तालबारीमा पाँच किलो अफिमसहित एक जना पक्राउ

तालबारीमा पाँच किलो अफिमसहित एक जना पक्राउ

सुर्खेत –  सुर्खेतको भेरीगंगा नगरपालिका–१० तालबारीमा पाँच किलो ५४० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

बुधवार साँझ साढे ६ बजे भेरीगंगा नगरपालिका–१० तालबारीमा अफिम कारोबार भइहेको जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

 लागुऔषध अफिमको ओसारपसारमा संलग्न रहेको आशंकामा सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा निगरानी र सूचना विश्लेषण गरेपछि पाँच किलो ५४० ग्राम गिलो पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताउनुभयो । बस्नेतको साथबाट अफिम तौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक धितो पाँच थान र नगद चार हजार सात सय ३० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार जाजरकोट लगायतका पहाडी जिल्लाबाट संकलन गरिएका अफिमलाई आर्थिक लाभका लागि भारतीय सिमासम्म ओसारपसार गर्ने उद्देश्य रहेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस्नेतसँग भारतीय नागरिकले अफिम खरीदका लागि बोलाएको उनी भाग्न सफल भएका छन् ।

बरामद अफिमको नेपालमा मूल्य करिब ८ लाख ८६ हजार ४ सय रुपैयाँ र प्रतिकिलो मूल्य १ लाख ६० हजार अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा भने अफिमको मूल्य करोडौं पर्ने भएकाले विदेश लैजान लागेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया