‘अबको २० वर्षमा हाम्रा नदी नै नरहन सक्छन्’

‘अबको २० वर्षमा हाम्रा नदी नै नरहन सक्छन्’ जलस्रोतविद् अजय दिक्षित ।

 

         नेपालको समृद्धि र आर्थिक विकासको चर्चा हुनासाथ नछुट्ने विषय हो( जलविद्युत्। तर प्रायः छुट्ने विषय हो( नदीको जीवन र यसको भविष्य।

जलविद्युत्‌को चर्चा गर्ने तर नदीको जीवनबारे वास्ता नगर्ने प्रवृत्तिलाई लिएर जलस्रोतविद् अजय दीक्षितले प्रश्न गरेका छन्, “नदी नरहे कसरी जलविद्युत् हुन्छ ?”

ललितपुरस्थित पाटनढोकामा जारी हिमाल मिडिया मेलामा ‘पूर्व सावधानीका लागि मिडिया सत्रमा बोल्दै जलस्रोतविद् दीक्षितले यस्तो प्रश्न गरेका हुन्। “जलवायु परिवर्तन भइरहे र यसलाई बेवास्ता गरिरहे अबको २० वर्षमा हाम्रा नदीहरू रहनेछैनन्,” दीक्षितले भने।

पत्रकार रमा पराजुलीका प्रश्नको जवाफ दिंदै दीक्षितले भएका नियम पनि पालना नगर्दा जलवायु संकट बढ्दै गएको तर्क गरे। “हरेक जलविद्युत् परियोजनामा १० प्रतिशत पानी छोड्नुपर्ने नीति छ, तर व्यवहारमा लागू भएको छैन, किन ?” उनले प्रश्न गरे।

विगतका प्रकोपबाट नेपाली राज्य संयन्त्रले केही पनि नसिकेको भन्दै उनले रोष पनि प्रकट गरे। २०६४ सालमा भएको कोशी तटबन्ध फुटेको घटना, २०७३ र २०७६ सालको बाढीबाट अहिलेसम्म पनि केही नसिकेको उनले उल्लेख गरे। “हाम्रा अनेकन् संस्था छन्, तर कुनै तयारी गरेनौं,” दीक्षितले भने, “२०७७ सालमा जे भोग्यौं, २०७९ सालमा पनि त्यही भोग्यौं।”

सूचना तथा तथ्यांक संकलन र वितरणमा पनि तालमेल नभएको उनले उल्लेख गरे। प्राप्त सूचना पनि आमजनतासम्म पुर्‍याउन नसक्दा क्षति बढेको उनको विश्लेषण थियो। “२०७७ सालमा सकियो भनिसकेपछि पुनः मनसुन सक्रिय भयो, ठूलो पानी पर्‍यो,” दीक्षितले उदाहरण दिए, “त्यसको अनुमान भएको थियो, तर त्यो सूचना किसानसम्म नपुग्दा पाकेको धानबालीमा ठूलो क्षति भयो।”

जलवायु सम्बन्धमा नेपाली सञ्चारमाध्यमको अभ्यासबारे पनि उनले आलोचना गरे। नेपाली पत्रकारिताले तुलनात्मक रूपमा उल्लेखनीय ढंगले यस विषयलाई समेटेको भए पनि त्यसमा केही समस्या रहेको उनको भनाइ थियो।

“नेपाली पत्रकारिता घटनामा बढी केन्द्रित छ, फलोअप छैन, पत्रकार र विज्ञसँग सहकार्य छैन, पत्रकारमा वैज्ञानिक शब्दावलीको ज्ञान छैन,” दीक्षितले औंल्याए, “मिडियाकर्मी, अनुसन्धानकर्मी र विकास साझेदारबीच सहकार्य हुन जरूरी छ। अध्येता र मिडियाबीच राम्रो समन्वय नहुँदा त्रुटिपूर्ण सूचना प्रवाह भइरहेको छ।”

हिमाल मिडिया मेलाको यसअघिको सत्रमा पत्रकार नरेश नेवारले समाचारकक्षमा एआईको प्रयोगबारे प्रस्तुति राखेका थिए। त्यस्तै, लेखक एवं पत्रकार मोहन मैनाली र तथ्यांक विश्लेषक अरुण कार्कीले लेखनमा तथ्यांकको प्रस्तुति विषयमा बोलेका थिए।

मेलाको उद्घाटन समारोहमा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नशीदले विद्वत् प्रवचन राखेका थिए। उनी पूर्व पत्रकार एवं लेखक पनि हुन्। साभार:हिमालखबर 

प्रतिक्रिया