नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ भोलि आइतबार

नवनियुक्त मुख्यमन्त्री कार्कीको  शपथ भोलि आइतबार

काठमाडौँ–  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पदको शपथ भोलि आइतबार खाने भएका छन्। 
आज शनिबार बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई सनाखत गराएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

अब उहाँलाई आइतबार दिउँसो ३ बजेभित्र शपथ गराउने तयारी रहेको उहाँका निजी सचिव नरेन्द्र श्रेष्ठले बताउनुभयो । 

‘माननीय केदार कार्कीले ४७ सांसदको सनाखत गराउनुभएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको छ’, श्रेष्ठले भन्नुभयो, ‘भोलि दिउँसो १ देखि ३ बजेभित्र शपथ हुन्छ।’

यसअघि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले पनि कांग्रेसका ८ जनासहित ४७ सांसदकै हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख खापुङलाई निर्णय गर्न गाह्रो भएको थियो।  

त्यसपछि उहाँले आज दुवै पक्षलाई प्रदेश प्रमुख कार्यालयमा आई हस्ताक्षरमा सनाखत गर्न भन्नुभएको थियो । त्यस क्रममा कार्कीका पक्षमा कांग्रेसका ८ जना तथा एमालेका ३९ सांसद गरी ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगी हस्ताक्षरमा सनाखत गरेपछि कार्की मुख्यमन्त्री बन्न सफल हुनुभएको हो । 

आङ्बो पक्ष भने आफूतिर पनि हस्ताक्षर गरेका कांग्रेसका ८ सांसद कार्कीकै पक्षमा सनाखत गर्न गएपछि अल्पमतमा पर्‍यो । जसका कारण आङ्बो पक्षका सांसद सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय नै गएनन्। 

प्रतिक्रिया