बालविवाह अन्त्य गर्न पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी

सहभागिद्धारा सरकारी रणनीतिमा अल्पसङ्ख्यकका विषय नसमेटिएको गुनासो

बालविवाह अन्त्य गर्न पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी

काठमाडौँ -  बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी रहेकामा सरोकारवालाले जोड दिएका छन् । 

गैरसरकारी सङ्स्था सिविनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्य गर्न विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि र पुरुषको सहयोगका विषय पाठ्यपुस्तकमा समावेश गरिनुपर्नेमा जोड दिनुभएको हो । 

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख ममता विष्टले लैङ्गिक हिंसा अन्त्यमा भएका सरकारी पहल र प्रावधानका विषयमा प्रस्तुति दिँदै बालविवाह अन्त्यका लागि सबैको सहयोग जरूरी रहेको बताउनुभयो ।  उहाँले मन्त्रालयले गठन गरेको लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जाल र सञ्जाल सक्रिय बनाउन भइरहेका प्रयासबारे समेत जानकारी दिनुभएको थियो । 

सिविन नेपालका प्रतिनिधि निरिजना भट्टले समाजमा व्याप्त लैङ्गिक हिंसासँग सम्बन्धित घटना न्यूनिकरणका लागि थप क्रियाशीलताको खाँचो औँल्याउनुभयो । ‘बालिका दुलही होइनन्’ भन्ने अभियानका प्रमुखसमेत रहेका भट्टले भन्नुभयो,“समाजमा व्याप्त लैङ्गिक हिंसाका थुप्रै कारण छन्, त्यसको न्यूनीकरणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ ।” 

सिविन नेपालले सञ्चालन गर्दै आएको बाल हेल्पलाइन नेपाल मोरङ् १०९८ का संयोजक वासु अधिकारले मोरङको बुढीगङ्गा गाउँपालिकाको मुसहर समुदायमा बालबालिको भयावह अवस्था रहेको र त्यसविरुद्ध स्थानीय तहसँगको सहकार्यमा काम गर्दैआएको बताउनुभयो । 

कार्यक्रममा लैङ्गिक हिँसा अन्त्यका लागि पुरुष सहभागितासम्बन्धी रणनीति २०७४ को प्रभावकारिता र आवश्यक परिमार्जन लगायतका विषयमा समेत  छलफल भएको थियो । सहभागीले सरकारी रणनीतिमा अझै पनि लैङ्गिक अल्पसङ्ख्यकका विषय नसमेटिएका गुनासो गर्नुभयो ।  

प्रतिक्रिया