किशोरी आमाकी छोरी कुपोषित

किशोरी आमाकी छोरी कुपोषित

लमजुङ । बेशीसहर नगरपालिका स्थित भकुण्डेकी अन्जु बुढापृथी (१६) र गोविन्द बुढापृथी (१७) को पहिलो सन्तान ज्यास्मिनमा कुपोषण देखिएको छ । गर्भवती अवस्थामा र सुत्केरी भएपछि पनि आमाले खानपानमा ध्यान नपुर्याएका कारण बालिकामा कुपोषण देखिएको जिल्ला सामुदायिक अस्पताल बेशीसहरले जनाएको छ ।

malnutrition-1ज्यास्मिनलाई जिल्ला सामुदायिक अस्पतालमा शल्यक्रिया गरी जन्माइएको थियो । जन्मँदा स्वास्थ्य राम्रै भएपनि घर लगेको २१ दिनपछि नै उनकोे स्वास्थ्यमा समस्या देखा पर्न थालेको थियो । एक वर्ष पहिले फोनबाट नै माया बसेपछि अन्जु र गोविन्दले भागी विवाह गरेका थिए । माइती गोर्खा पालुङटार भएकी अन्जु विवाह भएको केही समयमै गर्भवती भएकी थिइन् ।

आफुले झोलीलो खानेकुरा खाने गरेको बताएपनि दुध सुक्दै गएपछि बच्चा कमजोर भएको अन्जुले बताइन् । कक्षा ९ सम्म मात्र अध्ययन गरेकी उनलाई गर्भवती समयमा के खाने, के नखाने भन्ने बारेमा केही जानकारी मात्र थियो । यसमाथि आर्थिक अभावले पनि उनले आवश्यक खानेकुरा जोहो गर्न सकिनन् ।

आफ्नो दुध सुक्दै गएपछि उनले बच्चालाई भैंसीको दुध खुवाएकी थिइन् । तर, छोरीको ज्यानमा हाडछाला मात्र देखीन थालेको, छाला चाउरी पर्न थालेको थियो । गाउँका केही व्यक्तिले अस्पताल जान आग्रह गरेपछि उनी अस्पताल पुगेकी थिइन् ।

अस्पतालले भने उपचारका लागि ल्याउन ढिलो भएको बताएको छ । बालिकाको अवस्था गम्भीर रहेको भन्दै जिल्ला सामुदायिक अस्पतालले बालिकालाई गण्डकी हस्पीटल पोखरा रिफर गरेको छ । आर्थिक अवस्था कमजोर भएकी अन्जुलाई अस्पतालमा आएका केही बिरामी तथा अन्य व्यक्तिले रकम संकलन गरी यातायात खर्च सहयोग गरेका थिए ।

महिला खवरवाट लिएकाे हाे ।

प्रतिक्रिया