वैदेशिक रोजगारीको पारिवारिक मूल्य

वैदेशिक रोजगारीको पारिवारिक मूल्य

IMG_3979
अमर सुनार
दैलेखको बडाभैरव गाविस–१ खोरका पदमकुमार शाही रोजगारीका लागि मलेसिया गएपछि माइतीमा बस्तै गरेकी उनकी पत्नी सबिता शाहीले हलो जोत्ने काममा संलग्न दलित पुरुषसँग विवाह गरेपछि माइतीले त्यहाँबाट पनि जात मिल्ने केटो खोजेर अन्यत्रै विवाह गराइदिए ।०६७ सालमा घर फर्केपछि पदमले सल्लेरीकी लक्ष्मी चन्दसँग विवाह गरे । उनलाई विवाह गरेपछि पदम फेरि मलेसिया गए । लक्ष्मी अहिले चार वर्षकी छोरीसँग सुर्खेतमा डेरा गरी बस्छिन् ।
हालै विदेशबाट घर फर्केका पदमले यसअघि सुर्खेतमा किनेको घडेरी बिक्री गरी पैंसा त्यत्तिकै खर्च गरे । अहिले पत्नीलाई सुर्खेतमै छोडेर उनी बडाभैरवमा आमाबुबासँग बस्छन् । लक्ष्मीको भनाइ छ, ‘पहिले सासूससुराले घरधन्दामा सधैँ असन्तोष जनाएपछि छोरी पढाउन सुर्खेत आएँ, माइत छँदाको पेवा पनि घर खर्च गरेँ । अहिले न श्रीमान् न त सम्पत्ति, विपत्ति मात्रै छ ।’
बडाभैरवसँगै सिमाना जोडिएको कट्टी गाविस–६ का जंगबहादुर चन्द कतारमा दुई वर्ष बसेर ०७३ जेठमा घर फर्किए । उनी आउने समयभन्दा डेढ महिना अघि उनकी पत्नी नन्दकुमारी शाहीले अर्कै पुरुषसँग विवाह गरिन् । २५ वर्षीया नन्दा चार छोरी र दुई छोरा घरमै छोडेर भागेकी हुन् । घरमा भएका ७६ वर्षका बुढा ससुराले राति फोनमा लामो कुरा गरेको त सुन्थे, तर घरमा कोही आएको कहिल्यै देखेनन् । आफ्नी पत्नीले कोसँग विवाह गरिन् भन्ने कुरा जंगबहादुरले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् ।
विदेश जाँदा जंगबहादुरलाई ऋण थिएन । आफूसँगै रहेको डेढ लाख रुपैयाँ खर्च गरेर उनी विदेश गएका थिए । आमदैलेखीको जस्तै कमाइ राम्रै भए सुर्खेततिर घरजग्गा किन्ने सोच उनको पनि थियो । पत्नी नन्दाकै नाममा रहेको बैंक खातामा प्रत्येक दुई महिनामा उनी आफ्नो कमाइ पठाउँथे । सबै हिसाब गर्दा सात लाख ७५ हजार रुपैयाँ पठाएका रहेछन् । नन्दाले भागेर जाँदा नागरिकता, बैंकको चेकदेखि केही कागज प्रमाण छोडेकी छैनन् । बैंक खातामा रकम पनि छैन । गाउँमा ब्याजमा लगाएको रकम पनि उठाएर लगिछन् । यता, दाल, चामललगायतका खानेकुरा र कपडाको गरी एक लाखजति ऋण रहेछ ।
झन्डै ५० डिग्रीको चर्को गर्मीमा कतारको सडकमा काम गर्दा पसिनाले शरीर छुपुप्पै हुन्थ्यो । सँगैका दुईजना साथी राति सुतेको ठाउँमै मरे । जंगबहादुरले आफू बाँच्नका लागि देउतालाई बोको कबुलेका थिए, उनलाई अहिले पनि आफूलाई भगवान्ले नै बचाएका हुन् जस्तो लाग्छ । तर, श्रीमतीको मन नबहकियोस् भनेर उनले देउता सम्झन पाएनन् । परिणाम, घरमा आउँदा न पैंसा न त पत्नी ! यो कुरा जति सम्झियो जंगबहादुरलाई भक्कानो छुट्छ । अन्धविश्वासले यति जरो गाडेको छ कि अझै पनि उनी भन्छन्, ‘मैले देउता भाक्न पाएको भए शायद उनले यस्तो गर्दिनथिइन् कि ?’
दैलेखको सल्लेरी गाविस– ५ निवासी २३ वर्षीय मनबहादुर शाही चार वर्ष पहिले वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनको साथमा काम गर्ने कालिकोट मेहलमुडीका ४५ वर्षीय शेरबहादुर बमसँग छोरी निर्मला कुरा गरिरहन्थिन् । उनीहरु बाबुछोरीको कुरा हुने नम्वर मनबहादुर चालै नदिएर लिएछन् अनि निर्मलासंग गफिन थाले तर यो कुरा निर्मलाका बाबु शेरबहादुरलाई थाहा थिएन ।
शेरबहादुर मलेसियामै छँदै मनबहादुर घर आउने तयारी गरे र निर्मलालाई काठमाण्डौं बोलाएछन् । घरमा दुई छोरा र दुई छोरी भएकी पत्नी छँदाछँदै निर्मलालाई मनबहादुरले विवाह गरेर घर भित्र्याए । पतिले दोस्रो विवाह गरेपछि मनबहादुर र निर्मलालाई विपक्षी बनाई उनकी जेठी पत्नी विष्णा शाहीले बहुविवाहको जाहेरी दिइन् । दैलेख जिल्ला अदालतले घरमा अर्की श्रीमती छिन् भन्ने थाहै नपाई विवाह गरेकी निर्मलालाई सफाइ र दोस्रो विवाह गर्ने मनबहादुरलाई दुई वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गरेको छ । अहिले मनबहादुर कारागारमा छन् ।
दैलेखका केही प्रतिनिधि नकारात्मक समस्या मात्रै होइन वैदेशिक रोजगारीले धेरै सफलता पनि दिएको छ । ग्रामीण क्षेत्रमै पनि खरका छानाको ठाउँ जस्तापाता लगाएका छन् । राम्रो लुगा लाउने, मीठो खाने या स्मार्ट फोन बोक्ने कुरा अब खासै सपना नभएर व्यवहारमै परिणत भइसकेको छ । विदेश जानेका छोराछोरीहरू प्रायः अङ्ग्रेजी स्कुलमै पढ्छन् । रेमिट्यान्ससँगै धेरै कुरा भित्रिएको छ । तर, वैदेशिक रोजगारीका कारण पारिवारिक विखण्डन भने बढ्दो छ ।
दुःखकष्टका साथ विदेशमा कमाएको रकम उचित सदुपयोग नगर्दा कतिपय अवस्थामा श्रम खेर गएको एउटा अवस्था छ भने श्रीमान्–श्रीमतीको आपसी विश्वासमा समस्या र सामाजिक अनुशासन कायम गर्न नसक्नु प्रमुख समस्या रहेको महिला विकास निरीक्षक सुकमाया विकको भनाइ छ ।
घरधन्दा धानेका महिलाको मिहिनेत र पौरखलाई श्रममा गणना गर्न नसकेकाले पनि यस्ता विचलन आएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनेश्वर साहको विश्लेषण छ । सामूहिक परिवार र दम्पतीको आपसी विश्वास र सहकार्यको अभावमा विचलन आउन थालेको उनले बताए ।
नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष यमराज थापाको भनाइमा चाहिँ रगत र पसिनाको कमाइ सदुपयोग गर्न उपार्जनका काममा लगानी गर्ने र टाढा रहँदा श्रीमान्–श्रीमती दुवैको आपसी विश्वास बढाउने सामाजिक सचेतना जरुरी छ । सचेतनाको अभावमा बहुविवाह र सम्बन्धविच्छेदका सङ्ख्या बढेको उनले बताए ।
वैदेशिक रोजगारीमा गएका कतिपय पुरुष उतै रमाउने र परिवारको बेवास्ता गर्ने पनि देखिएको छ भने परिवारका सदस्यहरूले वैदेशिक रोजगारीको आर्जनलाई अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानी–व्यवहारले पारिवारिक समस्या पैदा भएको छ । अझ श्रीमतीले खर्च गरेको भए त्यसलाई सधैँ आलोचना गरिरहने प्रचलनले असमझदारी बढ्दै जाँदा बहकाउमा कतिपय निर्णय भएका देखिन्छन् ।
वैदेशिक रोजगारीमा जानेले पैंसा कमाउनलाई कति दुःख गर्नुपर्छ भन्ने जानकारीको अभाव पनि छ । आफ्नो पति या परिवारका सदस्यले जुन दुःख गरेर पैंसा कमाउँछन् र परिवारलाई पठाउँछन् त्यसबारे जस्ताको तस्तै जानकारी पाए परिवारका सदस्यलाई उक्त पैंसाको महत्व फरक हुन सक्थ्यो । उनीहरूले गर्ने कामबारे थाहा नहुने अनि एक्कासी पैंसा मात्रै आउँदा परिवारका सदस्यले विदेशमा त पैंसा आफैँ आउँछ भनेझैँ ठानेको देखिन्छ । त्यसैले उताको कामबारे जानकारी दिनु र यता परिवारका सदस्यको अवस्थाबारे पनि सही जानकारी राख्ने अवस्थाको सिर्जना हुन सकेमा वैदेशिक रोजगारीमा जानेहरूले जुन रूपमा अहिले पारिवारिक मूल्य चुकाइरहेका छन्, त्यसमा कमी आउन सक्छ ।
साभार ः ‘म्याग फिचर सर्भिस’

प्रतिक्रिया