‘कोअलिसन गभर्मेन्ट’ हो भन्दै निरिह नबन्नुस् प्रधानमन्त्री ज्यू

‘कोअलिसन गभर्मेन्ट’ हो भन्दै निरिह नबन्नुस् प्रधानमन्त्री ज्यू

जीवन क्षेत्री

वृद्ध १, सुशील कोइराला । नेपालका प्रधानमन्त्री।

एक दिन नैतिकताका लागि चिनिएका एक उच्च सरकारी अधिकारीले कोइरालालाई भने- प्रमज्यू, तपाईंको न कोही अघि, न कोही पछि। न मान्छेले तपाईंको अनुहार हेरेर ओहो! सुशील त क्या ‘ह्याण्डसम’ भन्नेछन् न त तपाईंको फूलेको दारी कपाल हेरेर कस्तो कुरुप वृद्ध नै भन्नेछन्। तपाईं चिनिने भनेको त कामले हो । राम्रो कामले तपाईंको यश सधैँलाई रहनेछ, नराम्रा काम भए तपाईंको नाम नै खराब हुनेछ। राम्रो काम गर्न किन खुट्टा कमाउनुहुन्छ? यही हो मौका राम्रो काम गर्ने, भोलि चाहे पनि कहाँ ती काम गर्न सक्नुहुन्छ? यसै पनि संविधान नबन्दै कसैले तपाईंलाई हटाउन सक्दैन, संविधान आएको दिन चाहे पनि तपाईं पदमा बसिरहन सक्नुहुन्न।

 ती सरकारी अधिकारीको कुरा ध्यानमग्न भएर सुनेका कोइरालाले भन्नुभयो -ए हो त, म पनि कति डराएको। खै ल्याउनोस्, नगरी नहुने तर कसले के भन्ला भनेर रोकिएका फाइलहरू धमाधम सही गरिदिन्छु। राज्यको कार्यकारी प्रमुख यसरी डराएर पनि कतै हुन्छ, जे परे परोस्।
हुनुपर्ने त्यस्तै थियो, कोइराललाई सम्झाउनेहरूको अपेक्षा पनि त्यस्तै थियो । तर अनपेक्षित रुपमा सुशीलजी भन्नुभयो-तपाईं पनि मलाई मात्र भन्नुहुन्छ। जानुस्, बामदेवलाई सम्झाउनुस्, सबै मलाई मात्र भन्छन्, मैले मात्र गर्न खोजेर हुन्छ? अरुलाई सम्झाउन सक्ने होइन कसैले। ‘कोअलिसन गभ्मेन्ट’ हो यो, तपाईं के बुझ्नुहुन्छ यस्तो कुरा? भन्न सजिलो छ, गर्न सजिलो छैन।
***
वृद्ध २, डा. गोविन्द केसी। सुशीलजीले डा. केसीको छैठौं अनशन टुंग्याउने बेला भएको सहमति कसले के भन्ला भन्दै भंग गर्ने क्रममा आफैंले खटाएर पठाएका मुख्य सचिव र योजना आयोगका उपाध्यक्षको विश्वसनीयता नै पाउमुनि कुल्चेपछिको कुरा।
चौधौं दिनको उपवासपछि पछिल्लो समयमा भएको संक्रमणका कारण गलेका केसी सरलाई यो अशुभ समाचार सुनाएर अझ गलाउन उचित नलागेर त्यो साँझ हामीले केही बताएनौं। भोलिपल्ट बिहान बताउन खोज्दा कसैले उहाँलाई भनिसकेको रहेछ, त्यसपछि के गर्ने भन्ने उहाँको निर्णय पनि भइसकेको रहेछ। उहाँको रेडिमेड उत्तर थियो- लागेको त थियो, यी विश्वासयोग्य मान्छे होइनन् भनेर। बरु हिजोसम्मै अनशन बस्नुपर्ने रहेछ, विश्वास गरेर तोडियो, थाङ्नामा सुताइहाले। जाऊ, विज्ञप्ति तयार गर, अबको क्याबिनेटबाट सम्झौता पारित गरेनन् भने म फेरि बस्छु। हिजो साँझको मसानघाटको जस्तो शान्तिबाट मलाई शंका लागिसकेको थियो।
उमेरले डा. केसी अधवैंशे हो तर पटकपटकका अनशनले वृद्धको भन्दा पनि गलिसकेको छ शरीर। ख्याउटे अनुहारमा दारी बढेपछि सत्तरी कटेको जस्तो देखिन्छ जबकि वास्तविक उमेर साठी पुग्न अझ केही वर्ष बाँकी नै छ।
पाखुरामा सलाइन दिन क्यानुला लगाउँदा लगाउँदै नसुन्निएको भाग बाँकी छैन। त्यहींबाट शुरु भएको संक्रमणले जीर्ण शरीरलाई अझ नाजुक बनाएको छ। आम मानिसलाई दैनिक २००० किलो क्यालोरी बराबरको खाना चाहिन्छ भने अनशनका बेला आन्द्राले पूरै काम गर्न छाड्नेभएकाले उहाँलाई दैनिक ४०० किलो क्यालोरीको मात्र अनुमति छ। बढी खायो भने आन्द्राले नथेगेर पखाला लाग्ने र झन् ठूलो समस्या आउने हुन सक्छ।
***
डा. केसीको निर्णय प्रक्रिया सहज छ। अगाडि दुइटा विकल्प छन् भने एउटा सही हुन्छ, अर्को गलत। निर्णय लिन कसैलाई पर्खनुपर्दैन, सोध्नुपर्दैन र निर्णयपछि के होला भनेर डराउनुपर्दैन। न कसैले के भन्ला भन्ने चिन्ता, न कसैलाई कसरी चित्त बुझाउने भन्ने सुर्ता।
निजी जीवनका धेरै कुरामा दुई वृद्धबीच समानता छ। दुवै अविवाहित, दुवै सम्पत्ति कमाएर घर बनाउने कामतिर नलागेका सन्यासी पाराका मानिसहरु। तर त्यो समानता त्यहींनेर टुंगिन्छ। डा. केसीको जिन्दगी राज्यलाई उत्तरदायी बनाउने लडाइँका लागि समर्पित छ । उहाँको नेतृत्वमा भएको आन्दोलनका कारण सुधार भए मेडिकल शिक्षाको व्यवसायमा वार्षिक तीन अर्ब जतिको कारोबार घट्ने भनेर हिसाबहरु निकालिएका छन्। ठूलो रकमको कुरा उहाँसँग जोडिने प्रसंग त्यत्ति हो।
उता सम्पत्तिका रुपमा दुइटा मोबाइल फोन लिएर प्रधानमन्त्री बनेका सुशील कोइरालाको आफ्नै सम्पत्ति नबढेको होला तर उनको सत्ताको आडमा हजारौं घुस लिनेदेखि खर्बसम्म हिनामिना गर्नेहरुको हालीमुहाली छ। शुरुमा नाराकै लागि भए पनि लगाइने सुशासनका नारा अब बासी भइसकेका छन्। कुनै बेला सुशासन पनि आफ्नो प्राथमिकतामा थियो भन्ने सुशीलजीले बिर्सेको आभास हुन्छ।
आम नेपालीले चुनेर पठाएको भन्ने निरर्थक तथ्य बिर्सिसकेका कोइरालालाई अब लाग्छ, आफ्नो वरपर त्यस्ता मानिसहरु छन् र त मेरो सत्ता छ, म प्रधानमन्त्री छु, यी रिसाए भने मेरो ‘कोअलिशन गभ्मेन्ट’को के खैरियत। फलस्वरुप सानो निर्णय गर्दा पनि ती मानिस चिढिएलान् कि भनेर चनाखो हुनुपर्छ कोइरालालाई। हुँदा हुँदा अब त तिनको स्वार्थमा आँच आउला भनेर आफ्नै वचनमा अड्न समेत असफल भइसके कोइराला।
आफैंले पठाएका दुतहरुलाई सुशीलजीले घात गरेपछि यो घातपछाडि बामदेवको हस्तक्षेप छ भन्ने लुकेको छैन। यो अवस्थाले अर्को पनि गम्भीर प्रश्न उठाएको छ- प्रधानमन्त्रीजस्तो मानिसले आफ्नो वचन पालना गर्न समेत बामदेवको अनुमति लिनुपर्ने कस्तो अनुपम शक्ति छ अहिले बामदेवसित?
डा केसीले उठाएका माग ठीक छन् भनिटोपल्ने कांग्रेसजनहरूको यो कस्तो निरीहता हो, जहाँ प्रधानमन्त्री उनीहरुले भनेको नसुनेर बामदेवको कुरा सुन्छन्?
कुनै बेला सरलता र निष्ठाका लागि चिनिने गरेका प्रम सुशील कोइराला आफ्नो निरीहता र निकम्मापनका कारण डा. केसीसित भएको सम्झौताबाट पछि हटे र उहाँलाई फेरि अनशन बस्न बाध्य पारे भने त्यो नेपालको इतिहासमा कालो दिन हुनेछ जुन दिन देशको प्रधानमन्त्रीको कार्यकारी अधिकारसमेत कालो अर्थतन्त्रका मालिकहरुसामू निरस्त हुनेछ। त्यसैले देश दुनियाँको भलो हुने निर्णय लिन निरिह नबन्नुस् प्रधानमन्त्री ज्यु।
सेटाेपाटीवाट साभार गरिएकाे

प्रतिक्रिया