राष्ट्रपति रनिंग शिल्डको तयारी पुरा

राष्ट्रपति रनिंग शिल्डको तयारी पुरा

दैलेख, माघ २० । ९ औं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुक्रबारबाट दैलेखमा हुँदैछ । दैलेखको दुल्लुमा निर्वाचन क्षेत्र नम्बर २ को प्रतियोगिता शुक्रबार सुरु हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । दुल्लुको विजया माध्यमिक विद्यालयमा शुक्रबारदेखि आइतबारसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।
यस्तै क्षेत्र नम्बर १ का खेलकुद सोमबार सीताजनसहयोग माध्यमिक विद्यालय अवलपराजुलमा सुरु हुनेछ । अवलपराजुलमा ३ सम्म चल्ने प्रतियोगताको सम्पूर्ण तयारी पुरा भएको खेलकुद विकास समितिका अध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिए । उनले दुल्लु र अवलपराजुलमा आवश्यक तयारी पुरा भएको बताए । उनले दुबै निर्वाचन क्षेत्रबाट उत्कृष्ट भएका खेलाडीबीच यही माघ २८ गते अवलपराजुलमा फाइनल खेल हुने जानकारी दिए ।
हरेक वर्ष आयोजना हुँदै आएको जिल्लाको सबैभन्दा ठूलो खेलकुद मेलामा भलिबल, एथ्लेटिक्स, चेस र मार्शलआर्टका खेलकुद समावेस गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा जिल्लाका करिब २ हजार खेलाडी सहभागि हुने आयोजकले जनाएको छ । विद्यालय स्तरीय प्रतियोगितामा विद्यार्थीले भाग लिन पाउने व्यवस्था छ । प्रतियोगितामा करिब ७ सय पदक वितरण गरिने आयोजकले जनाएको छ । विजेता टिमले शिल्डसहित ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छ भने दोस्रो हुनेले २५ हजार नगद पुरस्कार पाउने छ । यस्तै तृतीय हुनेले ९ हजार रुपैयाँ पुरस्कार पाउने खेलकुद विकास समितिले जनाएको छ ।
जिल्लामा त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजार, सीताजनसहयोग माध्यमिक विद्यालय अवलपराजुल, टाटामाखु माध्यमिक विद्यालय, विजया माध्यमिक विद्यालय र नौमुलेको माध्यमिक विद्यालय खेलकुदमा राम्रो मानिएका विद्यालय हुन् । यी मध्येकै विद्यालय विजेता हुने अनुमान गरिएको छ । उता डाडाँ पराजुलको महिला भलिबल टिम पनि बलियो मानिन्छ ।

प्रतिक्रिया