देउताको डरले छाउगोठमै बास

          |   प्रकाशित मितिः मङ्लबार, पुस २५, २०७४     ::: 110 पटक पढिएको   |  

 रेशमबहादुर खड्का, जाजरकोट 
महिनावारी भएको बेलामा जाजरकोटको जुनिचाँदेमा रहेको छाउगोठमा बसेकी एक महिला ।

जुनीचाँदे गाउँपालिका–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निक्कै डर लाग्नेगर्छ । तर त्यो भन्दा बढी डर उनलाई देउताको लाग्छ । देउताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छिन् ।
उनका लागि छाउगोठ जानु सामान्यजस्तै भइसकेको छ । ‘म मात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो, महिनावारी हुँदा यहाँका सबै महिलाहरु छाउगोठमै बस्छन्’ उनले भनिन्,‘बज्यै, आमा, भाउजुहरुले मानी आएको यो चलन हाम्रा लागि पनि नयाँ काम होइन, अब त नियमित काम जस्तै भइसक्यो ।’ गीताले जस्तै जुनीचाँदेको महिला र युवतीहरुले छाउपडी प्रथालाई संस्कारकै रुपमा स्वीकार्दै आएका छन् । ‘छुई हुँदा घरभित्रै बस्यो भने त देउता रिसाउँछन्, अनेक समस्या आइलाग्छन्’ गीताले छाउगोठ जानुको कारण बताईन्, ‘देउता लागे भने जिन्दगीभर दुख पाइन्छ, त्यो भन्दा बरु छाउगोठमा गएर बस्यो, एक हप्ता त हो ।’ ‘देउता लाग्ने’ डरकै कारण यहाँका महिलाहरु छाउपडी बार्न बाध्य छन् ।
शिक्षित पनि भ्रममै
जुनीचाँदेकी पार्वती खड्का आदर्श माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्छिन् । उच्च शिक्षा अध्ययनकै क्रममा रहेकी उनी पनि महिनावारी हुँदा छाउगोठमै पुग्छिन् । सरकारले छाउपडी प्रथा अन्त्य गर्न कानुन बनाएको छ भन्ने बारे उनलाई थाहा नभएको होइन । पार्वतीलाई छाउपडी प्रथा गलत हो भन्ने पनि थाहा छ । तर देउताको डरबाट भने उनी उम्किन सकेकी छैनिन् । उनलाई पनि देउताको डरकै कारण गोठमा बस्नैपर्ने बाध्यता छ ।
पहिलेदेखि चलिआएको चलनलाई नकार्न निकै गाह्रो भएको उनको भनाइ छ । ‘महिनावारी हुँदा गोठमा गई नबसे लागो लाग्छ’ उनले भनिन् ‘देउता रिसाए हामीलाई अनर्थ हुन्छ, अनि जानुपरेन त गोठमा ?’ कक्षा नौ मा अध्ययनरत गीता खड्का पनि पार्वतीकै जस्तो भ्रममा छिन् । उनलाई पनि गोठमा बस्दा हुने अन्य डरभन्दा देउता रिसाएर पु¥याउने क्षतिको डर बढी लाग्ने गर्छ । महिनावारीको समयमा र सुत्केरी हुँदा घरमा बसे देवताले नास गर्छन भन्ने गीताको बुझाइ छ । छाउपडीप्रथा गलत हो भनेर सुन्दै र पढ्दै आए पनि आफूलाई भने देउता रिसाउने डर नै बढी लाग्ने गरेको उनले बताईन ।
संस्कारको रुपमा स्वीकार
गाउँका सबै महिला र युवतीहरु महिनावारी र सुत्केरी हँुदा छाउगोठमै बस्ने गरेकोले आफू पनि त्यही बस्ने गरेको गीताको भनाइ छ । गीता र पार्वती मात्र होइन, जिल्लाका विकट एवम दुर्गम गाउँपालिकाको रुपमा रहेको जुनीचाँदे गाउँपालिका वडा नं ४ लुहादहका सबै महिलाको बाध्यता बनेको छ, छाउगोठ ।
महिनावारी हँुदा सात दिन र सुत्केरी हुँदा १० दिन गोठमा बस्नुपर्ने बाध्यताका कारण उक्त गाउँका महिलाहरुले विभिन्न किसिमका समस्याहरु झेल्नु परेको स्थानीय प्रेमबहादुर खड्काले बताए । तर यहाँका नागरिकले यसलाई संस्कारकै रुपमा स्वीकार गरेको उनी बताउँछन् । पुरानो पुस्ताको जिद्दी र नयाँ पुस्ताले पनि त्यसैलाई स्वीकार गरेका कारण गाउँबाट छाउपडी प्रथा हटाउन नसकिएको बताए । विद्यालयमा छाउपडी प्रथाले निम्त्याउने समस्या र यो अन्धविस्वास हो भने जतिपटक पढाए पनि विद्यार्थीहरु नै यो भ्रमबाट मुक्त हुन नसकेको आदर्श माविकै शिक्षक नेपालीदास चौधरीले बताए । पुर्खादेखि नै चल्दै आएको चलन भएकाले छाउपडी प्रथाको छाप मेटाउन नसकिएको उनले बताए । ‘म आदर्श माविमा आएको करिब १८ बर्ष पुरा भयो, यहाँका अधिकांस विद्यार्थीलाई बालबिबाह र छाउपडीको बारेमा जतिसुकै शिक्षा दिएता पनि यो प्रथाको अन्त्य हुनै सकेको छैन’ शिक्षक चौधरीले भने ।
जोखिममा ज्यान
स्थानीय कविता बस्नेत खड्का भन्छिन्, ‘जस्तोसुकै अवस्था आए पनि सुत्केरीलाई छाउगोठमा नबसी सुख छैन ।’ सुत्केरी अवस्थामा छाउगोठको बसाईले बच्चा स्याहार गर्न कठिन हुने गरेको र यो भन्दा पहिले धेरै बालबालिकालगायत आमाकोसमेत ज्यान जाने गरेको उनले बताईन । यहाँका किशोरी र महिला कुसंस्कारको सिकार बन्दै आएका छन् । ज्यान जोखिममै राखेर महिलाहरु छाउगोठमा बस्ने गरेका छन् ।
छाउपडीमा बस्दा विरामी परेर प्रत्येक महिना एक दर्जनभन्दा बढी बिरामी उपचारको लागि आउने गरेको स्थानीय स्वास्थ्यकर्मी प्रदिप थापाले जानकारी दिए । स्थानीय नागरिक अगुवा सिंहबहादुर खड्का छाउपडीका कारण महिलाले भोग्नु परेका समस्याका बारेमा घटनाहरु बाहिर नआएता पनि भित्रभित्रै महिलाहरु छाउगोठमा बलात्कृत हुने गरेको बताए ।
किशोरीको पढाइमा बाधा
छाउपडी प्रथाका कारण यहाँका किशोरीहरुको पढाइमा बाधा उत्पन्न भएको आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुर खड्काल बताए । लुहादहमा रहेको छाउपडी प्रथाकै कारण विद्यालयमा अध्यनरत किशोरीहरु बिद्यालय आउन लजाउने गरेको र कतिपयले विद्यालय नै छोड्ने गरेको उनले जनाए । महिनावारीबारे जनचेतना जगाउन नसक्दा र छाउपडी प्रथाकै कारण यस्तो समस्या देखिएको उनको भनाइ छ ।
स्थानीय सरकार मौन
अन्धविस्वासका कारण छाउपडीप्रथाले विकराल रुप लिए पनि यसलाई हटाउनका लागि भने कुनै ठोस पहल गरिएको छैन । छाउपडी प्रथा हटाउन केही नागरिक अगुवाहरुले पहल गरे पनि सरकारी निकाय मौन हुँदा बीचमै रोकिएको छ । यसको अन्त्यका लागि कुनै निकायले ध्यान नदिँदा छाउपडी प्रथा जटिल बन्दै गएको स्थानीय सार्की खड्काले बताए ।
छाउपडी प्रथा हटाउनका लागि स्थानीय युवा आमा समुहले विभिन्न समयमा गरेको प्रयास बुढापाकाको जिद्धीका कारण र सरकारी निकायको वेवास्ताका कारण हट्न नसकेको उनी बताउँछन् । २०७२ सालदेखि गाउँमा महिला र आमा समुह गठन गरेर केही प्रयास गरिए पनि त्यसले पूर्णता पाउन नसकेको महिला स्वास्थ्य स्वयंसेविका डिल्लासरा खड्काले जानकारी दिइन् । खासगरी सरकारी निकायले कुनै चासो नदेखाएपछि आफुहरुबाट यो प्रथाको अन्त्य हुन नसकेको खड्काको भनाइ छ । स्थानीय सरकार गठन भएको लामो समय बितिसके पनि छाउपडी हटाउन अहिलेसम्म कुनै पहल नभएको उनको भनाइ छ ।
सरकारले नै छाउपडी प्रथाविरुद्धको ऐन बनाएर लागू गरेको छ । यसको कार्यान्वयन गराउने जिम्मेवारी राज्यका निकायहरुको हो । तर सरकारी निकायसँग नै छाउपडी प्रथा अन्त्य गर्ने कुनै योजना र कार्यक्रम भने छैनन् । महिला तथा बालबालिका कार्यालय जाजरकोटका प्रमुख पंकजाकुमारी जोशी यो प्रथा अन्त्य गर्न जनचेतना जगाउनुपर्ने बताउँछिन् । तर उनले नेतृत्व गरिरहेको महिला तथा बालबालिका कार्यालयले भने यसका लागि कुनै काम गरिरहेको छैन । उनले जाजरकोटका अधिकांश ठाँउमा महिला समुह निर्माण गरेको र यसबारेमा स्थानीय जनतामा जनचेतना जगाउन अति जरुरी भएको बताईन् । स्थानीय सरोकारवाला, राजनीतिक दल र स्थानीय जनताको सहभागितामा कुप्रथा हटाउन पहल भए मात्र यो प्रथालाई अन्त्य गर्न सकिने उनको भनाइ छ ।
उता जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले यो प्रथा अन्त्यका लागि पहल गर्ने बताए । आफ्नो एक्लो प्रयासबाट छाउपडी प्रथा अन्त्य गर्न नसकिने भन्दै उनले सबैले साथ दिनुपर्ने बताए । युवापुस्ताले छाउ हटाउन खोजे पनि वृद्धवृद्धालाई बुझाउन नसकिएको केसीको भनाइ छ । उनले भने ‘अब हामी विशेष कार्यक्रम बनाएर यो कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्छौँ, गाउँपालिका बजेट कार्यान्वयन प्रक्रियामा छ । यो प्रथा अन्त्यको लागि गाउँपालिकाबाट बजेट पनि बिनियोजित गरिएको छ ।’ सबै जनप्रतिनीधिहरु आ–आफ्नो ठाउँमा सक्रिय भई छिटै अभियान चलाएर यो संस्कार बदल्ने कार्यमा गम्भीर हुने अध्यक्ष केसीले बताए । साथै उनले जिल्लाका सम्बन्धीत निकायहरुले यो प्रथा अन्त्य गर्नको लागि समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

 (क्रियाशील पत्रकार मञ्च नेपाल)





Leave a comment

Your email address will not be published.


*