राउटे समुदायको स्थलगत अध्ययन, खाद्यान्न वितरण र संरक्षणमा जोड

सुर्खेत– सुर्खेतको लेकबेसी नगरपालिका–१०, झुप्राखोलास्थित राउटे बस्तीमा बिहिबार सामाजिक विकास समितिबाट स्थलगत अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरिएको छ ।
राउटे समुदायको मौलिक पहिचानको संरक्षण, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा तथा जीवनस्तर सुधारका विषयमा प्रत्यक्ष अध्ययन गर्न प्रदेश सभा सदस्य रणसिंह परियार र पूर्णबहादुर चालिसे, इन्द्रा कुमारी शाही सहितको टोली झुप्राखोलामा पुगेको थियो । टोलीमा सामाजिक विकास मन्त्रालय, तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो ।
स्थलगत भ्रमणकै अवसरमा नेपाल एसबिआई बैंकको आर्थिक सहयोग तथा सोसेक नेपालको सहजीकरणमा राउटे समुदायलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो । सोसेक नेपालले वितरण कार्यको समन्वय गरेको हो ।
राहत सामग्री पाएपछि राउटे समुदायका व्यक्तिहरू खुसी हुँदै राज्य र संस्थाहरूबाट यस्ता सहयोग आगामी दिनमा पनि निरन्तर भइरहने अपेक्षा व्यक्त गरेका थिए । उनीहरूका अनुसार सोसेक नेपालले विगत केही वर्षदेखि बस्तीमा शिक्षा ,स्वास्थ्य र सरसफाइमा काम गर्दै आएको र त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ ।
प्रदेश सभा सदस्य रणसिंह परियारले राउटे समुदायको अधिकार, सम्मान र जीवनशैलीको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै दीर्घकालीन रणनीति आवश्यक रहेको बताउनु भयो । सदस्य चालिसेले अध्ययन भ्रमणका निष्कर्षहरू नीति निर्माणमा सघाउने गरी प्रतिवेदन तयार पारिने जानकारी दिनुभयो ।
पछिल्ला दिनमा राउटे समुदायको जीवनशैलीलाई लक्षित गरेर भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गरिने क्रमले उनीहरूको मौलिक जीवनशैलीमा नकारात्मक असर पार्न थालेको भन्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले चिन्ता व्यक्त गर्नुभयो । थापाले बस्तीमा स्थायी सुरक्षा व्यवस्थापनको आवश्यकता औंल्याउँदै समुदायको संवेदनशीलता बुझेर व्यवहार गर्न सबैमा आग्रह गर्नुभयो ।
सामाजिक विकास समितिको टोलीले अवलोकन भ्रमणपछि बस्तीको भौतिक अवस्था, जीवनशैली, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा लगायत विविध पक्षमा प्रत्यक्ष छलफल गरी राउटे समुदायको दिगो विकासका लागि सहकार्य र समन्वयको खाँचो रहेको निष्कर्ष निकालेको छ । राउटेको संख्या १३५ रहेको छ ।
प्रतिक्रिया