स्वास्थ्य चौकीमा खानेपानीको अभाव

स्वास्थ्य चौकीमा खानेपानीको अभाव

हुम्ला -  सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ ।

स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीलाई सास्ती खेप्नुपरेको छ । खानेपानीको सुविधा नभएर समस्या भएको स्वास्थ्य चौकीमा सुत्केरी गराउन आएकी सेवाग्राही कल्पना सिंहले गुनासो गर्नुभयो ।

सुत्केरी हुँदा पानीको अत्यावश्यक पर्ने भए पनि स्वास्थ्य चौकीमा खानेपानीको अभावले अधिकांश हामी सुत्केरी आमाले नुहाउन, लुगा धुन, फोहोर सफा गर्नका लागि  ताका सेलाउन भन्ने ठाउँमा पुग्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीको नजिकै रहेको पानीको धारा भए पनि त्यस धारामा गाउँका स्थानीयले सुत्केरी भएको बेला छुन नदिने भएपछि सुत्केरी महिलाहरुले बाध्य भएर टाढाको धारामा पुगेर सरसफाइ गर्नु पर्दा स्वास्थ्यमा समेत समस्या हुने गरेको बताउनुभयो ।

खानेपानीको समस्या भएपछि गाउँबाट बोकेर ल्याउनु बाध्यता रहेको स्वास्थ्यचौकीका कार्यालय सहयोगी कालु सिहले जानकारी दिनुभयो । गाउँको धाराबाट पानी ल्याउने , त्यही पानीले शौचालय प्रयोग गर्ने र सरसफाइ गर्नुपर्ने बाध्यता रहेको कार्यालय सहयोगी सिंहको भनाइ छ ।

१५ वर्षदेखि खानेपानी नहुँदा शौचालय पनि प्रयोगविहिन अवस्थामा रहेको स्वास्थ्यचौकीका इन्चार्ज सन्तोष बोहराले बताउनुभयो । स्वास्थ्यचौकीमा आउने बिरामीलाई समेत खानेपानी र सरसफाइ गर्न पानीको समस्या रहेको इन्चार्ज बोहराले बताउनुभयो । बेलाबेला स्वास्थ्य शाखा र गाउँपालिकालाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्वास्थ्य चौकीका प्रमुख बोहराको भनाइ छ ।

गाउँबाट पानी बोकेर ल्याएर पिउनु पर्ने बाध्यता छ, उनले भने,  पानीको लागि पालो समेत पाउन मुस्किल हुने गरेको छ । प्रत्येक दिन गाउँकै पानीको भर पर्नुपर्छ हिउँदको समयमा अझै खानेपानी गाउँमा पाउन मुस्किल हुने गरेको छ । खानेपानी अभावले बिरामी र स्वास्थ्य चौकीको बर्थिङ सेन्टर सञ्चालनमा समेत समस्या भएको छ  ।

प्रतिक्रिया