स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई पाँच हजार भत्ता

स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई पाँच हजार भत्ता

ओखलढुंगा –     मानेभन्जाङ गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई प्रोत्साहन भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाले पालिकाभित्र तथा बाहिरका स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई पाँच हजार रुपैयाँ भत्ता वितरण गर्दै आएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख ढवलराज राईका अनुसार सुत्केरी आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राखी सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले सो कार्यक्रमको लागि चालु आर्थिक वर्षमा ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । रकम अपुग भएमा हिउँदे अधिवेशनबाट व्यवस्थापन गर्ने बताउनुभयो ।

गाउँपालिकाले ०७५ सालदेखि सुत्केरी कोसेली कार्यक्रम अनुरुप सो रकम वितरण गर्दै आएको बताउनुभयो । सो रकम स्वास्थ्य संस्थामार्फत सुत्केरी महिलालाई वितरण गर्ने बताउनुभयो  । तत्कालीन समयमा गाउँपालिकामा होम डेलिभरी र कुपोषणको समस्या धेरै भएकाले सो न्यूनीकरणको लागि कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

‘आर्थिक अभावले सबै आमाले पोसिलो खानेकुरा किन्न सक्ने अवस्था थिएन । सबैको स्वास्थ्यमा समान गर्नको लागि यो कार्यक्रम ल्याएका थियौँ,’ उहाँले भन्नुभयो, ‘कार्यक्रमबाट सुत्केरी आमालाई रकम वितरण गर्न थालेसँगै बच्चा र आमाको स्वास्थ्यमा सुधार भएको छ ।’

कार्यक्रम सञ्चालनमा ल्याएसँगै होम डेलिभरी शून्य भएको उनको दावी छ । ‘कार्यक्रमबाट होम डेलिभरी शून्य भएको छ,’ उहाँले भन्नुभयो, ‘कोरोनाको समयमा दुई जनाले घरमै बच्चा जन्माएका थिए । सो यता होम डेलिभरी छैन ।’ उनका अनुसार गाउँपालिकामा वार्षिक १४४ जना शिशु जन्मने गर्दछ । 

गाउँपालिकाले पोसिलो खानेकुराको लागि गत वर्षसम्म गर्भवती आमालाई अण्डा वितरण गर्दै आएको उहाँले बताउनुभयो  । तर आवश्यकता अनुसार अण्डा नपाइएकोले सो कार्यक्रम चालु आर्थिक वर्षदेखि कटौती गरेको उहाँको भनाइ छ । 

उहाँका अनुसार गाउँपालिकामा एउटा सामुदायिक इकाइसहित ९ वटा स्वास्थ संस्था सञ्चालनमा रहेका छन् । तीमध्ये सात वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । 

प्रतिक्रिया