सर्केगार्ड २ को ल्याप्चेमा स्थानीयलाई फोन गर्न निकै सकस

सर्केगार्ड २ को ल्याप्चेमा स्थानीयलाई फोन गर्न निकै सकस

सिमकोट – सर्केगार्ड गाउँपालिका– २ को ल्याप्चेमा स्थानीयलाई फोन गर्न निकै सकस हुने गरेको पाइएको छ। उक्त क्षेत्रको एक स्थानमा त्यो पनि लड्डीमा मोबाइल राखेर मात्र नेटवर्कले काम गर्ने भएकाले फोन गर्न कठिन भएको हो।

ल्याप्चेका स्थानीय ब्यापारी कमल कठायतले फोन सम्पर्क गर्न निकै कठिन हुने गरेको बताउनुभयो । उहाँले मोबाइल फोन सम्पर्क गर्न एउटा काठको लड्डी नै बनाउनुपरेको छ। उक्त लड्डीमा किला राखेर मोबाइल फोनलाई त्यसैमा राखेपछि मात्र नेटवर्क टिप्ने गरेको छ।

उहाँले त्यो पनि साधारण मोबाइलमा नेटवर्कले काम गर्ने गरेको बताउनुभयो । दुई वर्षदेखि कठायतले त्यही विधिद्धारा फोन सम्पर्क गर्दै आएका छन्।

स्थायी ठेगाना जुम्ला भएका कठायतले ल्याप्चेमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । होटेलमा आउने ग्राहकको सञ्चार सम्पर्क पनि उहाँले गरिदिने गरेका छन्।

होटेलमा आउने ग्राहकलाई मोटरसाइकल आवश्यक परे उहाँले स्याल्तडी र सर्केगार्डबाट बोलाइदिने गर्नुभएको छ । हाल ल्याप्चेको कर्णाली नदीपारिसम्म सडक सञ्जाल जोडिएको कारण मानिसको चहलपहल निकै बढेको छ। तर, सञ्चार सम्पर्क गर्न भने निकै कठिन हुने गरेको छ। यो समस्या ल्याप्चेका होटेल तथा अन्य व्यवसाय गरेर बस्नेहरूको उस्तै छ।

प्रतिक्रिया