प्रयोगमा आएन् नमूना बस्ती

प्रयोगमा आएन् नमूना बस्ती

कालीकोट -   कालीकोट जिल्लाको रास्कोट नगरपालिका–७ पोखरीकोटमा निर्माण गरिएका नमूना बस्ती सञ्चालनमा आउन सकेका छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमूना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका हुन् । 

विसं २०७८ को बाढीपहिराले रास्कोटका जोखिममा परेका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो । 

नीलो जस्तापाताले सिँगारिएका एकनासका घरहरु आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमूना बस्ती रहेको स्थानीय नवराज शाहीले बताउनुभयो । “विसं २०७७/७८ मा बाढीपहिराबाट पीडितका लागि प्रदेश सरकारले पहिलोपटक एकीकृत नमूना बस्तीको अवधारणा ल्याएको थियो”, उहाँले भन्नुभयो, “अहिले बाढीपहिरो पीडित पुरानै जोखिमाका घरमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लगाइएको छन् ।”

पहिराले पूर्णरुपमा क्षति पुर्‍याएका ७३ परिवारका लागि आवास बनाइएकामा अहिले उक्त बस्तीमा १६ परिवार मात्र बस्ने गरेको नगरपालिकाले जनाएको छ । 

रास्कोट–१, ३ र ७ का बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि प्रदेश सरकारले रु पाँच करोड बजेट छुटाएर सोही रकमबाट बस्ती निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताउनुभयो । “एकीकृत बस्तीको काम सकिएलगत्तै बस्ती बसाल्ने सोच थियो तर त्यो सफल हुन सकेन”, उहाँले भन्नुभयो, “खानेपानीलगायत केही भौतिक संरचना निर्माण गर्न बाँकी रहेकाले पीडित बस्न मान्नुभएको छैन ।”

प्रतिक्रिया