सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढ्यो

सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढ्यो

पर्सा - सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पर्सामा बढ्दै गएको छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा चालू आवको सोही अवधिमा सवारी दुर्घटनामा ५८ प्रतिशत वृद्धि भएको छभने ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढेकोे छ ।

गत आवको पहिलो छ महिनामा भएका एक सय ३१ सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको तुलनामा चालू आवको सोही अवधिमा दुई सय सात सवारी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । जिल्लामा भएका कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिनुभयो । 

उहाँले सबैभन्दा बढी सवारी दुर्घटना जिल्लाको ग्रामीण भेगमा हुने गरेको छ । उहाँले दुर्घटनाको मुख्य कारण द्रुतगतिमा सवारी साधन चलाउनु नै रहेको बताउनुभयो । सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि भएसँगै दुर्घटनामा परी गम्भीर घाइते हुनेको सङ्ख्या १९ प्रतिशत र समान्य घाइतेको सङ्ख्या ५० प्रतिशतले वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

गत आवमा भएका सवारी दुर्घटनामा परी गम्भीर ४१ र सामान्य एक सय ८१ घाइते भएको तुलनामा चालू आवमा गम्भीर घाइते हुनेको सङ्ख्या ४९ र सामान्य घाइतेको सङ्ख्या दुई सय ७१ पुगेकोे निरीक्षक खतिवडाले जानकारी दिनुभयो । उहाँले बढ्दो सवारी दुर्घटनालाई न्यून गर्न ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा आयोजना गरेको चेतनामूलक कार्यक्रममा ४१ हजारभन्दा बढी व्यक्तिलाई सवारी ऐनबारे जनचेतना दिएको बताउनुभयो । 

प्रतिक्रिया