नेतालाई थुकेँ,प्रशासनलाई थुकेँ, यो देशको सत्ता शक्ति र समग्र सिस्टमलाई थुकेँ

नेतालाई थुकेँ,प्रशासनलाई थुकेँ, यो देशको सत्ता शक्ति र समग्र सिस्टमलाई थुकेँ

सुरज रोकाया

चौरजहारी नगरपालिका – ४ रुकुम पश्चिम हाल रोजगारीको सिलसिलामा मलेसिया पहाङ

मनको पाखाभरी देश फुल्थ्यो । खोइ कसले रोपिदिएको हो रु मनमा उम्रिएको देशभक्ती सपनाको फुल हरियो र बास्नादार थियो । सोही सपनाको सुगन्धित उर्जाले जीवन दौडाएको थिएँ । हजारौं म जस्तैलाई मेरो सपना भित्र फुलाउने मेरो अर्को सपना थियो ।

चेतनामा सदा देश बोकेर दौडिने म आज परदेश पुगेको छु । खाडीको तातो घामले देशभक्ती सपना मुर्झाएको छ । हुन त रेमिट्यान्स लाई माध्यम बनाएर पनि मैले मेरो देशभक्ती जीवितै राखेको छु क्यारे । तर मेरो सपनाको देशभक्ति कन्दरामा जीवनको फुल फुलाउने आदर्शको थियो ।

बल्न लागेको दियो राजनीतिक हुण्डरीले निभ्याई छोड्ने हाम्रो देशको विडम्बना रहेछ । श्वास फेर्न पनि पार्टीहरुबाट हावा पैंचो माग्नुपर्ने परस्थितिमा पार्टीवाला झोला कन्टेनरमा फ्याँकिदिएको मलाई परदेश नहिडि सुखै भएन ।

सामान्य आर्थिक हैसियत भएको परिवार छ हाम्रो । मेरो पढाइ अलपत्र परिसकेको थियो । पढाइ नभएका हामीले के काम पाउनु देशमा ? काम गर्ने चेष्टा नभएको पनि होइन, धेरै ठेकेदार सँग लेबर गरेको छु । नाली खनेको छु । ढुङ्गा फोडेको छु । सिमेन्ट,गिट्टी र बालुवा सबै सँग खेलेको छु ।

देशमा काम गर्नुको दुई वटा समस्या छ । पहिलो ज्याला कम छ, र दोस्रो समयमा ज्याला पाइदैन् । कमाएको ३० हजार पाउन ६० दिन संघर्ष गरेको भोगाई छ मेरो । यही भोगाइले त परदेशिन प्रेरणा दियो ।

उमेर बढेपछि भविष्यको चिन्ता पनि बढ्दो रहेछ । भविष्य बनाउने नेपाली सुत्र त त्यही हो “पासपोर्ट” । पासपोर्ट नवनाई भविष्य कुन नेपालीको बन्छ र ? ए अँ बन्छ नि १ नेता सँग फोटो खिच्नेहरुको । नेता जि को दैलोमा चाकडी टक्र्याउनेको । उहाँको आदेशमा ‘गु’लाई सुन भन्नेको । अनि सामुहिकताको नारा दिएर धनको कुम्लो एक्लै उठाउनेको ।
दुनियाँको दौडले मेरो मगजको ढोका उघारिदियो । ढोका भित्र ठूलो अक्षरमा लेखेको थियो “जीवन आदर्शले चल्दैन,पैसाले चल्छ ।” पैसा कमाउने साधन विदेश भन्दा अर्को भेटिएन । तब त काठमाडौ हानिए भिजा लगाउन । खाडीको भिजा लगाउन पनि दिसा निस्किने रहेछ । पूरा दुई महिना लाग्यो ।

भिजा लाग्दा मन दोधार भयो । खुशी हुनु कि दु: खी ? एकातिर देश छाड्न पटक्कै मन नभएको, अर्कोतिर ट्राइ गरेको भिजा सफल भएको । विदेश के म मात्रै जाँदै छु र रु बग्ने सबै खोलाहरु नदी सम्म पुगे जस्तै त हो नेपालीका लागि परदेश । खोला र नेपाली जवानहरुमा एउटै फरक त छ । खोलाहरु फर्किएर मुहान सम्म आउने चाहाना गर्दैनन् ,जवान फर्केर घर आउने सपना देख्छन् ।

भिजा झरेपछि एजेण्टले काठमाडौं बोलाए । प्लेन कहिल्यै नचढेको म । जेट विमान चढ्ने कल्पनामा मुग्ध हुदै काठमाडौको गाडी चढेँ । काठमाडौँ पुगेपछि थाहा भयो प्लेन चढ्ने धेरै दिन बाँकी रहेछन् । टिकट नै लिइएको रहेनछ । अब टिकटको पर्खाइमा बस्नुपर्ने भो । हिजो भिजाको पर्खाइ आज टिकटको पर्खाइ भोली प्लेनको प्रखाई । यो जिन्दगीमा कतिवटा प्रखाई परेका होलान् मेरो भागमा ?

म काठमाडौँमै थिएँ । टिकट फिक्स भएको खबर पाएँ । त्यही दिन आमालाई बिरामीले च्यापेको पनि सुनेँ । खुशी र दुख संगै घोलिएर किन आएको होला रु आमालाई काठमाडौं मै ल्याएर उपचार गर्नुपर्ने भयो । पर्सी टिकट छ, आमा अस्पतालको बेडमा हुनुहुन्छ । देश छाड्दा त्यसै त मन कमजोर हुन्छ । झन कमजोर परिस्थिति किन बनाएको होला दैवले ? हुन त मेरो हिम्मतको परीक्षा होला यो ।

उड्ने दिन आयो । ९ः३० बजेको प्लेन टिकट थियो । सबै तयारी हिजै सकेको थिएँ । आजको काम आमा संग बिदा माग्नु र प्लेन चढ्नु थियो । श्री वीरेन्द्र अस्पताल छाउनीको बेड नं २६६ मा आमा पल्टिनु भएको थियो । कुरुवा दिदी हुनुहुन्थ्यो । अब म हिंड्नुपर्छ । म जान्छु भन्नै आँटेको थिएँ । ओठहरु कापेँ,आँखा नियन्त्रण बाहिर गए । आँखाको साउने मुल फुट्यो । छुट्न खोजेको डाको रोक्दै हत्तपत्त बाहिर निस्किएँ । अस्पतालको गेटमा आएर आँसु पुछेँ ।

ल राम्ररी गएस् है भन्न खोजेकी आमाको गला अबरुद्ध थियो । आमाले म तिर हेर्न सक्नुभएन । जमीनमा आँखा जोतेर जा रामरी जा… भन्नुभयो । तब त मेरो पनि मुटु फुट्ला जस्तो भएको हो । आमा सँग बिदा मागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तिर सोझिए । खिन्न मनले आफ्नै शरीर गरुङ्गो लागेको थियो आफैलाई ।

आमालाई अस्पतालको बेडमा सुताएर हजार डाँडा र सातौँ समुन्द्रको आकाश छेड्नुपर्ने कस्तो मेरो देश ? कस्तो हाम्रो बाध्यता ? थुक्न मन लाग्यो । देशलाई थुक्न भएन । नेतालाई थुकेँ,प्रशासनलाई थुकेँ । यो देशको सत्ता शक्ति र समग्र सिस्टमलाई थुकेँ । थुकेर पो के हुन्छ र है ?

हस्पिटलबाट बिमानस्थल हिड्दा ७ बजिसकेको थियो । बाटोमा जाम रहेछ । हाय रे काठमाडौँ १ मान्छेको यात्रा एक आधा घण्टा नरोके त के काठमाडौं रु सब चिज भुल्न मिल्छ तर आफ्नो पहिचान त भुल्नै भएन नि होइन र रु जाम छिचोल्दै विमानस्थल पुग्यौँ । मलेशिया सम्म साथी नपाए पनि एअरपोर्ट सम्म म एक्लो भैइन । मलाई गाउँका दाइहरु पुर्याउन आउनुभएको थियो ।

विचरा ती दाइहरु । अस्ति भर्खर घर फर्किए । मलेशिया गएको तीन महिमा मै घर फर्किनुपर्यो । फर्किन के सजिलै पाएर ? फर्किनकै लागि नजाने कति आँसु बगाए । नजाने कति रात अनिदो बसे । नजाने कति जना सामु गुहार गरे । नजाने कतिपटक आफ्नै दाँत किटे । उहाँहरुलाई देश झिकाउन मैले पनि मेहनत गरेको थिएँ ।

बिदाइका लागि उहाँहरुले खादा लगाईदिनुभयो । हाम्रो जस्तै उद्दार गर्न नपरोस् । राम्रो सँग गएस । राम्ररी बसेस् भन्दै एकदुईटा तस्बिर खिचेर उहाँहरु फर्किनुभयो । अब म एक्लो भएँ । फेरि मन बुझाएँ । सयौंको संख्यामा मानिस अटाउने यत्रो प्लेनमा म एक्लो कसरी हुन सक्छु रु सबै नेपाली त हाम्रा दाजुभाइ हुन् ।

बिमानस्थल कहिले गएको थिएन । प्रकृया पार गर्न गाह्रो हुने, सब सोधेरै गरेँ । वैटिङ रुममा बसेर फेसबूक खोलेँ । फेसबूकमा फेरो त्यही अघि खिचिएको फोटो देखेँ । क्याप्सन शुभयात्रा भान्जा लेखेको थियो । मैले पनि त्यही फोटो तानेँ । “सत्य पैसा बाँकी सबै भ्रम, लागियो परदेश” क्याप्सन लेखेर पोस्ट गरेँ ।

मेरो पोस्ट देखेर होला तारन्तार फोन आउन थाले । मैले जाँदै छु भनेर धेरैलाई जानकारी गरेको थिइन् । कसैको कल उठाइन् । फेसबूक कमेन्ट पनि हेर्न सक्ने अबस्थामा पनि थिएन । सबै शुभचिन्तकलाई पुगेर फोन÷रिप्लाइ गर्ने मनस्थिति बनाएँ ।

हिड्न लागेको कुरा भन्नुपर्ने जतिलाई भनेको छु जस्तो लागेको थियो । तर बा छुट्नुभएछ । अरु एक दुई जना पनि छुटेछन् । साथी दिपेन्द्र र प्रेमिका सँग झगडा परेको थियो । उनीहरु पनि छुटेछन् । प्लेन चढ्नु अघि अर्को फोटो पोस्ट गरेँ । यो पोस्ट प्रेमिकालाई समर्पित गरेको थिएँ । पोस्टको क्याप्सन थियो “जिन्दगीमा धेरै साथ र सहयोग गर्दा पनि जीवनभर नभुल्ने पीडा दिएर जाने मेरो प्यारो मान्छेलाई फोन गर्न नपाए पनि सम्झेको छु ।”

प्रेममा अवरोध आएको थियो । मानौँ एउटै रबर चुडिएर दुई वटा भएका छन् जस्तो । उ फरक व्यवहार देखाउन थालेकी थिइ । मनै दुःख्ने शब्द बोलेकी थिई । मैले उसलाई जिन्दगीको भिटामिन ठानेँको थिएँ । उ त क्यान्सर रहिछ । कहिल्यै निको नहुने गरी मनको रोग लगाई ।

प्लेन चढियो अब त फोन अफ । मलेशियाको विमानस्थल पुगेर फोन खोलेँ । म संग मलेसियाको सिम पहिल्यै थियो । सिम हालेर फोन अन गरेँ । फेसबूकमा छिरेँ । धेरै शुभचिन्तकका कमेन्ट र पोस्टहरुमा शुभयात्रा लेखेका सन्देशहरु रहेछन् । सबैलाई कमेन्ट रिप्लाई गरेँ ।
बा संग अझै कन्ट्याक्ट् हुन सकेन । कसरी गरौँ रु बाले फेसबूक नचलाउने । बा को माया हुरक्कै लागेर आयो । टाढा हुँदा परिवारको याद झन गहिरो हुँदो रहेछ । परिवार, साथिभाइ, मेरो जन्मभुमि र मेरा सपनाहरु सम्झिदै रिसिभर पर्खेर बसेँ ।

यहाँको ५ बजे पुगेको मैले ११ बजे सम्म रिसिभरलाई कुर्नुपर्यो । ११ बजे उ आयो । बिमानस्थल बाहिर ल्याएर उसले ट्याक्सी चढायो । चिल्लो सडकमा ट्याक्सी चिप्लिन थाल्यो । बाटोमा एउटा होटलमा खाना खाइयो । मलेसियाको पहिलो गाँस गजब लाग्यो । कम्पनी पुग्न ६ घण्टा लाग्दो रहेछ । यात्राभर उस्तो रमाइलो नभए पनि त्यति मजा पनि लागेन । छेउमा भाषा मिल्ने मान्छे भए पो मजा आवस् ।

कम्पनीमा पुगेपछि एकजना नेपाली आए । उनले अरु नेपाली भएको रुममा छोडिदिए । बल्ल म खुशी भएँ । परदेशमा नेपाली देख्दा आफ्नै दाजुभाइ जस्तो लाग्ने । सबै संग घुलमिल भएँ ।

अनि गफ सुरु भो । घुममिल भनेकै एकले अर्कोलाई बुझ्नु त हो । एउटा दाइले कति तिरेर आयौ रु भन्नुभयो । २ लाख ८० हजार नगद खन्खन्ती बुझाएको थिएँ । त्यही भनेँ । क्रमशः कति पढेको छौ रु उमेर कति भयो भनेर सोध्नुभयो । मैले २० बर्ष भएको र १० कक्षा पढेको बताएँ ।

दाइले मेरो अनुहार हेर्दै विस्मयको भाव प्रकट गर्नुभयो । अलि हैरानीको स्वरमा भन्नुभयो “यति सानो उमेरमा, थोरैभए पनि पढेको मान्छे किन आको होला रु” हामी त भाग्ने तयारीमा छौँ ।

म झसङ्ग भएँ । ला फसियो भन्ने लाग्यो । त्यत्रो पैसा ऋण काढेर, आमालाई अस्पतालमा छोडेर आइया छ । अरु परदेशमा अलपत्र पर्दा उद्दारको कोसिस गर्थेँ । अब आफ्ना लागि कसलाई भनुँ रु दिमागमा चक्कर लाग्यो,पृथ्बी नाँच्न लाग्यो ,हातगोडा लुथ्रुक्क भए । सम्हालिनु त थियो नै ,नेपालमा मेरो टिम छदैछ, केही गरि अलपत्र परेँ भने जसरी नि असुल गर्न सकिन्छ भन्ने आत्माविश्वास जाग्यो ।

मैले दाइलाई सोधे किन भाग्ने र दाइ रु के छ र यहाँ रु यहाँ कामको कुनै फिक्स छैन । पठाउँदा नेपालको सदिक्षा मेनपावर कम्पनीले माछा प्याकिङ भनेर पठाको हो । “यहाँ त जे पनि गर्नुपर्छ । कहिले जंगल फडानी गर्न वन कुद्नुपर्छ । कहिले जहाज रंगाउन शिपमा झुन्डिनुपर्छ । कहिले ६०–७० किलोको माछा उठाउनुपर्छ । “दाइको यति बृत्तान्तले झन् हैरान भएँ ।

गफका कुरा थिए ति । अब कम्पनी भोग्न सुरु भयो । काम गर्न निस्कियौँ । म पनि सि फुड माछा प्याकिङ भनेरै आएको हो । पहिलो दिन जंगल फाड्ने हतियार भिराएर जंगल पठाइदियो ।

जंगल फडानी त नाम मात्रै रहेछ । त्यहाँ त जुकाको आहारा हुन गएका रहेछौँ हामी । कहाँ कहाँ पसेन जुका रु कति रगत चुस्यो चुस्यो रु विष लाग्थ्यो भने २० चोटी मरिन्थ्यो होला त्यो टोकाइ बाट । अझ सर्पको डर हुन्छ भन्थे साथीहरु । कुनै सर्प आएर शिरमा टोकेको भए के हुँदो हो रु मृत्यु घेरामा जीवन कैद भएको थियो । दिउँसो बाह्र बजे कामबाट फर्किएर अर्को काम जानुपर्ने भयो । काम थियो जाल संग समुन्द्रमा फाल्ने ब्लक बनाउनुपर्यो । लागियो सिमेन्ट र बालुवा संग धमाधम ।

आजभोली काम डुंगाबाट माछा उठाउने । तौलिने र त्यसलाई ट्वाङमा हाल्ने ,प्याक गर्ने काम गर्नुपर्छ । कामको कठोरता भनी साध्य छैन । बिहान ७ः३० देखि बेलुका ४ः३० सम्म एकछिन रोकिन मिल्दैन । मेसिन बरु बिग्रेरै सही, रेस्ट पाउछ होला तर परदेशमा मुनुष्यले पाइदैन । नेपाली त झन हेलाँका मुनुष्य । न सम्मान छ,न सजिलो काम छ ।

माछा उठाउदा उठाउदा हात फत्रक्क गल्छन । गह्रौँ भएर पिरो पिडाले तुरुक्क आँसु चुहिन्छ । माछा राखिने पानीमा सायद एसिड हुदो हो । हातका औलाहरुमा हरेक दिन घाउ लाग्छ । औला यसरी नकाम हुन्छन, मोबाइलको स्क्रीन टच पनि हुदैन । हात टाउको कतै पनि कुनै सेफ्टी छैन ।
मेसिनले बखतमा आइलिङ पाउछ । जति सम्भार र स्याहार मेसिनले पाउँछ,त्यति हामी कामदारले नपाउनु कस्तो अचम्म रु परदेश चट्टान भन्दा कठोर हुदो रहेछ । मृत्यु भन्दा पराइ हुदो रहेछ । फोहोर भन्दा घिनलाग्दो हुदो रहेछ । र राक्षस भन्दा नरभंक्षी हुदो रहेछ ।

आउदा आइहालियो । ऋण छ, अब जसोतसो दुई बर्ष कटाएर फर्किनुपर्ला । अनि आफ्नै जन्मभुमीको माटोमा पसिना रोपेर सन्तुष्टि फलाउनुपर्ला भन्ने सोच गरेको छु ।

लेखक रोकायको चौरजहारी नगरपालिका —०४ रुकुम पश्चिम स्थायी ठेगाना हो । हाल रोजगारीको सिलसिलामा मलेसिया पहाङ मा छन् ।-हाम्रो पहुँच

प्रतिक्रिया