बालबालिकाको पढ्ने बानी

          |   प्रकाशित मितिः शुक्रबार, माघ २८, २०७३     ::: 431 पटक पढिएको   |  

काठमाडौं २८ माघ/हरेक अभिभावक चाहन्छन्– छोराछोरीले स्कुल टेक्नासाथ अक्षर चिनून् । लेख्न जानून् । अक्षर चिनेर फरर पढ्न सक्ने होऊन् । जुनसुकै किताब पढून् । बुझेर पढून् ।

शिक्षक चाहन्छन्– मेरो अगाडि परेका हरेक विद्यार्थी ज्ञानी बनून् । सिकाएको हरेक कुरा टेपडेकर्ड गरेजस्तै सोधेको बेला फटाफट भन्न सकून् ।
सहरका बालबालिका स्कुल पुग्नुअघिसम्म गृहकार्यमै व्यस्त हुन्छन् । त्यसअघि टेलिभिजन हेरेर, मोबाइल गेम खेलेर, गीत सुनेर, रेडियो सुनेर बसिरहेका हुन्छन् । त्यो देख्दा अभिभावकलाई दिक्दारी लाग्छ । कक्षामा छिरेपछि बालबालिका जसोतसो बहानाबाजी गरेर शिक्षकको निगरानीबाट जोगिने उपाय सोच्छन् । शिक्षक पनि यस्तै हो भनेर आफ्नो विषयलाई हल्का छाडिदिन्छन् ।
शिक्षा मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) ले गरेको सर्वेक्षणले त्यस्तै नतिजा देखाएको छ । सन् २०१४ मा राष्ट्रव्यापी रूपमा गरिएको प्रारम्भिक कक्षा पढाइ मूल्यांकन (नेसनल अर्ली ग्रेड रिडिङ एसेस्मेन्ट/एनईजीआरए) ले नेपालको प्रारम्भिक कक्षाको पढाइ कमजोर छ भनेर देखाएको हो ।
सामुदायिक विद्यालयमा गरिएको मूल्यांकनअनुसार कक्षा २ मा पढ्ने ३७ प्रतिशत र कक्षा ३ मा पढ्ने १९ प्रतिशत विद्यार्थीले उनीहरूलाई पढ्न दिइएका पठन सामग्री एक शब्द पनि शुद्ध पढ्न सकेनन् ।
यो मूल्यांकन नेपाली वा अंग्रेजी भाषाको विषयमात्र आधार मानिएको थिएन, गणित, विज्ञान, सामाजिक शिक्षासमेत समेटेर गरिएको थियो । यो नतिजा सामुदायिक विद्यालय हो तर संस्थागत विद्यालयका बालबालिका शतप्रतिशत जानेर, बुझेर, बुझाएर पढाइन्छन् भन्ने अवस्था छैन ।
विश्वव्यापी मानक निर्धारण गरिएअनुसार बालबालिकाले १ मिनेटमा कम्तीमा ४५ शब्द पढ्न सक्नुपर्छ । पढेको विषय ८० प्रतिशत ख्याल गर्न सक्नुपर्छ । कक्षा २ का विद्यार्थीले १ मिनेटमा पढेका ४५ शब्दमध्ये पाँच वटा शब्दको जवाफ दिन सक्नुपर्छ । गरिएको मूल्यांकनले १.६ प्रतिशत मात्र परिणाम देखाएको छ । यो चुनौती हो । शिक्षाविज्ञको मत छ, कक्षा १ देखि ३ सम्म विद्यार्थीले पढ्न सिक्छन् र कक्षा ३ पछि सिक्नका लागि पढ्छन् । शिक्षा विभागको तथ्यांकले शैक्षिक सत्र २०७० मा कक्षा ५ सम्म टिकाउ दर ८०.१ प्रतिशत थियो । सन् २०१२ मा गरिएको सर्वेक्षणले देखाए अनुसार कक्षा ३ को सिकाइ उपलब्धि नेपालीमा ६३ र गणितमा ६० थियो ।
भाषा पढाउँदा शिक्षकले सुनाइ, बोलाइ, पढाइ, लेखाइ केन्द्रित गर्छ । अन्य विषय पढाउने शिक्षकले सिद्धान्त, सूत्रसमेत बुझाउनुपर्ने हुन्छ । घरमा बाआमा वा अभिभावकसहित पढ्ने वातावरण हुनुपर्नेछ । साथीसित बसेर पढ्ने बानीको विकास गर्नैपर्ने छ । सस्वर वाचन महत्त्वपूर्ण पक्ष हो । कम्तीमा दैनिक १० मिनेट सस्वर पढ्न लगाउन जरुरी हुने ठानिएको छ ।
यतिखेर देशभरिका १६ जिल्लामा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (अर्ली ग्रेड रिडिङ प्रोग्राम : ईजीआरपी) सुचारु छ । ‘रमाइलो पढाइ, दिगो सिकाइ, कक्षा १, २, ३ काल बालबालिकालाई’ भन्ने लक्ष्यसहित अघि बढाइएको कार्यक्रम सफल तुल्याउन अभिभावक, शिक्षक, समुदाय, आमसञ्चारको साझा प्रयास महत्त्वपूर्ण हुने ठानिएको छ । शिक्षक, अभिभावक र समुदायको दूरी घटाउने कडीका रूपमा पनि पठन संस्कृतिलाई मानिएको छ ।
बच्चा एक्लै पढ्न सक्दैन । त्यसैले एकजना बच्चालाई पढाउन सिंगै समुदायको मिहिनेत आवश्यक पर्छ । ‘तपार्इंका छोराछोरीको उज्ज्वल भविष्यको आधार, छोराछोरीको प्रारम्भिक कक्षा पढाइमा तपार्इंको सहयोग’ भनिएको छ । पढ्ने बानी बसाउन पठन समूह, पठन अभियान, पठन प्रतिस्पर्धा हुनुपर्छ ।
पढ्ने सामग्री राष्ट्रिय, अन्तर्राष्ट्रिय मात्र होइन, स्थानीय विषय पनि हुनुपर्छ । जसले गर्दा आफ्नो परिवेशलाई आत्मसाथ गर्न सक्छन् । पाठयपुस्तक रंगीन हुँदा बालबालिकाको ध्यानाकृष्ट हुने गर्छ । विश्वव्यापी सूचना प्रविधिको सही सदुपयोग गर्नु एक मात्र उपाय हो ।

सिकाइ गुणस्तर बढ्न
नसक्नुको विभिन्न कारण देखाइएको छ । जसमा शैक्षिक प्रणाली केन्द्रदेखि विद्यालयसम्मको प्रभावकारी व्यवस्थापनमा कमी हुन, कमजोर सिकाइ वातावरण र शैक्षणिक क्रियाकलाप कमजोर हुनु हो । त्यसैगरी सामाजिक, सांस्कृतिक, आर्थिक, भौगोलिक पछौटेपन तथा मौजुदा पाठयक्रम, पाठयपुस्तक आदिको सान्दर्भिकता, गुणस्तरीयतालाई मानिएको छ । पेसागत विकासका अवसर र प्रावधानहरू एवं तिनको कक्षाकोठामा प्रयोगमा सुधार नहुनु हो । शिक्षकले लिएको तालिममा सिकेको शैक्षणिक सामग्रीको व्यवस्थापन र प्रयोग प्रभावकारी नहुनु हो भने अभिभावक तथा समुदायको अर्थपूर्ण सहभागिता हुन नसक्नुलाई मानिएको छ ।
शिक्षा विभागका उपनिर्देशक विष्णु अधिकारीका अनुसार चालू शैक्षिक सत्र २०७३ बाट सप्तरी, भक्तपुर, मनाङ, कास्की, बाँके र कञ्चनपुरका विद्यालयमा सिकाइ लागू भएको छ । दोस्रो चरणमा, धनकुटा, पर्सा, मुस्ताङ, रुपन्देही, दाङ, सुर्खेत, डोल्पा, बर्दिया, कैलाली र डडेलधुरामा कार्यान्वयन प्रक्रियामा छ । क्रमश: सबै जिल्लामा लागू हुनेछ ।
लिपिबद्ध छापिएका सामग्रीलाई आँखा र मस्तिष्कका माध्यमबाट अर्थ ग्रहण गर्दै पढ्नु, स्पष्ट बुझेर पढ्ने क्षमता विकास गर्नु हो । पढाइले अभिव्यक्ति, लेखाइ सीप बढाउने, गहिरिएर पढ्ने, पढेका कुरा राम्ररी बुझ्ने, बुझेका कुरा मौखिक र लिखित रूपमा अभिव्यक्त गर्ने क्षमता हासिल गर्नु हो ।

गणेश राईले कान्तिपुरमा लेखेको खबर ।



Leave a comment

Your email address will not be published.


*