जवरजस्ती करणीको आरोपमा पक्राउ

जवरजस्ती करणीको आरोपमा पक्राउ

अमर सुनार
दैलेख, साउन २० – दैलेखको चामुण्डा गाविस–६ निवासी १८ वर्षीय लक्ष्मण शाही एक बालिका जवरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । साउन १३ गते दैलेख सदरमुकाममा विहान ११ बजे भेट गर्न बोलाई दिनभर साथीको कोठा र साँझ एक होटलमा थुनछेक गरी १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोप छ । पीडितको आमाको लिखित जाहेरीका आधारमा पक्राउ गरी जवरजस्ती करणीको मुद्दा चलाइएको प्रहरी निरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।
सो राति जवरजस्ती करणी पश्चात होटल कोठाको बाहिरबाट बेलन लगाई भागेर सुर्खेतमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले सुर्खेतबाट पक्राउ गरी हिजो दैलेख ल्याएको हो । प्रहरी समक्ष आरोपित शाहीले अपराध स्वीकार गरेको बताइएको छ । उनलाई हिरासतमा राखी घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक साहले बताउनुभयो ।
मुलुकी ऐन २०२० को जवरजस्ती करणीको महलमा १६ वर्ष मुनिको महिलालाई सहमतीमै यौन सम्वन्ध राखे पनि जवरस्ती करणी मुद्दामा १० वर्ष कैद हुन सक्ने व्यवस्था छ । मुलुकी ऐन २०२० को महल १४ जवरजस्ती करणीको १ मा डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा शरीर बन्धक राखी लिएको मञ्जूरीलाई मञ्जूरी मानिने छैन भनी प्रष्ट्याएको छ ।

प्रतिक्रिया