रुपमा आउने संभावना देखिन्छ । यस अर्थमा पनि केही मित्रहरुले पख, हेरौंला भन्ने र सहयोग आफुले पनि नगर्ने र अरुलाई सहयोग गर्न नदिने गतिलो वातावरण बन्न सक्ने आधार बलियो बनेको छ । मैले भित्री रुपमा बुझेको कुरा पनि यहि हो ।
अर्को कुरा आज मैले यो लेख लेखिरहँदाको दिनमा मसंग सम्बन्धित तीन, चारवटा घट्नाक्रमहरु देखिए । प्रथम कुरा के हो भने यहि माघ २५ गते दैलेख उद्योग वाणिज्य संघ, दैलेखको चुनाव हुन गईरहेको छ । यो चुनावमा म र मेरो पार्टीले मोटामोटी रुपमा उद्योग वाणिज्य संघ, दैलेखका वर्तमान वाणिज्य उपाध्यक्ष कुलबहादुर वि।क।को नेतृत्व पक्षधरलाई सघाउने र चुनावमा भाग लिने सहमती भएको छ । यो कुरा मैले मेरो फेसवुक आईडिबाट सार्वजनिक गरें । कुरा सार्वजनिक हुनासाथ धेरै मित्रहरुका प्रतिक्रिया आएकाछन । ती प्रतिक्रिया मध्ये सर्वश्रेष्ठ प्रतिक्रिया यहि जिल्ला नबस्ने भए मात्र बस्ने भए समस्या आउलान कसरी समस्या सामाधान हुँदोरहेछ हेरौंला रु भन्ने जवाफ पाएँ । अर्को प्रतिक्रिया कुलबहादुर सोझो मान्छे हो, उसलाई उचाल्ने धुपौरेहरु खराब हुन भन्ने जवाफ पाएँ । यसको मतलव त्यो धुपौरेमध्येको एउटा धुपौरे म पनि परें । अर्थात मूल रुपमा मलाई नै भन्न खोजिएको हो । तेस्रो कुरा हाम्रो सत्ता छ, अहिले त महान पार्टीको सेना पनि हामीसित छ । तिमीहरु जस्ता को हार निश्चित छ । पख, हेरौंला, हामीसित जोरी खोज्नेलाई धुलो चटाउँछौं भन्ने जवाफ पाईयो । चौथो कुरा तपाँई राजनीतिक कर्मी अथावा जिल्ला स्तरको नेता हो । विचार गरेर, सबैलाई मिलाएर लैजानु पर्दछ भन्ने जवाफ पनि पाईयो । र अन्तिम कुरा के हो भने तिमीहरुको टिममध्ये जिल्ला स्तरको राजनीतिक टिमले तिमीहरुलाई नै घात गर्दछ, तिमीहरुको मत हामी ल्याउँछौं र चुनाव जसरी पनि जित्छौं पनि भन्नुभयो । यो पनि त राम्रै कुरा हो । तपाँईहरु जित्नुहोस शुभ कामना ।। म हार्न तयार छु ।
मेरा सहयात्री, सहयोगी असल मित्रहरुका कति पयका यी मर्मस्पर्सी कुराहरु सुनें, हाँसे र जवाफ दिइन । कतिपयका कुराहरुको सामान्य जवाफ दिएर घर फिर्ता भएँ । उहाँहरु सबैका कुरा सुने पछि मेरो मनमा एउटा कौतुहलता उब्जियो । त्यो कौतुहलता अर्थात मनमा के कुरा लाग्यो भने, ‘दैलेखमा वस्न पाउँ, असल ऋण बन्न सकुँ’
मित्रहरु तपाँईहरुको चाहाना, पीडा, रहर, आक्रोस, आवेग, सत्ताको दम्भ, पूँजीको सुगमता आदि इत्यादि सबै कुरा मैले असाध्यै गम्भीरतापूर्वक सुनें, मनन गरें । तर मेरा कुरा पनि एक पटक तपाँईहरुले सुनिदिन आग्रह गर्दछु । तपाँईहरुलाई म मेरो जन्मकुण्डली देखीको कथा सुनाउ चाहान्न । यो कथा तपाँईहरुले पढनुहुने पनि छैन । सायद फुर्सद नहुन सक्दछ । तथापी केही मूख्य कुराहरु उल्लेख गर्न चाहान्छु । मलाई याद छ मेरो बुबाले म सानो हुँदा मेरो घरदेखी तीन घण्टा टाढा पुग्याँ भन्ने गाउँछ । असारे झरीमा मेरो बारीमा फलेको आँप डोकोमा बोकेर त्यो आँप दिएर त्यसको सट्टा कोदो ल्याएर मिर्मिरे साँझमा घर आए पछि आमाले त्यो कोदो जाँतोमा पिसेर पिठो बनाएर विना तरकारीको नुन र कोदाको रोटी खाएर हुर्केको मेरो जिन्दगी हो । म मरो सन्तामा पहिलो पटक एस।एल।सी। पास गर्ने सन्तान हुँ तर मेरो घर परिवारले त्यो भन्दा उच्च शिक्षा पढाउन नसक्दा आफु मात्र होइन, मलाई जन्मदिने आमाबुबा र चिचिले भाई बहिनीको समस्या सामाधान गर्नका लागि गुजरात भारतमा गएर होटलमा भाँडा माझेर त्यहाँबाट आएको रकमले न्युनतम समस्या सामाधान गर्ने प्रयास गरेको ब्यक्ति हुँ ।
अर्को विषय कक्षा ६ मा मढदादेखी अर्थात २०४७ सालदेखी राजनीतिक क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएको ब्यक्ति हुँ । यस कारण जस्तासुकै समस्याहरु आईलागे पनि सहज रुपमा पचाउन सक्ने शक्ति र सामथ्र्य मसित रहेको छ । यसको अलावा हाल मैले यति बेला ज्वालागढी मसला उद्योग संचालन गरेर जीवन निर्वाह गर्ने प्रयत्न गरिरहेको छु । दैलेख सदरमूकामा यो उद्योग रहेको छ । यस जिल्लाका किसानहरुले उत्पादन गरेको बेसार, अदुवा, खुर्सानी, अलैंची, धनियाँ, स्थानीय अन्य उत्पादनहरु खरिदविक्री गर्ने गरेको छु । दैलेख जिल्लालाई औद्योगिक जिल्ला बनाउनु पर्दछ भनेर लागि परेको छु । किसानहरुलाई ब्यवशायिक किसान बनाउने प्रयास गर्दैछु । यो अभियान संचालन गरिरहँदा एकातिर एउटा समस्या आईलाग्दछ भने अर्कोतिर राजनीतिक रुपमा राष्ट्रिय जनमोर्चा, दैलेखको उपाध्यक्ष पदमा रहेकाले पनि केही राजनीतिक जिम्मेवारी वहन गर्नु पर्छ । यता पनि उत्तिकै समस्याहरु रहेकाछन ।
मित्रहरु, अहिले पनि म मेरो उद्योगमा आफै मेसिन चलाउँछु, दिनमा अधिकतम उद्योगमा काम गर्दछु, उद्यमीहरुका समस्या, किसानहरुका समस्या सामाधान गर्नका लागि विभिन्न प्रकारका कार्यहरु गर्दछु, राजनीतिक गतिविधि अघि बढाउन पार्टीले सुम्पेको जिम्मेवारी पुरा गर्दछु । म मदिर सेवन गर्दिन, जुवा खेल्दिन के मेरा यिनै कमजोरीहरु हुन त रु दिनमा अधिकतम काम गर्दा पनि समस्या उस्तैछन । आमा बुबालाई वर्षमा एकजोर गतिलो कपडा किन्न सकेको छैन । श्रीमतिलाई एक जोर कपडा बदल्न सकेको छैन । छोराछोरीलाई अहिले चलन अनुसार वोडिङ्ग पढाउन सकेको छैन । आफुले दुई वर्षमा एक जोर कपडा बदल्न सकेको छैन । महिनामा एक दिन बालबच्चालाई आधा किलो मासु खुवाउन सकेको छैन । मसिनो चामलको त के मोटो चामल किन्न, दाल, सागसब्जी किन्न समेत धौ धौ परेको छ । कक्षा ६ पढदादेखी अहिलेसम्म आफुले आफ्ना लागि एउटा झुपडी बनाउन त सकेको छैन, यसको अलावा आमा बुबाले बनाएको घरमा बस्न पाएको छैन । ममतामयी आमाले पकाएको एक टुक्रा वर्षमा एक दुई दिनभन्दा बढि खान पाएको छैन । विरामी हुँदा राम्रो औषधि उपचार गर्ने खर्च जुटाउन सकेको छैन । यी र यस्ता आधारभूत अनेक प्रकारका समस्याहरुसित संघर्ष गर्दै अघि बढिरहेको छु । तथापी समाजलाई उद्यमशील, राजनीतिक रुपमा सचेत, विधिको शासनमा चल्ने सत्ता स्थापना गर्नु पर्दछ । स्थानीय साधान र स्रोतका अधिकतम उपयोग गर्नु पर्दछ, प्रसोधन गर्नु पर्दछ । औद्योगिक जिल्ला बनाउनु पर्दछ भन्ने अभियानमा संलग्न रहेको छु । मेरो अन्तिम चाहाना पनि यहि हो ।
यति मात्र होइन, हाम्रो दैलेख जिल्ला पछाडि पर्नुका केही कारणहरु रहेकाछन । ती कारणहरु मध्येको एउटा खास कारण के हो भने दैलेखका अब्बल दर्जाका नेताहरु चुनाव प्रयोग गर्नका लागि मात्र दैलेखी हुने र अघि पछि सुर्खेत, नेपालगग, काठमाण्डौ जमिन किन्ने, घर बनाउने र बस्ने, यस्तै गरी अब्बल दर्जाका ब्यापारी, उच्च पदस्थ कर्मचारी, प्रध्यापक, सफल किसान, विदेश गएर कमाएका ब्यक्तिहरुको पनि यस्तै यस्तै सोचाई र प्रवृत्ती रहेको छ । मेरो मत के हो भने धन भएकाहरु, समाजको अग्रदस्ताहरु सबैले दैलेखलाई ब्यक्तिगत अवसर लिनका लागि मात्र प्रयोग गर्ने र अघिपछि अन्य जिल्लाको स्थायी वासिन्दा बन्ने जुन प्रवृत्ती छ, यसले गर्दा समाजमा नजानेका मान्छेहरुमात्र बस्दा, गरिव र पछौटेपन भएका मान्छेहरु मात्र बस्दा जिल्ला नै गरिव बनेको छ । गरिव मात्र होइन, यस जिल्लाको विकास हुन सकेको छैन । तसर्थ मेरो दृढ मत र चाहाना के छ भने म बाँचुन्जेल जे गर्दछु, यस जिल्लाको उन्नती, प्रगती र समवृद्धिका लागि केही गर्दछु । जस्ता सुकै चुनौती आए पनि म आफ्नो जिल्लाभन्दा बाहिरको स्थायी वासिन्दा बन्दिन अर्थात जिल्लाभन्दा बाहिर एक टुक्रा जमिन किन्दिन । यो मेरो दृढ प्रतिज्ञा रहेको छ ।
यसको अलावा दैलेख जिल्लाका ५ हजारभन्दा बढि किसानलाई म मेरो सस र मसाला उद्योगका लागि चाहिने कच्चा पदार्थ उत्पादन गर्न लगाई ब्यवशायिक किसान बनाउने, दर्जनौ बेरोजगार युवाहरुलाई रोजगार दिने अभियान अघि बढाई रहेको छु । यति मात्र होइन, दैलेख जिल्लालाई औद्योगिक जिल्ला बनाउनु पर्दछ भन्ने अभियान संचालन गरी जिल्लालाई आत्मनिर्भर, स्वरोजगारयुक्त बनाउन लागि परेको छु । यसका लागि मैले मेरो क्षमताले भ्याएसम्मको कसरत गरिरहेको छु । यो कार्य म एक्लैले गर्न सक्दिन । जसका लागि सबै तहको उक्तिकै आवश्यकता पर्दछ । हो, यो अभियानका लागि संगठन चाहिन्छ, सत्ता चाहिन्छ, सकारात्म सोच भएका सहयात्रीहरु चाहिन्छ र विभिन्न प्रकारका सामाजिक संघ÷संगठनहरुमा आफु पनि आवद्ध हुनु पर्दछ । यहि मान्यताका साथ म पनि कुनै न कुनै सामाजिक संगठनहरुमा कुनै न कुनै पदमा बसेको छु ।
मलाई अचम्म लाग्दछ, ती सामाजिक संगठनहरुमा पदिय जिम्मेवारी बाँडफाँड हुँदा सकभर सर्वसम्मत नसके चुनाव हुन लोकतान्त्रिक विधि हो । कोही कता, कोही कता लागेर चुनावमा भाग लिनु पनि अनौठो होइन । दैलेखको सन्दर्भमा पत्रकार महासंघको चुनाव भयो । सबैभन्दा बढि आक्रमण म माथि नै भयो । उद्योग वाणिज्य संघको चुनाव भयो, त्यतीबेला पनि सबैभन्दा बढि आक्रमण म माथि नै गरियो । राजनीतिक रुपमा अस्तिभर्खर चुनाव भयो, एउटा पक्षले मेरो हातखुट्टा नै भाँचिने धम्की दियो । त्यो धम्कि सेलाउन नपाउँदै यहि माघ २५ गते सम्पन्न हुन गईरहेको चुनावमा पनि सबैभन्दा बढि आक्रमण म माथि नै भएको छ । बस्लास, खालास, पख, हेरौं भन्ने कुराहरुले आजैबाट प्रहार भएको छ । मैले कसलाई के गरें आखिर रु मसित सत्ता छ र त्यो सत्ताको प्रयोग गरेर कसैलाई दमन गरें भन्नु पनि छैन । मसित अथाह सम्पत्ती छ र त्यो सम्पत्ती बाँडेर मत किन्ने कुचेष्ठा गरें भन्नु पनि छैन । मसित ठूले जनमत छ र त्यो जनमतले कसैलाई हराउन मद्दत गर्छ भन्नु पनि छैन । अर्को कुरा म नेतृत्वमा लडदैछु र कसैलाई बाईपास गरें भन्नु पनि छैन । आखिर म माथि किन प्रहार गरिन्छ हरेक पटक यसरी यसको जवाफ खोजिरहेको छु आज पनि म ।
अन्त्यमा, सायद त्यस कारणले बढि ममाथि प्रहार भएको हुनु पर्दछ, त्यो कारण के हो भने म जातपातका आधारमा गरिने विभेदको अन्त्य गर्नु पर्दछ, धर्मकर्ममा विश्वास गरेर समाजलाई प्रतिगमनमा फर्काउन हुन्न भन्ने मान्यता राख्दछु । समतामूलक समाज निर्माण गर्नु पर्दछ । यसका लागि लामो संघर्ष गर्नु पर्दछ । त्यो लामो संघर्ष भनेको नौलो जनवादी क्रान्ति हो । आमूल परिर्वतन नभएसम्म उत्पीडनका सबै रुप समाप्त   हुन्नन । नौलो जनवादी क्रान्ति मार्फत नौलो जनवादी राज्य सत्ता स्थापना गर्दै समाजवाद र साम्यवादको अभियान हाम्रो पालामा संभवन नभए पनि हाम्रा सन्नतीका पालामा संभव छ । यसका लागि तत्कालीन रुपमा ब्यक्तिगत स्वार्थ पुरा गर्नका लागि होइन, सामाजिक स्वार्थ पुरा गर्नका लागि दैनिक कर्म गर्नु पर्दछ भन्ने मान्यता बोकेकाले कसैको लप्पन छप्पनमा नलागेका कारण यति प्रहार खेप्नु परेको हो । मेरो अन्तिम निश्कर्ष यहि हो ।
तसर्थ म आम दैलेखबासीहरुलाई के अनुरोध गरौं भने जन्म दिने आमा र जन्मभूमी स्वर्गभन्दा प्यारो हुन्छ । म दैलेख जिल्लामा जन्मेका कारण मेरो लास मेरै जिल्लामा जलाउन चाहान्छु । सफल होइन, असल उद्यमी बन्न चाहान्छु । मलाई कमाउनु केही छैन, गुमाउनु केही छैन । वस एक गास खान पुगोस, एक टालो लाउन पुगोस । उद्यम संचालन गर्दा लागेको ऋण समयमै तिर्न सकुँ, ब्याज नियमित तिर्न सकुँ र दैलेख जिल्लामा हजारौं कृषकलाई लाभ दिन सकुँ यहि चाहाना रहेको छ । मेरो यो चाहाना हुँदाहुँदै कसैले मलाई गलहत्याएर, कुटेर, पिटेर बस्न नदिए त के गरौं नत्र म आफु जन्मेको जिल्लामा मर्न चाहान्छु र मेरो लास मेरो दैलेख जिल्लाले देख्न पाओस । यहि चाहाना सहित‘‘‘‘‘‘‘। अस्तु ।





Leave a comment

Your email address will not be published.


*