रुकुममा प्रभावकारी बन्दै नेपाल टेलिकमको सेवा

रुकुममा प्रभावकारी बन्दै नेपाल टेलिकमको सेवा

रुकुम पश्चिम -  रुकुम पश्चिममा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा सहज बन्दै गएको छ । केही वर्ष अघिसम्म दूर दराजका नागरिकलाई फोन गर्न घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो ।

पछिल्लो समय विभिन्न ठाउँमा नेपाल टेलिकमका टावर निर्माण भएपछि नागरिकलाई फोन तथा इन्टरनेट सेवा लिन सहज भएको छ । पहिले गाउँमा घण्टौँ हिँडेर नेटवर्कले काम गर्ने ठाउँमा पुगेर फोन तथा इन्टरनेट सेवा लिनुपर्ने बाध्यता थियो ।

पछिल्लो समय जिल्लाका विभिन्न १९ ठाउँमा नेपाल टेलिकमको टावरबाट सेवा प्रवाह भएपछि प्रयोग कर्तालाई सेवा लिन सहज भएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले बताउनुभयो  । उहाँका अनुसार जिल्लाका छ वटा स्थानीय तहका विभिन्न ठाउँमा नेपाल टेलिकमका १९ वटा टावर मार्फत फोन तथा इन्टरनेटको फोरजी सेवा प्रवाह भइरहेको छ ।

‘पहिले इन्टरनेट गाउँमा चल्दैनथ्यो, आफन्तसँग कुरा गर्न पनि मुस्किल हुन्थ्यो, आज भोली जिल्लाको सबै ठाउँमा नेपाल टेलिकमको सेवा पुगेको छ, प्रयोगकर्तालाई समस्या छैन प्रमुख शर्माले भन्नुभयो ।’ प्राय ठाउँमा विद्युत् लाइन पुगेकाले पनि सेवामा सहज हुँदै गएको छ । विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जाबाट सेवा दिँदा घाम नलागेको बेला केही समस्या हुने प्रमुख शर्माले बताउनुभयो ।

स्थानीय तहबाट विभिन्न १० ठाउँमा नेपाल टेलिकमको टावरको माग गरिएको र सोही अनुसार कार्यालयले सञ्चार मन्त्रालयमा समन्वय गरिरहेको उहाँको भनाई थियो । जिल्लाका सबै ठाउँमा नेपाल टेलिकमको सेवा प्रभावकारी बनाउन लागिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया