शिक्षा मन्त्रीले भ्रम बाँडेको भन्दै आपत्ति

शिक्षा मन्त्रीले भ्रम बाँडेको भन्दै आपत्ति

काठमाडौं – चिकित्सा शिक्षाको बेथिती विरुद्ध अनसनरत डा. गोविन्द केसीको माग पुरा गराउने बारेमा शिक्षा मन्त्री धनिराम पौडेलले भ्रम बाँडेको भन्दै उनका समर्थक सहयोगीले आपत्ति जनाएका छन् । केसीसँग वार्ता गर्न भन्दै सरकारले शनिबार गठन गरेको समितिलाई उनका सहयोगलीले ‘झारा टार्ने मेलो’ भन्दै आपत्ति जनाएका हुन् ।

मन्त्री पौडेलले केसीसँग वार्ता गर्न सरकारी टोली अनसन स्थलमा गए पनि केसीको तर्फबाट वार्तामा बस्नेको टुङ्गो नलाग्दा औपचारिक वार्ता शुरु हुन नसकेको बताएका छन् । तर, केसीका समर्थक सहयोगीहरु मन्त्रीको उक्त भनाईको ठाडै खण्डन गर्छन् ।

‘अनसनको १४ दिनमा बल्ल झल्याँस्स हुने त्यसमा पनि सचिव स्तरीय समिति बनाउनु भनेको शिक्षा मन्त्री यो विषयमा गम्भिर छैनन् भन्ने प्रमाण हो’ केसीका सहयोगी डा. रञ्जन सापकोटाले भने ‘केसीका माग स्पष्ट छन्, कसरी समाधान गर्ने भन्ने कुरा त्यत्तिकै स्पष्ट छ, यस्तो अवस्थामा नाम दिएनन् भन्नुको कुनै तुक छैन, यो विषयको महत्वलाई तोडमोड गर्ने कुत्सित मनाशाय मात्रै हो ।’

केसीसँग वार्ता गर्न सरकारले शनिबार शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सिनेन्द्रराज उप्रेती सम्मिलित टोली गठन गरेको थियो । सरकारको निर्णय पछि दुवै सचिव दिउँसो केसीलाई भेट्न पुगेका थिए ।

‘हामीले दिउँसो ३ बजे तिर केसीलाई भेट्यौं स्वास्थ्य अवस्थाका बारेमा जानकारी लियौं’ सचिव श्रेष्ठले भने, ‘उताबाट वार्तामा बस्नेहरुको नाम आउन बाँकी छ, डाक्टर रञ्जन सापकोटाले नाम फाईनल गर्ने जिम्मा पाउनु भएको रहेछ, आज अवेर सम्म पनि नाम कुरेर बस्यौं तर आएन, अब भोली विहान कुरा होला ।’

उनले आफूहरु केसीको माग पुरा गराउन ओपन रहेको पनि बताए ।

तर सचिवहरुसंग आफूहरुले आजै बसेर आजै कुरा टुङ्ग्याउन आग्रह गरे पनि उनीहरु भोली विहान बस्ने भन्दै हिडेँको सापकोटाले एडुखबरलाई बताए ।

‘उहाँहरु दिउँसो ३ बजेतिर आउनु भाथ्यो, डा. केसीको स्वास्थ्यका कारण हाम्रा लागि हरेक सेकेण्डको महत्व छ, त्यसैले आजै बसौं भनेका थियौं, उहाँहरु नाम चाहियो भन्नु हुन्छ’ सापकोटाले आक्रोशित हुँदै भने, ‘हाम्रा साथीलाई पुलिस लाएर थुन्ने अनी नाम नपाएर वार्ता भएन भन्ने हल्ला पिटाउने ? के सिंहदरवारमा स्यालुट खाँदै वार्ता गर्ने मन हो उहाँहरुलाई ? हैन भने किन अनेक लिङ्गरिङ गरिराखेको ?’

मन्त्री पौडेलको निवास पुल्चोक र त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाको निवास कलंकीमा धर्ना दिन गएका ३१ जना समर्थकलाई विनासर्त रिहाई नगरे कुनै पनि हालतमा वार्ता अघि नबढ्ने भन्दै सापकोटाले आपत्ति जनाएका छन् । दिउँसो प्रदर्शनमा उत्रिएका केसी समर्थकलाई प्रहरीले पक्रेर थुनेको छ । शनिबार राती अवेर सम्म कालिमाटि वृत्तको हिरासतमा रहेका केसी समर्थक चिकित्सक, विद्यार्थीले हिरासतमै अनसन बसेको उनले बताए ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले डा. केसीसँग वार्ता गरेर समस्याको समाधान गर्न निर्देशन दिएपछि शिक्षा र स्वास्थ्य सचिब सम्मिलित दुई सदस्यीय सरकारी वार्ता टोलीको गठन भएको हो । मन्त्री पौडेलले डा.केसीसँग बार्ता गरेर समस्याको समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

‘यस अघि पनि हामी डाक्टर केसीसँग अनौपचारिक वार्ता र छलफलमै थियौं’, शिक्षा मन्त्री पौडेलले भने, ‘डाक्टर केसीको तर्फबाट वार्ता टोलीको टुङ्गो लाग्नासाथ दुई पक्षबीच वार्ता शुरु हुन्छ ।’

त्रिभुवन विश्वविद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा डीन नियुक्त गरेकै दिन गत कात्तिक २८ गते डा. केसीले आफ्नो १० औं अनसन शुरु गरेका थिए । यसपटक केसीले त्रिविका उपकुलपति प्रा.डा तीर्थ खनियाको वर्खास्ती लगायतका माग सहित आमरण अनसन शुरु गरेका छन् ।

एडु खवरमा समचार छ ।

प्रतिक्रिया