स्थानीयस्तरमा उत्पादित अङ्गुर त्रिपुरासुन्दरीले खरिद गर्ने

स्थानीयस्तरमा उत्पादित अङ्गुर त्रिपुरासुन्दरीले खरिद गर्ने


जाजरकोट -   डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले उत्पादन गरेको अङ्गुर स्थानीय तहले नै खरिद गर्ने भएको छ । 

त्रिपुराकोट, गल्ली, रल्ली, खदाङ, फोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले नै खरिद गर्ने निर्णय गरेको नगरप्रमुख जनचन्द्र रोकायले बताउनुभयो । 

बजारको अभावमा प्रत्येक वर्ष किसानले बेहोर्नुपरेको ठूलो घाटालाई मध्यनजर राख्दै यसवर्ष नगरपालिकाले नै अङ्गुर खरिद गर्ने निर्णय गरेको उनको भनाइ छ । नगरपालिकाले खरिद गरेको अङ्गुरको जुस बनाएर आफैँले बिक्री वितरण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो  । 

नगरपालिकाले अङ्गुरको भुक्तानी प्रतिकिलो रु ८० का दरले एकमुष्टरुपमा कृषकलाई उपलब्ध गराउने भएकाले यस वर्ष कृषकलाई डोकोमा बोकेर बजार खोज्दै जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । 

नगरपालिका अन्तर्गतका किसानले उत्पादन गरेको अङ्गुर खरिद गर्दा करिब रु दश लाख खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । अघिल्ला वर्षहरुमा अङ्गुर बिक्री नहुँदा किसानलाई घाटा भएको थियो । 

वर्षभरि दुःख कष्ट गरेर उत्पादन गरेको अङ्गुर ग्राहक नपाउँदा कम मूल्यमा बेच्नुपर्ने र सित्तैमा बाँड्नुपर्ने अवस्था आउने गरेको थियो । नगरपालिकाले सम्पूर्ण किसानले उत्पादन गरेको अङ्गुर किन्ने निर्णयले आफूहरु धेरै उत्साहित भएको त्रिपुराकोटका अङ्गुर किसान कमल हमालले बताउनुभयो  ।

यो निर्णयले किसानको मेहनत खेर नजाने उहाँको भनाइ छ । नगरपालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वमेयर स्व ओमबहादुर बुढाले भारतको नासिकबाट अङ्गुर ल्याएर कृषकलाई व्यावसायिक रुपमा खेती गर्न लगाउनुभएको थियो । रासस

प्रतिक्रिया