सेनाले राष्ट्रिय सेवादल तालिम दिंदै

सेनाले राष्ट्रिय सेवादल तालिम दिंदै

अमर सुनार
दैलेख, साउन २ – दैलेख सदरमुकामस्थित नेपाली सेनाको समरसुर गणले दोश्रो पटक त्रिभुवन उच्च माविका नयाँ ३६ जना छात्रछात्रालाई राष्ट्रिय सेवादलको तालिम दिने भएको छ । साउन ४ गते प्रथम प्रवचन कार्यक्रम गरी औपचारिक रुपमा सुरु गरिंदैछ । यस अघि अघिल्लो वर्ष जिल्लामै पहिलो पटक यस विद्यालयबाट त्यति नै संख्यामा तालिम गराएको थियो । 

(अघिल्लो वर्षको तालिमको फाइल फोटो । तस्विर ः अमर सुनार)
(अघिल्लो वर्षको तालिमको फाइल फोटो । तस्विर ः अमर सुनार)

किशोरावस्थामै सिर्जनशील, कर्तव्य परायणता र अनुशासन सिकाउन कुनै एक सरकारी विद्यालयबाट इच्छुक मध्येबाट छनौट गरी १ सय दिनको आधारभूत सैनिक तालिमका लागि दैलेखबाट दोश्रो पटक सहभागिता गराउन लागिएको हो ।
समरसुर गणका गणपति सूर्यकान्त घिमिरेले विदयार्थीको पढाईलाई बाधा नपर्ने गरी ७९ दिन साँझ विहान जिल्लामै र २१ दिन क्याम्प ट्रेनिङ कोहलपुरमा दिइने जानकारी दिनुभयो । तालिमले किशोरावस्थामा मीत्रता, संगठित कार्य संचालन, नेतृत्व क्षमता विकास गर्ने उहाँले बताउनुभयो ।
नेपाली सेनाको राष्ट्रिय सेवादलको निर्देशनालयले राष्ट्रिय सेवादलमा भर्ना हुन तोकिएको सरकारी विद्यालयमा कक्षा ९ अध्ययनरत विधार्थी उचाईं ५ फीट हुनुपर्ने र स्वस्थ हुनुपर्ने मापदण्ड तोकिएको छ । निर्देशनालयले कुनै एउटा सरकारी विद्यालयबाट लगातार २ वर्ष १८ छात्र र १८ जना छात्रा जना समावेशी सहभागिता गराउने गर्दछ ।
विद्यालयमै सञ्चालन गरिने ७९ दिने तालिम अवधिमा नेतृत्व विकास, व्यक्तित्व विकास, नैतिक शिक्षा, राष्ट्रिय एकता, प्रकृति तथा वातावरण संरक्षण, ट्राफिक चेतना, विष्फोटक पदार्थ सम्वन्धी शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा बाल अधिकार संरक्षण, चेलिबेटी बेचविखन तथा लागू पदार्थ दुव्यशनी नियन्त्रण लगायतका विषयमा प्रशिक्षण दिइन्छ ।
तालिमका सहभागीहरुलाई राष्ट्रिय सेवादलको निर्देशनालयले कोहलपुर लिई आवासीय रुपमा २१ दिन अवधिमा विपद् व्यवस्थापन तथा उद्धार प्याकेज, सुरक्षा अङ्ग सम्वन्धी जानकारी, व्यक्तिगत स्वास्थ्य तथा प्राथमिक उपचार, स्वास्थ्य उपचार शिविर लगायत कल्याणकारी काममा सहभागी गराउनुका साथै सामाजिक काम पनि सहभागी गराइन्छ ।
राष्ट्रिय सेवादलको तालिममा शारीरिक व्यायाम, ड्रिल, तेक्वोण्दो, सैनिक कला, टेकिङ्ग तथा हाइकिङ्ग, एरोविक्स, हतियार तालिम तथा फायरिङ्ग र आत्मबल बढाउने साहसिक कार्य समेत गराइन्छ । उनीहरुलाई यी अभ्यास कार्य गर्दा सेनाको ड्रेसमा गराइन्छ ।
कुनै राष्ट्रिय विपद् वा सुरक्षा सम्वेदनशीलताको बेला प्रयोग गर्न सक्ने र यस्तो ज्ञान, सीप जुनसुकै पेशा व्यवसायमा जाने किशोरकिशोरीले सिकी राखे उपयोगी हुने ध्येयले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को मापदण्ड र सरकारको निर्णय अनुसार नेपालमा पनि राष्ट्रिय सेवादलको तालिम दिन थालिएको हो ।

(अघिल्लो वर्षको तालिमको फाइल फोटो । तस्विर ः अमर सुनार)
(अघिल्लो वर्षको तालिमको फाइल फोटो । तस्विर ः अमर सुनार)

अमेरिका, बेलायत, घाना, सिंगापुर लगायतका देशहरुमा पनि किशोरकिशोरीलाई यस्तो तालिम सेनाले नै दिने गरिदै आएको छ । यसको अवधारणा सन् १९५६ तिरको समयमा क्रिमेम युद्धबाट फर्केका बेलायती सेनाले ल्याएको थियो, त्यतिबेला ल्यावल ल्याट नामको इकाई सन् १९१४ मा नेशनल क्यारेट कर्पस्को स्वरुपमा आएको थियो । नेपालमा त्यसकै नेपाली नाम राष्ट्रिय सेवादल भनिएको हो ।
नेपालमा राष्ट्रिय सेवादलको स्थापना २०२२ कात्तिक ७ गते स्थापना भएको हो तर यसको अवधारणा अनुसार कार्यान्वयन चाहिं २०२७ असोज १८ गतेदेखि भएको थियो । अनुशासन नै राष्ट्र सेवाको मूलजड हो भन्ने मूल नारा लिएको राष्ट्रिय सेवादल युवाहरुलाई राष्ट्रिय विकासको भावना ओतप्रोत गर्ने मुख्य उद्देश्य हो ।
तालिममा सहभागी हुन चाहने विद्यार्थी र अभिभावको समेत स्वीकृतीमा छनौट गरिन्छ । हरेक वर्ष देशका ५ वटै विकास क्षेत्रबाट एक–एक विद्यालयबाट १८ छात्र र १८ जना छात्रा गरी समावेशी तरिकाबाट ३६ जनालाई छनौट गरिन्छ ।
इच्छुक विद्यार्धी १४ वर्ष पूरा भई सकेको, छात्रको हकमा ५ फीट तथा छात्राको हकमा ४ फीट १० इञ्च उचाईं र शारीरिक हिसावले तनदुरुस्त हुनुपर्ने मापदण्ड तोकिएको छ । यो तालिममा सहभागी भएका किशोर किशोरीहरु नेपाली सेना र सुरक्षा सेवामा जाने इच्छा गरेको पाइन्छ, यिनीहरुलाई प्राथमिकता पनि दिइन्छ ।

प्रतिक्रिया