राजधानी बाहिरका लागि स्मार्ट लाईसेन्स अपुग

राजधानी बाहिरका लागि स्मार्ट लाईसेन्स अपुग

२२ भदौ, काठमाडौं । स्मार्ट सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) उपत्यका बाहिर पनि वितरण गर्ने योजना रोकिएको छ । उपत्यकामा स्मार्ट लाइसेन्स वितरण सुरु भएको ९ महिना हुँदासम्म मोफसलमा अझै वितरण गरिएको छैन ।

पूर्वतयारी कमजोर भएकाले योजनाअनुसार भदौदेखि पोखरा र बुटवलमा स्मार्ट लाइसेन्स वितरण रोकिएको हो । उपत्यका बाहिर स्मार्ट लाइसेन्सको वितरण थाल्दा एकैपटक ठूलो संख्यामा माग हुने भएकाले विभागले अहिलेको क्षमताले नधान्ने निश्कर्ष निकालेको छ ।

यातायात व्यवस्था विभागले बाग्मती अञ्चलका लागि काठमाडौंमा मंसिर २० गतेबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । र, पाँच वर्षभित्र देशभरका सबै सवारी चालकको हात-हातमा स्मार्ट लाइसेन्स वितरण गर्ने भनिएको थियो ।

अहिले बागमती अञ्चल यातायात व्यवस्था कार्यालयबाट मात्रै स्मार्ट लाइसेन्स वितरण भइहेको छ । कार्ड अभावकै कारण कार्यालयले लाइसेन्स स्थानान्तरणको काम पनि सम्बन्धित कार्यालयबाट मात्रै गरिरहेको छ ।

विभागले लाइसेन्स वितरण सुरु गर्दा पहिलो चरणमा भारतको चेन्नाइमा रहेको मद्रास प्रिन्टर्समा १ लाख ६० हजार कार्ड छापेको थियो । त्यसलगतै विभागले ५ लाख कार्ड छाप्ने भने पनि अहिलेसम्म प्रक्रिया समेत अन्यौलमा छ ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ थप कार्ड छपाइको लागि एसियाली विकास बैंक (एडिबी)लाई पत्राचार गरिएको बताउँछन् । पहिलो चरणमा पनि कार्डका लागि एडिबीले नै आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो ।

विभागले काठमाडौंबाट ६० हजारभन्दा बढी स्मार्ट लाइसेन्स वितरण गरिसकेेको छ । र, अब करिब ८० हजारमात्र स्मार्ट लाइसेन्स बाँकी छ ।

पर्याप्त कार्ड नभएकाले नै मोफसलमा पूर्वयोजनाअनुसार स्मार्ट लाइसेन्स वितरण हुन नसकेको श्रेष्ठले स्विकार गरे । विभागले स्मार्ट लाइसेन्सको व्यवस्थापन गर्न नसक्ने भएपछि निजी क्षेत्रलाई दिनेसमेत तयारी थालिसकेको छ ।

विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने काममा पनि ढिलासुस्ती गरेको छ । विभागले आर्थिक वर्ष सुरु भएसँगै इम्बोस्ड नम्बर प्लेट परिक्षण गर्ने बताएको थियो ।

यसका लागि बंगलादेशको टाइगर डेकाटुरलाई ठेक्का दिइएको थियो । तर, ठेक्काको जिम्मा पाएको कम्पनीले इम्बोस्ड छपाइका लागि काम सुरु गर्न सकेको छैन । surce : onlinekhabar.com

 

प्रतिक्रिया