लाटो पहाड अब रंगमञ्चमा

लाटो पहाड अब रंगमञ्चमा

lato-pahad_20150716075149काठमाडौं, असार ३१ – कुनै समय राजन मुकारुङ र हाङयुग अज्ञातहरूसित मिलेर ‘सिर्जनशील अराजकता’ नामकको साहित्यिक अभियान नै चलाएका उपेन्द्र कवितामा मौलिक विम्ब प्रयोगका लागि चिनिन्छन् । कवितापछि उनी ‘लाटो पहाड’ कृतिमार्फत कथा विधामा पनि उत्तिकै अब्बल देखिए । लिम्बू समाजको संस्कृति, परिवेश र पात्रहरूको बाहुल्य रहेको यही कृतिको दुई कथा अब रंगमञ्चमा नाटकको रूपमा हेर्न पाउने भएको छ । संग्रहमा समेटिएको ‘मनमाया’ र ‘प्रभु माइला’ कथामाथि रंगमञ्चीय प्रस्तुत ‘लाटो पहाड’ बुधबारदेखि राजधानीको शिल्पी थिएटरमा मञ्चन आरम्भ भएको छ ।

किरण चाम्लिङ राईको परिकल्पना र निर्देशनमा उपेन्द्रका कथाले रंगमञ्चीय स्पेस पाएका हुन् । नाटकमा समेटिएको ‘मनमाया’ कथामा बाल मनोविज्ञानमा आधारित बेजोड प्रस्तुति हेर्न पाइन्छ । दुर्गमका बालबालिकाहरू कसरी हुर्किन्छन् र उनीहरूले सानै उमेरमा कस्ता पारिवारिक बोझ उठाउनुपर्छ भन्ने मार्मिक कथा ‘मनमाया’ मा उधिनिएको छ । उमेरभन्दा बोझीलो जिम्मेवारी बोक्न बाध्य बालिका मनमायाको कथाले धेरैलाई रुवाउँछ । नाबालक भाइ बोक्दै घरको समेत हेरचाह गर्नुपर्ने वस्तुभाउको पनि रखवारी गर्नुपर्ने उनको जीवनमा एक दिन संयोगले घटेको घटनालाई कथानक बनाइएको यो प्रस्तुतिमा गरिबीबीच हुर्किरहेका ग्रामीण केटोकटी र उनीहरूको मनोविज्ञानलाई मसिनोसँग केलाउन खोजिएको छ ।

जीविका चलाउन परिवारका अग्रजहरू अरूको काममा जानुपर्ने सामाजिक/आर्थिक परिवेशमा हुर्किरहेकी मनमायाको पढ्ने चाहना त त्यत्तिकै थाती रहन्छ नै, घरमा रात–दिन काममा सघाउँदासमेत उनले जस पाउँदिनन्, उल्टै कुटाइ खानुपर्छ । तर, एक दिनको कुटाइबाट भने अभिभावक स्वयं पछुताउन बाध्य हुन्छन् र त्यसको केही दिनपछि नै मनमाया स्कुल जान थाल्छिन् । नाटकमा ‘मन माया’ लैंगिक विभेदका कारण स्कुल पुग्न नपाएकी एक बालिका पात्र हुन् । यसले हाम्रो शैक्षिक विभेदमा तितो व्यंग्य गर्छ ।

कृतिमा कथाकार उपेन्द्र सुब्बा आफ्नै परिवेशका कथा टिप्न सिपालु सावित भएका छन् । मनमायाको कथा लेख्न उनी कतै गएनन् । आफ्नै ठूलीदिदीले पढ्न नपाएको मर्म उनले कथा बनाएका हुन् । नाटकको अर्को अंश बनाइएको कथा ‘प्रभु माइला’ भने पूर्वी नेपालमा विकृतिको रूपमा फैलिँदै गइरहेको धर्म परिवर्तनको सन्दर्भमा लेखिएको शक्तिशाली रचना हो । घिमिरे युवराजले नाट्य रूपान्तरण गरेको प्रस्तुतिमा पूर्वी नेपालको लिम्बू समाजको जीवनशैली, संस्कृति, परम्परा र धरातल पस्किन खोजिएको छ ।

नाटकमा ‘मनमाया’ भावुक चरित्र हुन् भने ‘प्रभु माइला’ रोचक पात्र । धर्म र संस्कृतिमा देखिएको परिवर्तनलाई उपेन्द्रले हास्य रस मिसाएर सुन्दर ढंगमा पस्केका छन् । नाटकीय प्रस्तुति झन् मन छुने लाग्छ । अलि हक्की र रिसाह स्वाभावको प्रभु माइलाको बोलाउने नाम ‘माइला’ मात्रै थियो । जाँड खान र झगडा गर्नमा उनी सधैं अघि । उसको यो बानीले कस्ता कस्ता घटना निम्त्याए होलान् ? नाटक हेर्ने क्रममा रोचक दृश्य देख्न सकिन्छ । तर, समयले कोल्टे फेर्दै गर्दा किराँती छोरो ‘माइला’ क्रिस्चियन बनेर ‘प्रभु माइला’ बन्छन् र सबै काममा ‘प्रभुको कृपा’ भन्दै उपदेश दिन थाल्छन् ।

धरातल बिर्सिएका प्रभु माइलाले धर्म परिवर्तनपछि के कस्तो किस्सा ल्याए ? त्यो पनि नाटकमा रोचक लाग्छ । प्रभुको मात्रै नाम जपेर हिँड्ने अल्छे माइला कसरी आफ्नै गाउँले आफन्तबाट लखेटिन्छन् भन्ने सन्दर्भमा नाटकमा अर्थपूर्ण रूपमा प्रस्तुत गरिएको छ । गीत, भाषा, संस्कृति, परम्परा र यथार्थ लिम्बू समुदायको जीवनशैली नाटकले पस्किन खोजेको छ । नाटकको सुरुदेखि अन्तिमसम्म पहाडकै परिवेश छ । लिम्बू समुदायको संस्कृति र जीवन त्यही मौन पहाडसँग गाँसिएको महसुस हुन्छ । नाटकमा डोल्मा तामाङ, अंकिता राई, निर्भीक राई, निर्मला लिम्बू, जीवन बराल, सोनाम तामाङ, विजय लामा, अनिल सुब्बा, सुवास डाँगी, वामदेव केसी, दिवस लिम्बू (पयाङ्गु), पवित्रा खड्का, सञ्जय मुडियारी र अनिल सुब्बाले अभिनय गरेका छन् । नाटक साउन १८ गतेसम्म मञ्चन हुने बताइएको छ ।

प्रतिक्रिया