इलाम–२ मा मतगणना शुरु, बझाङमा पनि तयारी हुँदै

इलाम–२ मा मतगणना शुरु, बझाङमा पनि तयारी हुँदै

काठमाण्डौ – प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपचुनावको मतगणना शुरु भएको छ । सर्वदलीय बैठक बस्न ढिलाइ भएकाले केहीबेरअघि मात्रै मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । गणनास्थलमा ११ वटा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । मतगणनास्थलमा भीड हुन नदिन चोकबजारमा रहेको ’डिस्प्ले बोर्ड’ मा परिणाम सार्वजनिक गरिँदैछ । मतपरिणाम एक-एक घण्टाको अन्तरालमा सार्वजनिक गर्ने घिमिरेले जानकारी दिनुभयो । हिजो सम्पन्न मतदानमा ५९ दशमलव ७९ प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ मत खसेको छ ।

डेढ वर्ष अघि २०७९ साल मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको चुनावमा इलाम–२ बाट निर्वाचित नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त पदमा उपचुनाव भएको हो । उपचुनावमा १८ जना उम्मेदवार छन् ।

बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–१ (क) मा भएको उपचुनावको मतगणना केहीबेरमा शुरु हुँदैछ । आज बिहान ७ बजे मात्र साइपाल गाउँपालिकाको तीन वटा केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएकोले मतगणना केहीबेर पछि शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला अदालतको भवनमा मतगणना हुने छ । हिजो भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३ सय २८ मत खसेको छ । चुनावमा ११ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव भएको हो ।

प्रतिक्रिया