बाल हितका लागि सबैको सहयोग आवश्यक : सांसद थापा

बाल हितका लागि सबैको सहयोग आवश्यक : सांसद थापा

दैलेख क्षेत्र नम्बर १ का सांसद अम्मर बहादुर थापाले बालवालिकाको संरक्षण, सम्वद्धन प्रवद्धनमा घरपरिवारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । २७ औं अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा दैलेखमा आइतबार आयोजित कार्यक्रममा थापाले सरोकारवाला सबैले बालवालिकाको हक, हितका लागि काम गर्न सके मात्र बाल अधिकार सुनिश्चित हुने बताए । उनले बालवालिकाको हक र हित बालवालिहरुका अधिकारका लागि आफु सधै तयार रहेको बताए ।

उनले सरोकारवालाहरुलाई बालअधिकारका क्षेत्रमा क्रियाशील सबै सरकारी तथा गैरसरकारी संस्थाले बाल दिवसकाा दिनमात्र बाल अधिकारको कुरा गरेर नहुने उल्लेख गर्दै वर्षका हरेक दिन बाल अधिकार संरक्षणमा लाग्नुपर्ने बताए । उनले आजका बालबालिका भोलीका कर्णधार भएको भन्दै उनीहरुको राम्रो शिक्षामा सबै अभिभावक सजग रहनुपर्ने बताए ।

सम्र्वद्धन बाल अधिकारको, कार्यन्वयन संविधानको भन्ने मुल नाराका साथ मनाइएको बाल दिवसरमा जिल्ला बाल कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रिले बालवालिकाका लागि भएका नीति नियम पालना गराउनु राज्यको दाइत्व भएको बताए । उनले बालवालिकाहरुको हकहितका लागि सरोकारवाला सबै निकायबीच समन्वय हुनुपर्ने आवश्यकता औंल्याए । उनले दैलेखमा बाल श्रम त्यति नभए पनि बाल बिबाह धरै रहेको भन्दै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए । यस्तै बाल संगठन दैलेखका अध्यक्ष जगतजंग थापाले बाल अधिकार संरक्षणको पहिलो दाइत्व अभिभावकको भएको बताए । उनले अभिभावकबाटै बाल अधिकार संरक्षण हुनुपर्ने बताए । उनले बालबालिकाले राम्रो शिक्षा, खेल्न र रामाउन पाउनुपर्ने बताए ।

जिल्ला वाल कल्याण समितिको आयोजना र जिल्ला कानुनी सहायता समिति दैलेख, सामाजिक कानुनी सहायता केन्द्र दैलेख र सामाजिक सेवा केन्द्र सोसेक दैलेखको समन्वयनमा आयोजित कार्यक्रममा बालविवाह न्युनिकरणमा वालवालिकाको भुमिका विषयक निबन्ध प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा बालविवाह कसरी रोकथाम गर्ने ,बालविवाह गर्दा के हुन्छ,समयमा बालविवाह गर्दा कस्ता खालका असरहरु हुन्छन् र बालविवाह न्युनिकरण गर्न के कस्तो भुमिका रहन्छ भन्ने जस्ता कुरालाई जोड दिएको थियो । प्रतियोगितामा प्रथम शान्ति उच्च माध्यमिक विद्यालय लालिकाडा, दोस्रो बसन्त उच्च माध्यमिक विद्यालय भएका थिए ।

कार्यक्रम आयोजना हुनुअघि बाल अधिकार संरक्षणबारे विभिन्न नारा लेखिएका प्लेकार्डसहित र्यालीले दैलेख सदरमुकामस्थित दैलेख बजार परिक्रमा गरेको थियो ।

प्रतिक्रिया