भूकम्प प्रभावित सङ्ख्या ८० हजार पुग्याे

भूकम्प प्रभावित सङ्ख्या ८० हजार पुग्याे

जाजरकोट - भूकम्प प्रभावित लाभग्राहीको सङ्ख्या झन्डै ८० हजार पुगेको छ । अध्यावधिक तथ्याङ्कपछि लाभग्राहीको सङ्ख्या ७९ हजार ५ सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निजी आवास तथा पुनर्निर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पहिला जनाइएको ६८ हजारमा पछिल्लो अध्यावधिक संख्या १२ हजारभन्दा धेरै लाभग्राही थपिएका छन् । जाजरकोट भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि ४ अर्ब ७५ लाख रुपैयाँ लाग्ने सरकारी अनुमान रहेकोमा थप रकम चाहिने अनुमान गरिएको छ । 

नेपाल सरकारले लाभग्राहीका लागि अहिलेसम्म २ अर्ब २६ करोड रुपैयाँ निकासा गरेको छ । केन्द्रबाट निकासा गरी पठाएको रकम मध्ये जिल्ला विपद् व्यवस्थापन समितिबाट पालिकाको विपद् व्यवस्थापन समितिमा १ अर्ब ९० करोड रुपैयाँ गएको र पालिकाबाट लाभग्राहीको खातामा १ अर्ब २६ करोड रुपैयाँ पुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

हालसम्म ५० हजार लाभग्राहीको खातामा पहिलो किस्ता रकम पुगेको छ । त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताउनुभयो । १० हजार घर निर्माणाधीन छन् ।

भूकम्पले घर भत्किएका ५५ हजारभन्दा धेरै परिवार अझै त्रिपालमुनि बस्न बाध्य छन् । साढे २ महिनादेखि पालमुनि बस्दा चिसोले सताएको पीडितहरू बताउँछन् । जाजरकोट केन्द्रविन्दु भएर गएको कात्तिक १७ गते गएको भूकम्पका कारण १ सय ५७ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया